०९ असार २०८३, मंगलबार
फेरिएको परिचय

...त्यसपछि चेतनारायण ‘गोलीनारायण’ बने !

भदौ २९, २०८१
काठमाडौं
...त्यसपछि चेतनारायण ‘गोलीनारायण’ बने !

रूपन्देहीमा यातायात व्यवसायको क्षेत्रमा परिचित नाम हो चेतनारायण बेल्बासे । तर, पछिल्लो समय उनी चेतनारायणभन्दा गोलीनारायणको नामले बढी परिचित छन् । 

चालकको जिम्मेवारीसहित ‘स्टेरिङ’ समाउँदा उनको गाडीको ‘स्पीड’ सधैँ तीव्र हुन्थ्यो । सबैलाई उछिनेर छिटो गन्तव्यमा पुर्‍याउने उनको गाडीको विशेषता बनेको थियो । त्यो क्षमताले गाडी कुदाउँदा एकदिन बुटवलका धर्म खड्काले ‘कस्तो गोली चलाएजस्तै गरी बस चलाएको’ भने  । त्यसपछि उनलाई धर्मले मात्र नभई क्रमशः दुई/तीन हुँदै धेरैले चेतनारायणको सट्टा गोलीनारायण भन्न थाले । 

अब अहिले चेतनारायण वास्तविक नाम केवल कागजातमा सीमित भएको छ । त्यसबाहेक अधिकांशले उनलाई बोलीचालीको भाषामा गोलीनारायण भन्ने गर्छन् । 

यातायात क्षेत्रका व्यवसायी, चालक र सहचालकले उनको नाम केवल गोलीनारायण भएको छ । आफ्नो कर्मले पाएको नाममा सबैले बोलाउँदा उनी आफू पनि खुसी छन् । निम्न वर्गीय परिवारबाट आएर यातायात क्षेत्रमा लागेका चेतनारायणलाई यातायात क्षेत्रले नाम मात्र फरिदिएन सफल व्यवसायीसमेत बनाएको छ । ‘व्यक्तिले पाएको उपमाले पनि जीवनमा धेरै कुरा निर्धारण गर्ने रहेछ,’ उनी भन्छन् । 

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर–२ पटौतीमा जन्मिएका चेतनारायणको परिवार विस २०३० को दशकमा बसाइँसराइँ गरी रुपन्देहीको सैनामैना नगरपालिका–१० मा झरेको थियो । उनी रुपन्देहीमै हुर्किएका हुन् । प्रवीणता प्रमाणपत्र तह (आईए)सम्म बुटवल बहुमुखी क्याम्पसमा पढेपछि उनी यातायात क्षेत्रमा लागेका हुन् ।

null
  
चेतनारायण यातायात व्यवसायी तुलसीराम बञ्जाडेका छोरा अर्जुनका स्कूले सहपाठी थिए । लामो समयदेखि यातायात क्षेत्रमा जोडिएका बञ्जाडे परिवारका धेरै गाडी थिए । बस चलाएको देख्दा चेतनारायणलाई पनि त्यहीँ क्षेत्रमा जाने इच्छा जाग्यो । यात्रु लिएर हिँड्दा आममानिसले चालकलाई गर्ने सम्मान देख्दा आफूलाई पनि ड्राइभर बन्ने रुचि उनमा जाग्यो । त्यसपछि उनले बञ्जाडे परिवासँगको संगत बढाए । यसपछि गाडीमा हेल्पर भएर काम थाले । लु१ख ७२५ र लु१ख ७९९ नम्बरका बुटवल–दाङ चल्ने गाडीमा हेल्परको रुपमा काम गर्न थालेको सम्झना अझै चेतनारायणलाई ताजै छ । हेल्परपछि उनले सह–चालक हुँदै विस २०५२ सालदेखि आफैँ चालक भएर गाडी हाक्न थालेका हुन् । 

चेतनारायणले शुरूमा पोखरा–स्याङ्जा, वालिङ–बुटवल रूटमा गाडी चलाउन थाले । ‘त्यो बेलामा पुराना गाडीमा मिटरले काम गर्दैनथे,’ उनी भन्छन्, ‘मैले पहाडको बाटोमा ७०/८० किलोमिटर प्रतिघण्टामा गाडी हाक्थे । त्यो बेलामा छतमा पनि यात्रुहरू प्रशस्त हुन्थे ।’ त्यही बेलामा तीव्र गतिमा गाडी चलाउने भएर आफूलाई गोलीनारायण उपनाम दिइएको चेतनारायणको भनाइ छ । १७–१८ वर्षको युवा जोशमा गाडी हाँक्न शुरू गरे पनि आफूले कुनै दुर्घटना नगराएको उनको दाबी छ । ‘मविरुद्ध समितिमा सामान्य निवेदनसमेत परेको छैन,’ उनले भने । 

निरन्तर १५ वर्ष चालकको भूमिका निभाएपछि अहिले चेतनारायण गाडी धनी (व्यवसायी) भएका छन् । नेपालकै ठूलो यातायात व्यवसायी संस्थाको रुपमा परिचित पश्चिम नेपाल बस व्यवसायी प्रालिको सञ्चालक समिति सदस्य रहेका उनीसँग अहिले १८ वटा आफ्नै गाडी छन् । ती गाडी देशका विभिन्न शहरमा गुडिरहेका छन् । चेतनारायण यातायात क्षेत्रमा काम गर्ने २० जनाको प्रत्यक्ष रोजगारदातासमेत हुन् ।  
 
यातायात क्षेत्रका बाहिर हल्ला गरिएजस्तो ‘सिन्डिकेट’ नभएको चेतनारायणको दाबी छ । ‘हामीले कहिल्यै पनि सिन्डिकेट गरेका छैनौं । यसैले सिन्डिकेटको व्याख्या गर्नेहरूलाई नै सोध्नुपर्ने छ । हामीले विशुद्ध नागरिकलाई सेवा दिएका छौं । सेवा दिएबापत सरकारले निर्धारण गरेको भाडादर लिन्छौं । त्यहीँ रकमले हामीले सबै कुरा व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ उनी प्रष्ट्याउँदै भन्छन्, ‘इन्धन, गाडी मर्मत, चालक, सहचालकलाई तलब भत्तादेखि सबै त्यहीँ भाडाबाट दिने हो । घर पुग्ने बेलामा कहिलेकाहीँ नुनतेल किन्ने पैसा पुग्छ । कहिलेकाही तरकारी किन्ने पैसा पनि पुग्दैन ।’

यातायात क्षेत्रमा समस्या भनेरै नसकिने रहेका चेतनारायणको भनाइ छ । ‘प्रहरी प्रशासन, राजनीति, बाटोघाटो सबैतिरबाट यातायात क्षेत्र पीडित छ । बुटवलबाट छुटेको बस सिद्धबाबामा प्रहरीले चेकजाँच गर्छ । फेरि पाल्पा नपुग्दै बाँसटारीमा चेक गर्छ ।

चेकजाँचको नाममा प्रहरीले हैरानी दिन्छ,’ उनी भन्छन्, ‘कमसेकम एकठाउँमा चेकजाँच भएर गइसकेपछि चाकललाई मानसिक तनाब त कुन्न नि ! एकठाउँ चेकिङ भएको गाडीमा कुनै चिन्ह टासिदिए अर्को ठाउँ चेक गर्न पर्दैनथियो । भन्सार नभएको ठाउँमा पनि भन्सारजस्तै किन चेक गरिरहने ?’ पछिल्लो समय यातायात व्यवसायीले बुटवल–नारायणगढको सडकमा पनि ठूलो समस्या खेप्दै आएको चेतनारायणको गुनासो छ । ‘राष्ट्रिय महत्वको आयोजनालाई सरकारले चासोका साथ अगाडि बढाएको छैन । सरकारलाई ध्यानाकर्षण गराउँदा पनि काम भएको छैन,’ उनले थपे । 

पछिल्लो समय व्यवयायीबीच स्तरीयसुविधासहितका गाडी भित्र्यााउने प्रतिस्पर्धा चलिरहेको छ । नयाँ प्रविधि आएकाले मापदण्ड बनाएर आरामदायी र सुविधासहितका गाडी भित्र्याउने क्रममा आफूहरू रहेको उनको भनाइ छ । ‘दाङबाट काठमाडौं चल्ने गाडीमा ‘बसहोस्टेज’ राखेका गाडी चल्न थाले । पश्चिम नेपालले पनि त्यहीँ मापदण्डसहितका गाडीहरू भित्र्याउँदै छ,’ उनी भन्छन्, ‘यसले कठिन काम गर्न महिलाहरू पनि संक्षम छन् भन्ने सन्देश दिएको छ । यसलाई संस्थागत गर्न हामी पनि तयार छौं ।’

चार दशक लामो यातायात क्षेत्रको अनुभव संगालिसक्दा पनि चेतनारायण असफल भइने कुरामा सधैँ चिन्तित छन् । ‘म यस क्षेत्रमा ढुक्क छैन । कारण यस क्षेत्रको स्थायित्व कम रहेको छ । अहिले एउटा व्यवसायीले करोड रुपैयाँ खर्च गरेर गाडी भित्र्याउँछ । अर्को वर्ष नयाँ प्रविधि आउँछ । त्यसको ब्याज र सावा उठाउन बाँकी हुँदै ऊ समस्यामा पर्छ,’ उनले नयाँ व्यवसायीलाई सजग गराउँदै भने, ‘समितिका ४०० गाडी विस्थापित भइसकेका छन् । ती गाडी के गर्ने थाहा छैन । स्थायित्व कम हुँदा व्यवसायीले चुनौतीका चाङ छिचोल्दै अघि बढ्नुपर्छ ।’
 
पछिल्लो समय जताततै सडक विस्तार भएसँगै दुर्घटना पनि बढिरहेका छन् । एक महिनाअघि त्रिशूलीमा खसेका दुईवटा यात्रुबाहक बस अहिलेसम्म पनि भेटिएका छैनन् । यसबारे उनी भन्छन्, ‘कतिपय प्राकृतिक प्रकोपलाई टार्न सकिँदैन । यद्यपि पश्चिम नेपालका सवारी दुर्घटनाका घटना अन्य क्षेत्रका तुलनामा कम नै भइरहेको मलाई लाग्छ ।’ यस्तो हुनुमा दुर्घटना न्यूनीकरणका लागि समितिले समय–समयमा चालक र सहचालकलाई निने गरेको प्रशिक्षणले काम गरेको उनको भनाइ छ । 

दुर्घटना कम गर्न सडकको अवस्था सुधार गर्नुपर्नेमा चेतनारायण जोड दिन्छन् । साथै सडक छेउमा ब्यारियर तथा सूचनामूलक बोर्ड राखिदिने, सडकको मार्किङलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने उनी आवश्यकता देख्छन् । ‘सरकार सडकमात्र बनाउन केन्द्रित देखिन्छ । तर, सडकको सुरक्षाका विषयमा सरकारी निकायको चासो कम छ । पहाडी क्षेत्रका सडकमा अझ झनै जोखिम उच्च छ,’ उनले भने । सडक निर्माणमा अबौं खर्च गर्ने सरकारले अब सडक सुरक्षाको क्षेत्रमा पनि लगानी बनाउनुपर्ने व्यवसायी चेतनारायणको भनाइ छ । 

चेतनारायणमा गाडी मात्र गोलीझै चलाउने विशेषता नभएर अन्य काम पनि तीव्र गतिमै गर्ने बानी रहेको सरोकारवालाहरू बताउँछन् । व्यवसायीका समस्या पनि फटाफट गरिदिने उनको स्वभाव छ । ‘जसको योजना उसैको नेतृत्व’ भन्ने पश्चिम नेपालको नारा छ । सोहीअनुसार उनी अघि बढिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्