२८ जेठ २०८३, बिहीबार
जीवनदर्शन

रक्षक कि भक्षक ?

भदौ १५, २०८१
काठमाडौं
रक्षक कि भक्षक ?

धेरै पहिलेदेखि सुन्दै र पढ्दै आएको कुरा हो । शायद सबैले धेरै पढेको र सुनेको हुनुपर्छ यो । एक जना सज्जनले दुईवटा बाँदर पालेका रहेछन् । बाँदरहरूले उधुम गर्न थालेकाले सोचेछन् यिनीहरूलाई केही काम दिनुपर्‍यो तर, दिने पो के ? जे दिए पनि बिगारबाहेक केही गर्ने होइन । 

त्यसैले धेरै बेर सोचविचार गरी आफू सुतेको बेला गोडा मिच्ने काम दिएछन् । एक दिन अर्ध निद्रामा सज्जनले गोडा खप्ट्याइदिए छन्, जुन काम एउटा बाँदरलाई मन परेन र तेरो गोडा यता किन ल्या’ को भन्दै टोकिदिए छ । अर्को पनि के कम । तेरो चाहिँ किन ल्या’ को नि भन्दै अर्को गोडा पनि टोकिदिए छ । यति बेला सज्जनको अवस्था कस्तो भयो होला ? राखिएको सेवा गर्न गरिदियो उनैलाई अप्ठ्यारो पार्ने काम ।  

कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर, आश्चर्य मान्नुपर्दैन । धर्मसंस्कृति तथा संस्कार संरक्षणको सवालमा हाम्रो अवस्था पनि योभन्दा कम छैन । आज हाम्रो धर्मसंस्कृति र संस्कारमाथि जेजति बदनामका वर्षा भएका छन्, भइरहेका छन् तिनलाई सघाउने काम यसै क्षेत्रमा बसेकाहरूबाटै भइरहेका छन् । अनि देशीविदेशी तत्वबाट धर्मसंस्कृति तथा संस्कारमाथि खेल्ने काम भइरहेका छन् तिनमा पनि यसै क्षेत्रमा बसेकाहरूले नै सघाउँदै आएका छन् । काम त उनीहरूले धर्मसंस्कार र संस्कृति संरक्षणकै लागि गरेका छन्, हुन्छन् तर, व्यवहारले भने त्यसैलाई बदनाम गराउने काम भइरहेको अवस्था छ ।

उदाहरणका लागि आफ्नै आँखाले देखेको केही प्रतिनिधि घटना प्रस्तुत गर्न चाहन्छु । केही महिना अघिको कुरा हो एउटा देवीमन्दिरमा दर्शन गर्न गएको थिएँ । हेर्दाहेर्दै एक जना भक्तले फलफूलको टोकरी नै चढाएर गए । नजिकै बसेकी नानीले त्यसबाट एउटा कोसो केरा निकालेर खान खोजिन् तर, पुजारी महाशयले सहन सकेनन् र खान हुँदैन भन्दै खोसे । विचरा बसेका छन् पुजारी बनेर धर्मसंस्कृति संरक्षण गर्न तर, गर्छन् कुनै भोकाएकी नानीले खान लागेको भगवान्को प्रसाद खोस्ने काम । यस्तो अवस्थामा उनबाट हाम्रो धर्मसंस्कृति तथा संस्कार संरक्षणमा सघाउने काम भयो कि बदनाम स्वतः अनुमान लगाउन सकिन्छ । यो एउटा उदाहरण हो, जहाँको पनि मठमन्दिरको अवस्था योभन्दा भिन्न छ जस्तो लाग्दैन । 

भन्न यस क्षेत्रमा लागेका वा बसेका सबै भन्छन् दानभन्दा ठूलो पुण्य अर्को छैन । सुन दान गरेको पुण्य यस्तो हुन्छ, घर दान गरेको पुण्य यस्तो हुन्छ, जमिन दान गरेको पुण्य यस्तो हुन्छ तर, व्यवहार भने सत्पात्र भनेको आफूमात्र हो र आफूलाई गरेको दानको मात्र अर्थ रहन्छ भन्ने नै भइरहेको हुन्छ  । धर्मशास्त्रले दानमा सत्पात्रको कुरा त गरेको छ तर, त्यो सत्पात्र भनेको जरुतमन्द हो, उसैका लागि भनिएको हो, जसले दानको वस्तुलाई सदुपयोग गर्छ तर, व्याख्या भने आफू र आफूजस्तै भइरहेको हुन्छ भने यसलाई के भन्ने । यस्ता व्यवहारले धर्मसंस्कृति र संस्कारको संरक्षण गर्छ कि बदनाम ? 

त्यस्तै हेरौँ अर्को पनि उदाहरण । एक दिनको कुरा हो कुनै एक सरकारी अस्पतालमा एक जना बिरामी टिकट काट्ने लाइनमा बसेका थिए । लाइन लामै थियो । सरकारी अस्पतालको लाइन जहाँ पनि लामै हुन्छ । यो मात्र अपवादमा पर्ने कुरै भएन । 

लाइनमा बस्ने सज्जन एक त बिरामी थिए अर्को उमेर पनि पाकै भएकाले होला अलि बढी नै कमजोर देखिन्थे तर, उनीभन्दा निकै पछि आएका एक जना बलिया सज्जन उनलाई उछिन्दै अगाडि गएर बसे । त्यतिबेला उनको व्यवहारको विरोध गर्ने कोही पनि भएन । कतिले मुखामुख गरे कतिले मुसुक्क हाँसेर पचाए । उनी को थिए थाहा भएन । 

शायद धार्मिक वा समाजसेवीको खोल ओडेका ठूलै मानिस हुनुपर्छ । धर्मशास्त्र भन्छ बिरामी र असक्त भनेका भगवान्का रूप हुन् तर, व्यवहार भने तिनै भगवान्का प्रतिनिधिको चित्त दुःखाउने हुन्छ भने यसलाई के भन्ने ?   

यी केही उदाहरण हुन् । वास्तवमा चाहे मठ, मन्दिर, मस्जिद, चर्च होस् चाहे कुनै अस्पताल वा सार्वजनिक स्थान जहाँको पनि अवस्था यस्तै हो । मुखद्वारा त सबै धर्म र सेवाको कुरा हुन्छ । सेवाभन्दा ठूलो धर्म अर्को छैन भन्ने गिरिएको पनि पाइन्छ तर, व्यवहारद्वारा त्यसैलाई बदनाम गराउने काम हुन्छ भने पक्कै यस्ता कामले धर्मसंस्कार र संस्कृतिसंरक्षण हुँदैन ।   

यो कुनै व्यक्ति विशेषको मात्र कुरा होइन । अपितु प्रवृत्तिगत कुरा हो । हामीमा देवता भनेका टाडा रहेका मात्र हुन् भन्ने मान्यता छ । त्यसैले करोडौँ माइल टाडा रहेका चन्द्र, सूर्यको उपासना गर्र्छौँ । शनि बाङ्गो हुन्छन् कि भन्ने डर छ, स्वस्तिशान्ति गराउँछौँ तर, शनि बाङ्गिनुभन्दा मानिस बाङ्गिए भने दुःख पाइन्छ भन्नेतर्फ भने ध्यान दिँदैनौँ । त्यस्तै राहुकेतु बिग्रेर दुःख पाइन्छ कि भन्ने डरले जप त गराउँछौँ तर, दुःख पाइने उनीहरू बिग्रेरभन्दा आफ्नै व्यवहार र वातावरण बिग्रेर हो भन्नेतर्फ सोच्न भ्याउँदैनौँ ।

कतै जानु छ भने बाटो पनि त्यतैको समाउनुपर्छ । होइन भने जति नै हिँडे पनि कहिल्यै गन्तव्य भेट्टाउन सकिन्न । यदि धर्मसंस्कृति तथा संस्कारको सम्मान र संरक्षण गर्ने हो भने हाम्रो व्यवहार पनि त्यस्तै हुनुपर्छ । होइन भने सम्मान होइन बदनाम गराउनेबाहेक केही हुँदैन । अस्तु आजलाई यति नै ।

salt training

कमेन्ट गर्नुहोस्