
सस्तोमा प्रिमियम लक्जरियस एसयूभी भनेर प्रचार–प्रसार गरिएको डीपलका गाडी किनेका सवारीधनीले अनेक किसिमका सास्ती व्यहोर्दै आएका छन् ।
यस्तै सास्ती बेहोरेका एक ग्राहकले २ महिनाअघि मन पराएर किनेको डीपल एस ०७ मूल्य घटाएर हाम्रो बजारमा बिक्रीमा राखेका छन् । ७२ लाखमा किनेको नयाँ गाडी ६८ लाख रुपैयाँ पाए दिने उनको भनाइ छ ।
आकर्षक प्रचार सुनेर गाडी किनेका उनलेले त्यसअनुसार सुविधा त पाएनन् नै, महत्त्वपूर्ण पार्ट्सले समेत काम गर्न छाड्यो ।
गाडी किन बेच्न लाग्नुभयो भनेर लोकान्तरले सोधेको प्रश्नमा उनले वास्तविक समस्या खुलाए ।
'गाडीमा सबै कन्ट्रोल त्यही १२.३ इन्चको हेड अप डिस्प्लेबाट हुन्छ । शुरूमा त्यो फिचर राम्रो लागेको थियो, तर पछि बेलाबेलामा स्क्रीन अड्किन थाल्यो,' गाडी बेच्न खोज्नुको कारण खुलाउँदै उनले भने ।

डीपलमा रहेको ल्यान्डस्केप-ओरिएन्टेड सेन्ट्रल स्क्रीनमा हुवावे ड्राइभ वन प्रोग्राम, हार्मोनी ओएस इन्फोटेनमेन्ट सिस्टम हुन्छ, जसलाई स्न्याप ड्रयागन- ८१५५ चिप्सले चलाउने गर्छ ।
डिस्प्लेले जीपीएसमा आधारित न्याभिगेसन र रियल टाइम ट्राफिक जानकारी दिने गर्छ । त्यस्तै, रियल टाइम ट्राफिक जानकारी प्रदान गर्छ । क्लाइमेट कन्ट्रोल, सीट एडजस्ट, लाइट कन्ट्रोल र ड्राइभिङ मोड परिवर्तन त्यही स्क्रीनबाट हुन्छ ।
भिडियो स्ट्रिमिङ र अन्य मिडिया स्क्रीनले नियन्त्रण गर्छ भने ब्याट्री र ऊर्जा व्यवस्थापनको काम समेत स्क्रीनमार्फत गर्न सकिन्छ । ब्याट्रीको स्थिति, दूरी र ऊर्जा खपत उक्त स्क्रीनमा देखिन्छ ।
यसका अलावा स्क्रीनमार्फत लेन एसिस्टेन्स, क्रूज कन्ट्रोल र पार्किङ सेन्सर तथा अन्य धेरै सुविधाहरू दिइएको चांगनको दाबी छ । ब्रेक र स्टेरिङबाहेक लगभग सबै नियन्त्रण स्क्रीनमार्फत मात्र गर्न सकिन्छ । नियन्त्रणका लागि गाडीमा वैकल्पिक बटनहरू छैनन् । त्यसैले स्क्रीनले काम गर्नुको विकल्प नै छैन ।
सबै नियन्त्रण गर्ने त्यही स्क्रीन आफ्नो नियन्त्रणमा नभएपछि उनले गाडी बेच्न खोजेका हुन् । उनले पटक-पटक चांगनको नेपालस्थित कार्यालयमा गएर समस्या देखाए । त्यहाँबाट समस्या समाधान भएन ।
****
दुई साताअघि डीपल एस ०७ का एक प्रयोगकर्ताले आफ्नो गाडी बेचिदिन भनेर तेज एन्ड करन इन्टरप्राइजेजमा छाडेका थिए ।
उक्त इन्टरप्राइजेजले सेकेन्ड ह्यान्ड चारपांग्रे सवारी खरिद बिक्री गर्ने गर्छ । इन्टरप्राइजेजका एक कर्मचारीले लोकान्तरसँग भनेका थिए, 'बिकेपछि पैसा दिनुहोला भनेर गाडी यहाँ छाडेर जानुभएको छ । हामीले हेर्दा सबै ठीक छ ।'

उक्त गाडी बिक्रीका लागि हाम्रो बजारको वेबसाइटमा समेत राखिएको थियो । लोकान्तरमा यसबारे समाचार प्रकाशित भएपछि अहिले त्यहाँबाट हटाइएको छ ।
६८ लाखमा अर्को डीपल पनि बिक्रीमा
सेकेन्ड ह्याण्ड चारपांग्रे सवारी बेच्ने तेज एण्ड करण इन्टरप्राइजेजमा अर्को गाडी पनि आएको छ । हाम्रोबजार प्लेटफार्ममार्फत नै यो सार्वजनिक गरिएको हो । उक्त गाडीको मूल्य पनि ६८ लाख राखिएको छ ।

डीपललाई प्रिमियम लक्जरी ब्रान्डका रूपमा प्रस्तुत गरिएको थियो भने शुरूआति मूल्य ७२ लाख तोकिएको थियो । धेरैले यसलाई टेस्लासँग तुलना गरे । यो नेपाली बजारमा आएको केही समयमै टेस्लाको बिक्री ठप्प भएको भनेर प्रचार गरियो ।
आधा मूल्यमा टेस्लाकै फिचरसहितको प्रिमियम लक्जरी ब्रान्ड पाइने भन्दै प्रचार गरिएपछि कतिपय मध्यम र उच्चमध्यमवर्गीय उपभोक्ता यसतर्फ आकर्षित भए ।
नेपाल आएको ५ महिनामा ४ सयभन्दा बढी युनिट बिक्री भएको चांगन नेपालको दाबी छ । तर, ५ महिनामै डीपलका प्रयोगकर्ता पछुताउन शुरू गरिसकेका छन् ।
प्रिमियम भनेर किनेको गाडी चुहिने परेपछि !
यसबाहेक कतिपय प्रयोगकर्ताले गाडीमा पानी चुहिने समस्या रहेको बताएका छन् । अंकित नामका एक फेसबुक प्रयोगकर्ताले गाडीको ढोका पूरै सील नहुने, ठूलो पानी पर्दा भित्र छिर्ने, सनरूफबाट पनि पानी चुहिने समस्या देखिएको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, चांगन नेपालकै आधिकारिक फेसबूकमा कमेन्ट गर्दै राजीव खायमलीले यसको सस्पेन्सन ठीक नभएको बताएका छन् ।
एक त नेपालको अफरोडमा डीपलको ग्राउन्ड क्लियरेन्स जम्मा १ सय ७५ एमएम, त्यहाँमाथि सस्पेन्सन ठीक नहुँदा दाबी गरिएजस्तो लक्जरी फील हुँदैन ।
दुई महिनादेखि डीपल एस ०७ चढिरहेकी सानु दाहाल भन्छिन्, 'गाडी त ठीकै हो । तर, घाम लाग्दा सनरूफबाट सिधै लाइट भित्र आउँछ । निकै अप्ठेरो बनाउँछ । अनि ग्राउन्ड क्लियरेन्स राम्रो छैन ।'
डीपल एस ०७ मा समस्यैसमस्या देखिन थालेपछि आयातकर्ता विष्णु अग्रवाल यतिबेला हैरान छन् । दिनहुँजसो उनलाई गाडीमा समस्या देखिएको भनेर दर्जनौं फोन आउने गरेको स्रोत बताउँछ ।
भर्खरै सम्पन्न नाडा अटो शोमा डीपलका अरू गाडी पनि ल्याउने तयारी उनको थियो । तर, उनले अर्को एउटा मात्र नयाँ डीपल एल ०७ भित्र्याएका छन् ।
नाडामा नयाँ डीपलको बूकिङ त्यति राम्रो भएन । नेपाली बजारलाई प्रयोगशाला बनाएका अग्रवालले डीपलको समस्या खुल्दै गएपछि अरू कम्पनीको ईभीमा आँखा लगाइरहेको निकटस्थहरू बताउँछन् ।
नाडामा उनले दुईपांग्रे सवारी यामाहासँगै चारपांग्रे फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, अवतार र सेरेस लगायतका ब्रान्डहरू उतारे । तर, कुनै पनि सवारीको बूकिङ उत्साहप्रद भएन ।
डीपलमा देखिएका समस्याबारे चांगन नेपालका कर्मचारी खुलेर कुरा गर्न चाहन्नन् ।
एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरसँग भने, 'सानातिना समस्या आउँदै नआउने भन्ने होइन, तर हामीले त्यस्ता समस्याहरू तत्काल समाधान गरेका छौं । चीनस्थित कम्पनीकै इन्जिनियरहरू पनि यहाँ आउनुभएको हुन्छ कहिलेकाहीँ ।'
उनले चुहिने, पिकअप गुम्ने, टच स्क्रीनले काम नगर्ने जस्ता समस्याबारे गुनासो आएको आफूलाई थाहा नभएको बताए ।
३० लाख बढी गैरकानूनी मुनाफा
डीपल एस ०७ को एउटा युनिटमा अग्रवालले ३० लाखभन्दा बढी मुनाफा खाने गर्छन् ।
कारन्यूज चाइना(carnewschina.com)का अनुसार विद्युतीय सेग्मेन्टतर्फ डीपल एस ७ को मूल्य २६ हजार ४ सय डलरदेखि २८ हजार २ सय डलरसम्म पर्छ ।
जबकि डीपल एस ०७ को मूल्य नेपाली बजारमा ७५ लाख राखिएको छ । कार निर्माता देश चीनमा यसको मूल्य जम्मा २६ हजार ४ सय डलर अर्थात आजको सटही दरमा ३५ लाख, २३ हजार मात्र पर्छ ।
चीनमा जनवरी १, २०२४ देखि डिसेम्बर ३१, २०२५ सम्म किनिएका विद्युतीय सवारीमा कर लाग्दैन ।
नेपालमा गत आर्थिक वर्ष २०८०/८१ मा ५० देखि १०० किलोवाटसम्मको विद्युतीय सवारीलाई १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क मात्र लाग्ने गर्थ्यो ।
३५ लाख २३ हजारमा पाइने गाडीमा १५ प्रतिशत भन्सार जोड्दा ४० लाख ५२ हजार हुन्छ । त्यसमा थप १० प्रतिशत अन्तःशुल्क जोड्दा उक्त गाडीको मूल्य जम्मा ४४ लाख ५७ हजार हुन आउँछ । तर, त्यसको झण्डै दोब्बर मूल्यमा बिक्री हुँदै आएको छ ।
लूटको साम्राज्य
अग्रवालको स्वामित्वमा रहेको एमएडब्ल्यू कम्पनीले चांगनको डिलरसँगै यामाहा, निर्माणमा प्रयोग हुने हेभी सामग्री जेसीबी, फोटोन, स्कोडा र जीप गाडी, एचपी नामको इन्जिन आयल, चेक गणतन्त्रमा उत्पादन हुने एलईटी जहाजसमेतको आधिकारिक बिक्रेताको लाइसेन्स लिएको छ ।
यसअघि मोरङ अटो वर्क्स नामको उनको कम्पनीले २ करोड ७० लाखभन्दा बढी नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगेको खुलेको थियो ।
भ्याट ठगी गरेर राज्यलाई लुट्ने र बढी मूल्यमा सामान बेचेर उपभोक्ता ठग्ने अग्रवालबारे लोकान्तरले शृंखलाबद्ध समाचार लेख्दै आइरहेको छ ।
हेर्नुहोस्, थप समाचार :
पानी चुहिने र पिक–अप गुमाउने समस्याले 'डीपल एस ०७' का प्रयोगकर्ता हैरान !
नेपाली उपभोक्ताको ढाड सेक्दै विष्णु अग्रवाल : यामाहा बाइकमा दोब्बरसम्म लूट !
टेस्लाको लोगोसँग मिल्ने चाइनिज गाडी 'डीपल' : वास्तविक मूल्यभन्दा दोब्बर असुल्छन् विष्णु अग्रवाल
सोह्रखुट्टेको उकालो नतानेपछि फिर्ता भए सेरेसका ईभी– सस्तो भनेर उपभोक्ता ठगी
डीपल ईभीमा कर छली: चीनमा बनेको १६० किलोवाटको मोटर भन्सारसम्म आउँदा ९९