१२ असार २०८३, शुक्रबार
सार्वजनिक यातायातमा फड्को

लामो दुरीका गाडीमा सुविधा दिने प्रतिस्पर्धा: कुनैमा ‘बस होस्टेज’, केहीमा सुत्न मिल्ने सिट

असोज ४, २०८१
बुटवल
लामो दुरीका गाडीमा सुविधा दिने प्रतिस्पर्धा: कुनैमा ‘बस होस्टेज’, केहीमा सुत्न मिल्ने सिट

दाङको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले भदौं तेस्रो सातादेखि दाङ–काठमाडौं चल्ने गाडीमा ‘बस होस्टेज’ राख्यो । ४० सिट क्षमताको ‘रोयल एडभान्चर’ सुपर डिलक्समा परिचारिकाले मुस्कानसहित स्वागत गर्दा यात्रुहरू जहाज चढ्न लागेको अनुभव गर्छन् । लामो यात्रा गर्ने यात्रुको रेखदेख र सुविधाका लागि राप्तीले ल्याएको नयाँ अवधारणा सम्भवतः नारायणी पश्चिम क्षेत्रमा पहिलो भएको दाबी गरिएको छ । 

राप्ती सार्वजनिक यातायातले समयको आवश्यकता र यात्रुको चाहनालाई लक्षितगरी ‘एसी’ जडित ‘युरो’ गाडी भित्र्याएको छ । नयाँ ‘नाइट’ बसमा भाडादर पनि अरूभन्दा खासै महँगो नभएको सञ्चालक बताउँछन् ।

प्रालिका अध्यक्ष सुरेश हमालले स्तरीय सेवा र आधुनिकीकरणमा जोड दिँदै लामो दुरीका यात्रु बसमा हवाइजहाजजस्तै बस परिचारिका राखिएको बताए । ‘अहिले होस्टेज राखेपछि हाम्रा यस अघिदेखि नै सञ्चालनमा रहेका गाडीहरू पनि सबैको रोजाइँमा पर्न थालेका छन् । यी बसमा काठमाडौं जान तीन दिनअघि नैं टिकट बुक गर्नुपर्छ,’ हमाल भन्छन्, ‘तुलसीपुर-काठमाडौंको भाडादर १ हजार ७०० रुपैयाँ छ ।’ 

गाडीमा बिरामी र अशक्तको लागि सुत्ने सुविधा पनि छ । तुलसीपुरदेखि काठमाडौंको दुरी ४२५ किलोमिटर छ । राप्तीले दाङदेखि भारतको दिल्ली र लुधियानासम्म पनि गाडी सञ्चालन गर्दै आएको छ । राप्तीका गाडी ७५ जिल्लामा चल्ने गरेका छन् । 

पाँच वर्ष अघिसम्म पुराना गाडीमा धुलो खाँदै यात्रा गर्नुपर्ने अवस्था अहिले नयाँ प्रविधिका बस भित्रिएपछि हटेको छ । सामान र यात्रुहरूको सुरक्षामा समेत बस परिचारिकाको भूमिका हुन्छ । होस्टेजहरू तालिम प्राप्त हुन्छन् । लामो रूट पुगेर आएको भोलिपल्ट बस होस्टेजले बिदा पाउने व्यवस्था मिलाइएको छ । प्रालिका सचिव प्रकाश भट्टले लोकान्तरसँग भने, ‘विमानजस्तै यात्रुको सेवाका लागि महिला परिचारिका तम्तयार हुन्छन् । तालिमप्राप्त बस परिचारिकाले झर्किएर हैन, नम्र भएर यात्रुहरूको सेवा सत्कार गर्छन् । होस्टेजको लागि आकर्षक ड्रेसको व्यवस्थासमेत गरिएको छ ।’

null

असोज १ देखि पाल्पाको तानसेनदेखि काठमाडौंसम्म ‘शोफा सिटर एसी’ सुविधासहित बस सञ्चालनमा ल्याएको छ । पश्चिम नेपाल बस व्यवसायीद्वारा सञ्चालित गाडीमा सुत्न मिल्नेसमेत छुट्टै सिट रहेका छन् । गाडीका सञ्चालक तुल्सीराम पाण्डेका अनुसार गाडी तानसेनबाट बेलुका ७ः३० बजे तथा सोही समयमा काठमाडौं गंगबु बसपार्कबाट छुट्ने छन् । एक करोड मूल्यभन्दा माथिका गाडीमा धुवाँ नफाल्ने, वातावरण अनुकूलित, इन्टरनेट (वाइफाइ) र पिउने पानीको समेत सुविधा यात्रुले पाउनेछन् । २९० किलोमिटरको भाडादर जम्मा १ हजार ३०० रूपैयाँ रहेको छ ।

देशको ठूलो यातायात समिति पश्चिम नेपाल बस व्यवसायीका सुपर ‘डिलक्स’ बस ३०० भन्दा बढी छन् भने डिलक्स गाडी ४०० छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवनकुमार बञ्जाडेले ‘लग्जरियस’ बसहरू सञ्चालनमा रहेको बताए ।

‘हामीमा महिला ‘होस्टेज’ छैनन्,’ बञ्जाडेले लोकान्तरसँग भने, ‘लामो दुरीमा धेरै सुविधासहितका आनन्ददायी बस छन् ।’ बसभित्र चौबिसै घण्टा वाइफाई सेवा, ४२ इञ्चको एलसिडी टिभीबाट मनोरञ्जनात्मक सामाग्रीको व्यवस्थासमेत गरिएको छ । न्यूज पेपरदेखि, प्रत्येक सिटमा मोबाइल चार्जिङ, ब्लाङकेटसम्मको व्यवस्था गाडीमा हुन्छन् ।' कुनै बेला थोत्रा र पुराना गाडीमा यात्रा गर्न बाध्य यात्रुले अहिले राजधानी जाने गाडीमा धेरै सुविधा पाएको बञ्जाडेको भनाइ छ । 

यातायात व्यवसायी चेतनारायण बेल्बासे भन्छन्, ‘कुनै बेला गाडीको प्रतिक्षामा सडकमा लामो समय उभिनु, कोचाकोच यात्रु बोकेर धरमराउँदै थोत्रो बसमा यात्रा गर्नुपर्ने अवस्था थियो । अहिले स्तरीय गाडीमा सम्मानपूर्वक यात्रा गर्न पाइएको छ ।’ 

null

सुदूरपश्चिम र नेपालगञ्जबाट काठमाडौं रूटमा चल्ने गाडीहरू पनि स्तरीय छन् । होस्टेज सहितको गाडी चलाउन थालेको राप्तीले उच्चस्तरको सेवा सुविधा दिए पनि सरकारले तोकेकै भाडामा यात्रुलाई सेवा दिने भएको छ । सामान्य गाडीको भाडादर भन्दा डिलक्सले २० प्रतिशत अतिरिक्त र सुपरडिलक्स अझै २० गरेर ४० प्रतिशत अतिरिक्त शुल्क लिन पाउँछन् । 

बुटवलका यात्रु गणेश मल्लले गाडीमा होस्टेल राख्ने कार्य राम्रो भएको बताए । ‘पब्लिक गाडी पैसा कम हुनेले मात्रै चढ्छन् भन्ने भाष्य परिवर्तन गर्न आवश्यक छ,’ मल्ल भन्छन्, ‘भाडादरलाई वैज्ञानिक र स्वचालित प्रणालीमा लगेर सार्वजनिक यात्रालाई सुरक्षित बनाउन सके हाम्रो सानो देशमा जहाज चढ्नेहरू पनि गाडी चढ्ने थिए ।’ 

सडकको अवस्थाले गर्दा जोखिम मोलेर ठूलो लगानी गरी भित्र्याइएका गाडी छोटो समयमै बिग्रिने अवस्था रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताए । ‘सार्वजनिक सवारीलाई प्रोत्साहन गर्दै निर्माणाधीन सडक समयमा सम्पन्न गराउन राज्यलाई खबरदारी गर्न आवश्यक छ,’ अध्यक्ष खरेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्