
केही समय अघिसम्म महामन्त्री गगन थापा भन्दै थिए– २०८४ सम्म कुर्न सकिन्न, कांग्रेसमा नेतृत्व परिवर्तनका लागि हस्तक्षेप गर्छौं । २०७९ पुसमा पहिलोपटक संसदीय दलको नेताका लागि ‘एटेम्ट’ गरेका गगनले फेरि प्रयास गर्ने बताएका थिए । तर, त्यो प्रयास भएन । बरु थापाले नै अबको प्रधानमन्त्री शेरबहादुर देउवा हुने बताएका छन् ।
अन्य कुरा यथावत रहे कांग्रेस महाधिवेशन २०८२ साल मंसिरमा हुनेछ । केन्द्रीय समिति बैठकबाटै निर्धारित मितिमै महाधिवेशन गर्ने निर्णय भइसकेको छ । र, महाधिवेशन पर सार्ने कोशिश गर्छन् भनेर आशंका गरिएका शेरबहादुर स्वयंले तोकिएको समयमै महाधिवेशन गर्ने बताएका छन् । ‘अन्य कुरा यथावत रहेमा’ भन्ने अर्थशास्त्रको सिद्धान्त कांग्रेस राजनीतिमा लागू भयो भने केपी शर्मा ओलीले सरकारको नेतृत्व हस्तान्तरण गर्नुअघि नै कांग्रेसको नेतृत्व फेरिने छ । विधानको बाध्यकारी व्यवस्था र बुढ्यौलीका कारण पनि देउवा दोहोरिन पाउने छैनन् ।
तर, महामन्त्री थापाले २०८३ मा शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने बताएका छन्, गत भदौ २ गते पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा । नेकपा–एमालेसँग असार १७ गते मध्यरातमा भएको सहमतिमा २०८३ असारमा देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ । साउन ६ गते प्रतिनिधि सभा बैठकमा केपी ओलीले सहमतिको कुरा ‘रेकर्ड’ गराएका छन् । पार्टी बैठकमा उनले तोकिएको मितिभन्दा एक हप्ताअगावै देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । अस्थिर राजनीतिको गोलचक्कर चलिरहेकाले यहाँ पनि त्यही सिद्धान्त लागू हुन्छ, ‘अन्य कुरा यथावत रहेमा’ । अर्थात्, यही गठबन्धन कायम रहेमा ।
शुरूमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एमालेसँग मध्यरातमा गरिएको त्यो ‘अपारदर्शी’ सहमतिप्रति खुसी थिएनन् । विरोध गर्न नसके पनि उनीहरूले खुलेर समर्थन गर्न सकेका थिएनन् । यद्यपि, अहिले सरकारका साझा न्यूनतम् कार्यक्रमको ‘ड्राफ्ट’ नै महामन्त्री थापाले गरे ।
झण्डै साढे २ महिनापछि महामन्त्री थापाले ओलीसँग देउवाले गरेको आलोपालो–सहमतिको कांग्रेसका तर्फबाट स्वामित्व ग्रहण गरे । यद्यपि, देउवाको दुईतिहाइ बहुमत रहेको केन्द्रीय समितिले एमालेसँगको ७ बुँदे सहमतिको अनुमोदन गरिसकेको छ ।
‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतिको आधारमा यो सरकार गठन भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ । २ वर्ष सरकार चलिसकेपछि पार्टी सभापति आदरणीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ । यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौं । तर, यसलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने र यसको वातावरण निर्माण गर्ने कुरामा जिल्ला तहमा एवं तल पनि हामीले वातावरण बनाउनुपर्नेछ । यो ७ बुँदे सहमतिको बारेमा आजै न्यूनतम् साझा कार्यक्रम पनि बन्छ, सार्वजनिक हुन्छ,’ देउवासहित पदाधिकारी उपस्थित कार्यक्रममा गगनले भने ।

गगनको अभिव्यक्तिको आशय
आगामी महाधिवेशनबाट अनिवार्य अवकाशमा जान लागेका देउवाको ‘ग्रेसफुल एक्जिट’ (सम्मानपूर्ण अवकाश)को रूपमा गगनको अभिव्यक्ति आएको ठानिएको छ । गगनको अभिव्यक्तिलाई लिएर कांग्रेसमा दुईथरि बहस छ ।
पहिलो, देउवाको एक्जिटको सन्देश । जुन शेरबहादुर आफैंले भनिसकेका छन्– अब म अवकाशमा जान्छु । पार्टी नयाँ पुस्ताले हाँक्ने हो ।
दोस्रो, कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्री शेरबहादुर नै हो, आरजू होइन । अघिल्लो साता सुदूरपश्चिम भ्रमणमा गएका बेला आरजुले ‘आफ्नो हैसियत’ नपुग्ने भएकाले शेरबहादुर नै प्रधानमन्त्री हुने बताएकी थिइन् ।
यद्यपि, देउवाले आरजूलाई नै प्रधानमन्त्री बनाउँछन् भनेर विश्वास राख्ने ठूलो तप्का कांग्रेसमा छ । परराष्ट्रमन्त्री बनेलगत्तै भएको भारत भ्रमणमा पाएको ‘अतिरिक्त’ सम्मानका कारण कांग्रेसमा आरजूलाई प्रधानमन्त्री बनाउन लबिङ गर्नेहरू हौसिएका छन् ।
२०८२ मंसिरमा कांग्रेसको १५ औं महाधिवेशन भयो र नेतृत्व परिवर्तन भयो भने त्यसपछि स्वाभाविक रूपमा संसदीय दलको नेता परिवर्तनको बहस उठ्ने छ । तर, असोज २ गतेको गगन अभिव्यक्तिले पार्टी महाधिवेशन सम्पन्न भएपनि देउवा नै प्रधानमन्त्री हुनेछन् भन्ने संकेत दिएको छ । संसदीय दलको नेता परिवर्तन नगरी देउवालाई नै संसद्को बाँकी कार्यकाल प्रधानमन्त्री बन्न दिए ‘ग्रेसफुल एक्जिट’को बाटो खुल्नेछ ।

कांग्रेसका नेताहरू बाँचुञ्जेल नेतृत्वमा रहने या कुनै न कुनै पदमा बसिरहेका थिए । पार्टीको नेतृत्व छाड्दा कुनै पद दिएर कांग्रेसले संस्कार शुरू गर्ने देखिँदैछ, देउवाको हकमा । ज्योतिषीले भविष्यवाणी गरेजस्तै फेरि एकपटक प्रधानमन्त्री बन्ने तृष्णा देउवामा व्याप्त छ । प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षाकै कारण २०७९ पुस १० गते देउवाले चुनावी गठबन्धन तोडेका थिए ।
अबको प्रधानमन्त्री शेरबहादुर भन्दै गर्दा मुस्कुराएका देउवा गगनलाई धन्यवाद दिन चुकेनन् । ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदोरहेछ भने, चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई । जिल्लामा राम्रो संगठन विस्तार गरौं । झगडा नगरौं, मिलाउनेतिर लागौं,’ थापालाई धन्यवाद दिँदै देउवाले भनेका थिए ।
कांग्रेसमा देउवा फेरि प्रधानमन्त्री बन्न हुँदैन भनेर गगनले चुनावअघि नै भनेका थिए । चुनावी प्रचारको बेलामा पनि उनले प्रधानमन्त्री बन्नका लागि प्रयास गर्ने बताएका थिए ।
‘पूर्वप्रधामनन्त्रीहरू विथ ड्यु रेस्पेक्ट अब फेरि यो चुनावपछाडि कोही पनि व्यक्ति जुनसुकै पार्टीको होस्, प्रधानमन्त्री भइदिएर थप गुण लगाइदिनुपर्ने कारण छैन । राजनीतिमा उहाँहरूको भूमिका छ । तपाईंहरूले बनाइदिएको जमिनमा हामी आयौं, नयाँ साथीहरू आउनुभएको छ, अब हामीलाई मौका दिनुस् एकपटक । सक्यौं भने डेलिभर गर्छौं, नभए अर्को आउँछ,’ २०७९ असार ८ गते रामकुमारी झाँक्री समेत उपस्थित एक टेलिभिजन कार्यक्रममा गगनले भनेका थिए ।
नयाँ पुस्ताका नेतामा गगन आफ्नो कुरामा अडान राख्ने नेता हुन्, जसले पार्टी सरकारमा रहेका बेला पनि संसद्मा आलोचना गर्ने गरेका थिए ।

देउवासँग नजिकिँदा अरूलाई औडाहा
देउवा सभापति बन्नुअघिको कांग्रेस संस्थापन (स्व. सुशील कोइराला समेत) देउवाको हातमा पार्टी गयो भने कांग्रेस ध्वस्त हुन्छ भनेर चिन्ता गरिरहेका थिए ।
देउवामाथि २०५८ सालमा प्रजातन्त्र दरबारमा लगेर बुझाएको आरोप लाग्दै आएको थियो । पार्टीभित्र देउवाको विरोधी तप्काले उनी सभापति भए कांग्रेसको साख गिर्ने भनेर महाधिवेशनमा प्रचार गरेका थिए ।
देउवा सभापति बनेको समय २०७२ सालमा कांग्रेस संसद्को ठूलो पार्टी थियो । सुशील कोइरालाको नेतृत्वमा २०७० को चुनावका कांग्रेस संसद्को पहिलो दल बनेको थियो । २०७४ सालको चुनावमा पार्टीको लज्जास्पद् पराजय गराएको भन्दै देउवाको राजीनामा माग गरियो, ‘अर्ली महाधिवेशन’को मागमार्फत । तर, नेतृत्व छाड्ने समयमा देउवाले कांग्रेसलाई फेरि पहिलो पार्टी बनाएको पृष्ठभूमि छ ।
‘चुनावमा कांग्रेसलाई हराएको’ अपजसबाट देउवा मुक्त भइसकेका छन् । उनकै चातुर्यताका कारण कांग्रेसले हातबाट फुत्किसकेको राष्ट्रपति पद हात पार्यो । गुमेको सत्तामा पटक–पटक पुनरागमन भयो । कांग्रेसलाई साविककै अवस्थामा फर्काएर देउवा अवकाशमा जाँदैछन् ।
देउवापछि कांग्रेसको नेतृत्व कसको काँधमा जाला, विभिन्न खाले अड्कलबाजी चलिरहेको छ । पार्टीमा बलियो पकड रहेकाले देउवाले आर्शीवाद दिएको व्यक्ति सभापति बन्ने सम्भावना बलियो हुन्छ । पार्टी सभापतिमा लड्ने तयारीमा रहेका महामन्त्री थापा स्वयं पनि एक आकांक्षी हुन् । गगन देउवासँग नजिकिँदा र प्रधानमन्त्री देउवा नै हुने भनिरहँदा देउवा कित्ताका नेताहरूले भने गम खाएका छन् ।
पढ्नुहोस्, यो पनि :
कांग्रेसमा नेतृत्व परिवर्तनका लागि ‘फ्लोर ओपन’ !
कांग्रेस बैठकमा देउवालाई सुझाव– ८० वर्ष पुग्नुभयो, अब नेतृत्व छाड्नुस् !