
सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा कुपण्डोलस्थित होटल हिमालयमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ कार्यक्रम भएको छ ।
कार्यक्रम अन्तर्गत गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ वरिष्ठ संगीतकार सीके रसाइलीलाई जनही एक लाख एक रूपैयाँ प्रदान गरिएको छ ।
गायिका राणाले आफू क्यान्सर सर्भाइभर भएको भन्दै क्यान्सर समाजका लागि उक्त पुरस्कार रकम हस्तान्तरण गरेकी छिन् । उनकै पहलमा क्यान्सर रोग लागेका कलाकारलाई सहयोग गर्न भन्दै हालै मात्रै क्यान्सर समाज स्थापना गरिएको राणाले बताइन् ।
कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ वरिष्ठ संगीतकार गीतारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ ।
५० हजार रूपैयाँ राशीको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका थिए ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्त्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ । कम्पनीले १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा सञ्चालन गरेको छ । साथै, सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।