काठमाडौं १५ कात्तिक– आशन्न प्रतिनिधि सभा निर्वाचनमा झापा १ मा राजनीतिक दर्शनका व्याख्याता विश्वप्रकाश शर्मा र राम कार्कीको प्रतिष्पर्धा हुने भएको छ ।
नेपाली कांग्रेसले केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नम्बर १ बाट टिकटको टुंगो लगाएको छ । यसअघि उनलाई झापा ५ बाट भिडाउने कोशिष भएको थियो ।
वामपन्थी गठबन्धनका तर्फवाट माओवादीको भागमा परेको झापा १ बाट राम (सुरेन्द्र) कार्की चुनाव लड्ने तय भइसकेको छ । पहिलो संविधानसभा चुनावमा ताप्लेजुङबाट झिनो मतले पराजीत कार्की दोस्रो संविधानसभा चुनावमा समानुपातिक तर्फवाट सांसद बनेका थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री बनेका थिए ।
कस्तो छ अंकगणित ? २०७० सालमा भएको संविधानसभा चुनावमा कांग्रेस नेता शर्मा एमालेका रवीन कोइरालासंग पराजित भएका थिए । कोइरालाले १७ हजार १ सय २९ भोट पाउँदा कांग्रेसका विश्वप्रकाशले १६ हजार ५ सय ४० भोट पाएका थिए ।
सो क्षेत्रमा पहिलो संविधानसभा चुनावमा माओवादीका धर्मप्रसाद घिमिरे १५ हजार २ सय ७६ मत पाएर विजयी भएका थिए भने कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङ १४ हजार २ सय ८३ मत पाएर पराजीत भएका थिए ।
गत स्थानीय तहको चुनावमा झापा क्षेत्र नम्बर १ मा पर्ने झापाको मेचीनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको थियो । मेचीनगर विश्वप्रकाशको गृहनगर हो ।