
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारले रोजगार पाइरहेकामा खुसी व्यक्त गरेका छन् ।
विराटनगरमा आयोजित दुई दिने कोशी प्रदेशस्तरीय प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रमको समापन समारोहमा आज उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले स्वरोजगार कार्यक्रमले रोजगारदाता र रोजगारी खोजी गर्नेबीच पुलको काम गर्ने तथा यसको माध्यमबाट दक्ष जनशक्तिलाई रोजगारमा पठाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । “बजारमा आवश्यक पर्ने जनशक्तिको खोजी र रोजगारदाताबीच पुलको काम गर्ने यो कार्यक्रमबाट मुलुकका धेरै बेरोजगार नागरिकले रोजगारी पाएका छन् । यसको थप प्रभावकारिताका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ”, उनले भने ।
मन्त्री भण्डारीले सुनसरीको दुहबी नगरपालिका, इटहरी नगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा सञ्चालित श्रम सञ्चार पोर्टलका बारेमा जानकारीसमेत लिए । त्यस अवसरमा उनले कोशी प्रदेशमा पहिलो चरणमा ४६ पालिकामा सञ्चार पोर्टल लागू गर्ने र पछि प्रदेशका एक सय ३७ वटै पालिकामा श्रम सञ्चार सुरू हुने बताए।