
ह्वावेले अत्याधुनिक भविष्यमाथिको प्रतिबद्धतास्वरुप गरेको प्रतिभा तथा परम्परा आदान–प्रदान कार्यक्रमअन्तर्गत सिड्स फर द फ्युचर– २०२४ का ६ विजेता विद्यार्थीले यही सेप्टेम्बरमा चीन भ्रमण गर्ने भएका छन् । उनीहरूले चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गूड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने भएका हुन् ।
यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । जसले युवा विद्यार्थीहरूलाई डिजिटल नवीनता र सामाजिक समृद्धिमा योगदान पुर्याउन सहयोग गर्ने विश्वास लिइएको छ ।
कडा प्रतिस्पर्धा र मूल्याङ्कन प्रक्रियापछि यी ६ विद्यार्थी आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की ३०० भन्दा बढी आवेदकमध्येबाट विजेता बनेका हुन् । उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गूड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभवसमेत विद्यार्थीहरूले प्राप्त गर्ने विश्वास लिइएको छ ।
चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ । साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यावसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिने छ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागिता जनाउने छन् ।
प्रतिस्पर्धाका अतिरिक्त सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तरक्रिया गर्ने, र तीव्र प्रविधि विकाससँग जोडिएको संसारको निर्माणमा आईसीटीको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्ने बताइएको छ ।
‘यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आईसीटी प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । नवीनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ,’ ह्वावेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालमा सिड्स फर द फ्युचर कार्यक्रम २०१९ मा शुरू भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीलाई प्रेरित गरिरहेको छ।
सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी (सीएसआर) प्रयासअन्तर्गत, २००८ मा थाइल्यान्डमा शुरू भएको हो । हालसम्म विश्वभरका १४१ देशका १८ सयभन्दा बढी विद्यार्थीले यसबाट फाइदा उठाइसकेका छन् ।
नेपालमा यो कार्यक्रमले उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न गतिविधिहरूमा संलग्न गराउँछ । जसमा कलेज भ्रमण, कार्यशालाहरू र अन्तिम अन्तर्वार्ता समावेश छन् । क्षेत्रीय चरणमा चीन भ्रमण हुने गर्दछ, जहाँ विद्यार्थीहरूले डिजिटल पावर, क्लाउड, फाइभ जी, र एआईजस्ता विषयहरूमा अन्वेषण गर्नेछन् ।