
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले काम थालेको बताएकी छिन् ।
बिहीवार मन्त्रालयले आयोजना गरेको रुसमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक अध्ययनको सवालमा भएका नीतिगत नियमहरूको प्रभावकारी कार्यान्वयन गरिने बताइन् ।
मन्त्री भट्टराईले नीतिगत नियमहरूको प्रभावकारी कार्यान्वयनसहित आवश्यक नयाँ ऐन र कानूनको पहिचान गरेर कार्ययोजना बनाउन लागिएको पनि जानकारी दिइन् ।
रुससहितका देशमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई पूर्वजानकारी र सचेतना प्रदान गरेर मात्रै अध्ययन अनुमतिपत्र जारी गर्ने लगायतका विषयमा मन्त्रालयको ध्यान आकर्षित गरिएको उनले उल्लेख गरिन् ।
नेपाली विद्यार्थीमात्र होइन, विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै मन्त्री भट्टराईले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने जनाइन् ।
कार्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर आवश्यक नीति र नियम निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि मन्त्री भट्टराईले व्यक्त गरिन् ।
अन्तरक्रिया कार्यक्रममा रुसमा वैदेशिक अध्ययन गर्न जाने विद्यार्थी र तिनका अभिभावकहरूले सोसम्बन्धी विभिन्न सुझाव प्रदान गरेको शिक्षा मन्त्रालयले उल्लेख जनाएको छ ।