१० असार २०८३, बुधबार
मकैलाई ‘ब्रान्ड’ बनाएका व्यवसायी

शहरियालाई ‘अर्गानिक’ खाजा खुवाइरहेका देवीराम

भदौ २२, २०८१
बुटवल
शहरियालाई ‘अर्गानिक’ खाजा खुवाइरहेका देवीराम

बुटवललगायत काठमाडौंदेखि पश्चिम क्षेत्रमा डेढ दशकअघि बोलबम भुजा र नमस्ते आलु चिप्स खाएको सायद धेरैलाई सम्झना छ ! मिठो भुजा र जिब्रो रसाउने स्वादको आलु चिप्स खाएका बालबालिका अहिले तन्नेरी भइसकेका छन् । तर, त्यो याद अझै पनि अधिकांशलाई ताजै हुन सक्छ । बुटवलको ट्राफिक चौकमा वि.सं २०५०/०५५ को दशक भुजा र आलु चिप्सबाट शुरू भएको थियो । अहिले बुटवलमा रहेको चल्तीको बोलबम फूड प्रोडक्ट्स । यही बोलबम फूडले अहिले घरेलु उत्पादनलाई ‘ब्रान्ड्रिङ’ गरी शहरियालाई ‘अर्गानिक’ स्थानीय उत्पादन खुवाइरहेको छ । 

देवीराम पाण्डेले हिमाली भेगमा उत्पादन भएका मकै, भटमास, चना र बदामबाट फाइबरयुक्त खाजा बनाउँछन् । अनि औद्योगिक र व्यापारिक शहर मानिएको बुटवलमा पस्किने गर्छन् । ‘जंक फूड’को विकल्पको रूपमा यो परिकार ल्याएको उनको दाबी छ । हुन पनि उनले नेपालकै हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मकलाई तराई झारेका हुन् । त्यसलाई प्रशोधन गरी भुटेको सिरम्ले नामक मकै उनले बजारमा ल्याएका हुन् । यसअघि बोलबम भुजाबाट परिचित उनको अहिले अर्को पहिचान सिरम्ले मकै थपिएको छ । 

अर्घाखाँची छत्रदेव गाउँपालिकाकामा जन्मिएका देवीरामको अहिले बुटवल उपमहागरपालिका–८ शुक्रपथमा मकै, भटमास, चना, कम्प्लेक्स र भुजा उत्पादन हुन्छ । देवीराम पसलबाट नै अहिले दैनिक १०० किलो मकैलगायत वस्तु बिक्री गरिरहेका छन् । उनीसँग प्रत्यक्ष जोडिएर २० जनाले रोजगारी पाएका छन् । 

देवीरामले सिरम्ले मकै बजारमा पठाएको जम्मा चार वर्षमात्र भयो । तर, यो छोटो समयमा नै खासगरी बुटवल क्षेत्रमा अधिकांश उपभोक्ताको रोजाइमा परेको छ । यसले गर्दा मागअनुसार आफूले पूर्ति गर्न नसकेको उनको भनाइ छ । । भन्न सकिन्छ देवीरामले सिरम्मेको ‘ट्रेडमार्क’समेत लिइसकेका छन् । ‘मकैसँगै भटमास, भुटेको चना, पिनट, दालमोट, कम्फ्लेक्स र सातु बजारमा पठाउने गरेका छौं,’ उनी भन्छन्, ‘यसमा ९० प्रतिशत जुम्लाको मकै हुन्छ । सल्यान, कालिकोटको मकै र भटमासजस्ता विशुद्ध हिमाली भेगका उत्पादनलाई बजार दिइरहेका छौं । यी सबै खाजा/नास्ताका परिकार भोकका साथी हुन् ।’

बालबालिकाको पौष्टिक आहारका लागि देवीरामको उत्पादन प्रयोग भइहेको छ । ‘मकै, भटमास, चना आदि बाल आहारमा पनि चाहिने हुनाले सातुको रूपमा पनि मानिसहरूले प्रयोग गरिरहेका छन् । भटमास, मकै मम्फुली र चना मिसाएर खाएमा पौष्टिक तत्व प्राप्त हुन्छ,’ उनले भने । 

जिम गर्नेहरूले पनि आफ्नो उत्पादन लैजाने गरेको देवीरामले सुनाए । ‘मानिस जतिसुकै सम्पन्न भए पनि खानुपर्ने अनाज नै हो । अहिले बजारका पाइने प्रायः हरेक खाद्यान्नमा मिसावट भएको हुन्छ । साथै मैदाजन्य चिजहरू मानवशरीरका लागि राम्रो मानिँदैनन्,’ पोषणविद्का भनाइ उद्धृत गर्दै उनी भन्छन्, ‘कब्जियत, ग्याष्ट्रिक लगायतका समस्या देखिएकाका लागि मकै, भटमास, चना फाइबरयुक्त खानेकुरा स्वस्थ्यवर्द्धक मानिन्छन् ।’ 

null

आफूले उत्पादन गरिरहेका अर्गानिक परिकारलाई अझै परिस्कृत गर्ने योजनामा देवीराम छन् । ‘अहिलेका उत्पादन उपभोक्ताले निकै मन पराइरहेका छन् । अझै परिस्कृत गर्ने योजनामा छौं, तर, भरपर्दो र दीर्घकालीन स्रोत पत्ता लगाइसकेका छैनौं,’ उनले भने । 

खरिद गरेर ल्याएपछि मकै, भटमास आदिलाई पखाल्ने र भिजाउने गरिन्छ । त्यसपछि सुख्खा गराइन्छ । अनि भुटेर हल्का वीरेनुन हालिन्छ । ‘मकै–भटमासमा कुनै पनि टेस्ट भरिँदैन ।  त्यसमा हामीले राख्ने भनेको हल्का वीरेनुनमात्र हो,’ उनले भने, ‘अन्य कुनै पनि मसला हाल्दैनौं । ग्राहकलाई जसरी खान मन लाग्छ, त्यसरी नै खानुहुन्छ ।’  

त्यसो त देवीरामले मसला हालेर पनि मकै–भटमासको परिकार बनाउने गर्छन् । त्यो यात्रा गर्दा खानका लागि बनाइन्छ । ‘मसला मिसाएर पनि मकै–भटमास बन्छ । टिमुर, सोप आदि मिलाएर मसलायुक्त मिक्स गेडागुडीको र पिरो हालेको प्याकेट पनि बनाइन्छ । जुन बाहिर यात्रा गर्दा मानिसहरू खान रुचि मान्छन् ।’ आफूले मसलेदारसमेत बनाए पनि धेरैको रोजाइँमा भने सादा मकै नै पर्ने गरेको उनी बताउँछन् । आफूले मकै–भटमासका परिकार उत्पादन गर्दा तेलको गुणस्तरमा पनि ध्यान दिने गरेको देवीरामले बताए । ‘बजारमा पाइने तेलमध्ये उत्कृष्ट तेल प्रयोग गर्ने गरेका छौँ,’ उनले भने ।  

देवीरामका स्थानीय उपभोक्ता सबैभन्दा बढी छन् । त्यसका अलाबा गुल्मी, अर्घाखाँची, परासी, काठमाडौं, दाङ, बाँके र बर्दिया उनका उत्पादनका लागि राम्रो बजार हो । उनले शहरी क्षेत्रसँगै पहाडी बजारमा समेत आफ्ना उत्पादनहरू पठाउने गरेका छन् । ‘कारखानामै आएर लैजाने ग्राहक धेरै छन् । पसलमै आएर लैजानेलाई एमआरपीमा १० प्रतिशत छुट पनि दिने गरेको छु,’ उनले भने । 

दवीरामका घरपरिवारदेखि आफन्तसम्मले प्रायः दैनिकजसो उनले नै उत्पादन गरेका मकै, चना र भटमास खाजाको रूपमा प्रयोग गर्ने गर्छन् । मकैको प्रयोग सामान्यतया तयार भएको तीन महिनासम्म गर्न सकिन्छ । प्याकेजिङ राम्रो भएकोले चार महिनासम्म बबिग्रने उनले दाबी गरे । 

चुनावका बेला पार्टीका नेता–कार्यकताले आफूले उत्पादन गरेका मकै निकै मनपराएर खाएको देवीरामले स्मरण गरे । ‘यहही बुटवलबाट निर्वाचित सांसदसमेत रहेको वर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले हाम्रो मकैलाई मनपराउनु भएको छ,’ उनले थपे, ‘उहाँ हाम्रो मकै खाजाको रूपमा खान सधैँ घरमा मगाउनुहुन्छ । मैले उहाँलाई पठाइ रहन्छु ।’ 

देवीराम स्थानीय केही साना उद्योगहरूले उत्पादन गरेका घरेलु उत्पादन पनि बिक्री गरिदिन्छन् । सानो पुँजीबाट शुरू गरेको प्रोडक्सनले अहिले वार्षिक पाँच करोडको कारोबार गर्ने गरेको छ । नेपालमा केही छैन, यहाँ गरेर के हुन्छ र ? भनेर विदेश जान खोज्ने युवालाई उनी यही गर्न सकिन्छ भन्ने उदाहरण दिन चाहन्छन् । ‘गर्ने हो भने नेपालमा सबथोक छ । क्रमिक विकास भइरहेकोले पहिलाजस्तो दुःख पनि छैन ।  अहिलेको युवा शिक्षित पनि छन् । आफ्नो अवसर आफैँ खोज्न सक्षम छन्,’ दार्शनिक शैलीमा उनले भने, ‘हाम्रोभन्दा कम जनसंख्या भएका देशले विदेशमा जनशक्ति भित्र्याएर त्यहाँको आम्दानीलाई बढाएका छन् । हाम्रो नेपालमा पनि हामीले सिर्जना गरौं । यहाँ राम्रो परिवेश सिर्जना गरे बाहिरका मान्छेहरू आउँछन् । यहीँ काम गरे बाहिर गइरहनु पनि पर्दैन । एउटै पेशामा खटेर १० वर्ष लाग्नुहोस्, तपाईँको जीवन परिवर्तन हुन्छ ।’

पेशाले आफूलाई चिनेपछि र बजारले पनि चिन्दै गएपछि बल्ल कमाउन थालिने भएकाले हतार नगर्न देवीराम युवाहरूलाई सुझाव दिन्छन् ।   
‘मैले गरेर देखाएँजस्तै अरु युवाले पनि आत्मविश्वासका साथ देशमा केही गरेर देखाउनुपर्छ । निरन्तर लागेपछि आफैंले पेशालाई चिनिन्छ, पेशाले पनि आफूलाई चिन्छ, बजार चिन्दै गइन्छ,’ उनले थपे, ‘त्यसपछि बल्ल कमाउन थालिन्छ । कामले काम सिकाउँछ, सानो काम किन नहोस्, स्वदेशमै गर्नुहोस् ।’  

उद्यम गर्न चाहनेका लागि देवीराम सल्लाह सुझाव, काउन्सिलिङ र मोटिभेसनसमेत गर्ने गर्छन् । आफ्नोजस्तो मझौला प्रकारका उद्योगका समस्या धैरै रहेको उनको भनाइ छ । उद्योगीलाई सुरक्षित तरिकाले अगाडि बढाउने र उसबाट गुणस्तरीय उत्पादन लिने खालका नीति सरकारले बनाउनुपर्ने उनको सुझाव छ । ‘उद्योग चलेपछि कसरी हुन्छ कर धेरै लिने राज्यको नीति छ । यस्तो नीति परिवर्तन हुनुपर्छ । राज्य वैदेशिक ऋण र रेमिटयान्समा धानिन खोज्नु हुँदैन,’ उनले भने, ‘उद्योग र व्यवसायलाई राम्ररी चलाउने वातावरण सरकारले बनाउनु पर्छ । राम्ररी चल्न थालेपछि उनीहरूले तिरेको करबाट राज्य चल्नुपर्छ । अर्को कुरा राज्यले आफ्नो आम्दानी आफैंभित्र खोज्न पनि जरुरी छ ।’ 

उद्योग गर्न चाहनेका लागि औद्योगिक वातावरणदेखि जग्गासहित आवश्यक आधार अनुदानमा दिनुपर्ने उनको माग छ । ‘उद्योग गर्न चाहनेका लागि औद्योगिक वातावरणदेखि जग्गासहित आवश्यक आधारहरूमा सब्सिडी हुनुपर्छ । विदेशबाट आउने कच्चा पदार्थमा छुट हुनुपर्छ । सस्ता र गुणस्तरीय सामान उत्पादन गर्न सकेमा यहाँ सानादेखि ठूलो उद्योगसम्म सबल हुन सक्छन्,’ उनी भन्छन् । 

इलेक्ट्रिोनिक विषय अध्ययन गरेका देवीरामलाई प्राविधिक क्षेत्र अहिले पनि उत्तिकै मन पर्छ । ‘टेक्निकल फिल्ड’मा केही वर्ष काम गरे पनि उनले त्यो क्षेत्रलाई बिट मारेर खाद्यान्न लाइनतिर लाग्ने निचोड निकालेका थिए । ‘नसोचेको क्षेत्रमा लागिहालियो, अब लागेपछि छोड्ने सोच छैन,’ उनले कुरा टुंग्याए ।

salt training

कमेन्ट गर्नुहोस्