०५ साउन २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

छवि पक्राउ परेपछि आत्तिएका रवि !

'कोठा मिलाउँछु' भन्दै प्रधानमन्त्रीलक्षित अशिष्ट टिप्पणी
असोज ७, २०८१
काठमाडौं
छवि पक्राउ परेपछि आत्तिएका रवि !

सहकारीको करोडौं रकम गोरखा मिडियामा ल्याएको कसुरमा तत्कालीन सञ्चालकमध्येका एक छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि प्रहरी अनुसन्धानको दायरामा तानिएका छन् । 

सहकारीको रकम अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिश गरेकामध्ये छवि पक्राउ परेपछि रवि पनि पक्राउको डरले आत्तिएका देखिन्छन् ।

आइतबार छवि पक्राउ परेलगत्तै रविले आफूलाई पक्राउको तयारी भएको भनेर प्रतिवाद गर्न नेता/कार्यकर्तालाई निर्देशन नै दिए । पार्टी कार्यालय वनस्थलीमा नेता/कार्यकर्ता र मिडियालाई बोलाएर आफूलाई विनाकसुर पक्राउ गर्न खोजिएको बताए । यतिमात्रै होइन, आफूलाई पक्राउ गर्ने तयारी गरेको भन्दै शनिबार मात्रै उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा १० दिने चीन भ्रमणमा गएको १४ जनाको टोलीलाई पनि सोमबारै फर्किन निर्देशन दिए । 

रास्वपा सभापति डोलप्रसाद अर्यालले सभापतिलाई विनाअपराध पक्राउ गर्न खोजिएपछि रास्वपाले प्रतिक्रिया जनाएको बताए । सरकारले पक्राउ गर्ने नियत राखिरहे विरोधका कार्यक्रम देशैभर फैलिने उनको चेतावनी छ ।

‘हामीले रियाक्ट मात्र गरेको होइन, कुनै अपराधविना सभापतिलाई पक्राउ गर्न सरकार नै लाग्छ भने प्रश्न गर्ने स्वाभाविक ठाउँ रहन्छ । घर र कार्यालय घेर्नुको कारण के हो ?’ अर्यालले लोकान्तरसँग भने, ‘छानबिन समितिको प्रतिवेदन हाम्रो सभापति सहकारी ठग हो कि होइन भन्नेमा केन्द्रित भएर बनेको थियो । समितिका सभापतिले नै सहकारी ठगेको प्रमाणित भएन भनेर बोल्नुभयो । टीओरभन्दा बाहिर जाने, संसद्लाई दुरुपयोग गर्नेगरी जनतालाई भ्रम छर्ने काम भयो ।’ 

कारबाही गर्ने भनिएकोप्रति पनि उनले आपत्ति जनाए । ‘समिति एक त टीओर बाहिर गयो, उसले कारबाही भन्ने शब्द लेख्न नै पाउँदैन । यसैले हामीले सरकारको गलत रवैयाविरुद्ध बोल्ने, बैठक गर्ने र विदेश गएका नेताहरूलाई बोलाउने तथा उहाँहरू फर्किने स्थिति बनेको हो,’ अर्यालले भने, ‘स्वतस्फूर्त देशैभर कार्यक्रम चलेका छन् । केन्द्रबाट विधिवतरूपमा आह्वान भएको छैन । देशैभर विरोध प्रदर्शन भइरहेको छ । विदेशमा पनि भएको छ । यो क्रम यसैगरी बढेर जान्छ ।’  

null

बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी र वीरगञ्जको सानोपाइला सहकारीबाट गैरकानूनीरूपमा गोर्खा मिडियामा रकम भित्र्याइएको र यो रकम खर्च रविसहितका सञ्चालकले गरेको निष्कर्ष छानबिन समितिले निकालेको थियो । यसरी यी सहकारीबाट ६५ करोड रुपैयाँमध्ये धेरैको चेक रविकै नामबाट काटिएपछि उनलाई पनि तत्कालीन प्रबन्ध निर्देशकको रूपमा समितिले कारबाही सिफारिश गरेको हो । यस्तो सिफारिशमा रास्वपाबाटै समिति सदस्य शिशिर खनालले पनि हस्ताक्षर गरेका थिए । 

समितिले नामै किटेर कारबाही गर्न भने पनि रविले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै प्रतिवाद गर्न निर्देशन दिएका हुन् ।

‘प्रहरीको अनुसन्धानले दोषी देखिएन भन्छ । छानबिनको क्रममा कहीँकतै कुनै किसिमको संलग्नता देखिएको पाइएन भनेर संस्थागतरूपमा भनिएको छ,’ रविले आइतबार राति केन्द्रीय कार्यालयमा भनेका थिए, ‘सहकारीको पैसा अपचलन भएको छ कि छैन भन्नका लागि समिति बनेको हो । सभापति (सूर्य थापा)ले पनि बुझ्ने गरी भनिसक्नुभयो । कसैको राजनीति बचाइदिन मैले प्रतिशोध सामना गर्नुपर्ने ? राजनीतिमा प्रतिशोध मानिँदैन । पञ्चायतमा मात्रै यस्तो हुन्थ्यो । षड्यन्त्र गरिँदैछ । खुलेर प्रतिवाद गर्छौं । निर्धक्क हुने अवस्था छैन ।’ 

पक्राउ नै गर्ने तयारी भएको जानकारी नपाए पनि आफू निर्धक्क नभएको भन्दै उनले दुईतिहाइको सरकारविरुद्ध जाइलाग्न नेता/कार्यकर्तालाई आग्रह गरे । तर, सूर्य थापा सभापति रहेको संसदीय छानबिन समितिले विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडियामा ल्याएर अपचलन गरेको भन्दै रविसहित ४ सञ्चालकलाई कारबाही सिफारिश गरेको थियो । अधिकांश रकम रविले नै हस्ताक्षर गरेको चेकमार्फत खर्च भएको देखिएको थियो ।

‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोरखा मिडिया नेटवर्क प्रा.लि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने,’ समितिको प्रतिवेदनमा भनिएको छ । 

यही प्रतिवेदनका आधारमा एक सञ्चालकलाई प्रहरीले आइतबार पक्राउ गरेर पोखरा लगेको हो । भाग्न सक्ने सूचनाका आधारमा प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरी जोशीलाई पक्रेको थियो ।

उनीमाथि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा छानबिन अगाडि बढाएपछि रविले आफूमाथि प्रतिशोध साँधिएको भन्दै नेता/कार्यकर्तालाई प्रतिरोधमा उत्रिन भनेका हुन् । समितिले कारबाही सिफारिश गरे पनि सिंगो पार्टी संरचना परिचालन गरेर रविले आफूले ‘क्लिन चिट’ पाएको प्रचार गर्दै आएका छन् ।

एकातिर प्रतिरोध गर्न भने पनि रविले पक्रेर लैजान पनि चुनौती समेत दिए । 

‘मैले केही बिराएको छैन र डराएको पनि छैन । सबैलाई हेक्का रहोस्, दुईतिहाइको यो सरकारलाई हेक्का रहोस्, रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएका मान्छेहरूलाई फर्काएर आएको हो,’ रविले कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए, ‘लैजानुस्, म तयार छु । शुरूदेखि राजनीति गरेका दलहरू एउटा नयाँ दलका नेतासँग डराएको सुहाएन ।’ रविले चीन भ्रमणमा गएका नेताहरू पनि तत्काल फर्किने निर्णय भएको बताए ।

साँझ नेता/कार्यकर्तालाई सम्बोधन गरेका रविले राति अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मालाई ओलीलाई लक्षित गर्दै व्यंग्यमिश्रित टिप्पणी गरे ।

‘न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौं, सहकारीपीडितलाई न्याय दिने नियत भए म रूम मिलाउँछु, बिचौलियाको घर चाहिन्न, बाँकी भोलि,’ रविले आइतबार राति साढे ११ बजे सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।

null

आफूले सहकारीको एक रुपैयाँ पनि अपचलन नगरेको दाबी गरेका रविले देशभरका पीडितलाई न्याय दिन अग्रसर हुने पनि बताएका छन् ।

‘देशभरका सहकारीपीडितलाई अपिल गर्न चाहन्छु, सहकारीपीडित संघर्ष समितिको नेतृत्व गर्न तयार छु,’ नेता/कार्यकर्तालाई सम्बोधन गर्दै रविले भनेका थिए । 

एमाले सांसद ठाकुर गैरे संसदीय समितिबाट सर्वसम्मत ढंगले तयार भएको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाले अनर्गल लफडा झिक्दा सहकारीपीडितमाथि झन् अन्याय भएको बताउँछन् । 

‘संसद्ले पास गरेपछि प्रतिवेदन सार्वजनिक भइसक्यो । जनताले वास्तविकता थाहा पाइसके । जनता र सिंगो देशको सम्पत्ति भइसकेको छ । प्रहरीले थप अध्ययन गर्ने, कारबाही गर्ने कानूनी विषय हो । यस्तोमा छानबिनको प्रक्रिया रोक्ने, सभापतिलाई छानबिन हुनुहुँदैन, छानबिन अगाडि बढे प्रतिवाद गर्छौं भन्नु कानूनविपरीत कुरा हो,’ गैरेले भने, ‘समितिको प्रतिवेदनमा रास्वपाको मात्रै कुरा छैन, कांग्रेस, एमाले, माओवादी, राप्रपासम्बद्ध व्यक्तिको नाम समेत किटान छ । अरू पार्टीका नाम भए चुप बस्नुपर्ने, तर रास्वपाको आउँदा खबरदार भन्ने, योभन्दा अराजकता के हुन्छ ? रास्वपाको यस्तो हर्कतले सहकारीमा नागरिकको अर्बौं रुपैयाँ गुम्छ । यो उनीहरूको विरुद्धमा हुन्छ ।’

संसद्बाट पारित भएपछि मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यही निर्णयपछि गृहमन्त्री रमेश लेखकले कार्यान्वयनका लागि प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाएका हुन् । 

पोखरामा सहकारीपीडित र रास्वपा कार्यकर्ता आमनेसामने 

यसैबीच, सहकारी ठगी प्रकरणमा दोषी रहेको भन्दै सहकारीपीडितले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग राखेर पोखरामा प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्की पुगेर सूर्यदर्शन सहकारीपीडितले गोरखा मिडियामार्फत रविले करोडौं रकम दुरुपयोग गरेको भन्दै पक्रिन माग गरेका हुन् । 

अर्कातर्फ रास्वपाका कार्यकर्ताले रविलाई पक्रिन नहुने भन्दै विरोध प्रदर्शन गरेका छन् । दुवै पक्ष विरोधमा उत्रिएपछि पोखरामा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । 

salt training

कमेन्ट गर्नुहोस्