२८ असार २०८३, आइतबार

नेपालमा पहिलोपटक फ्रान्सेली शैक्षिक मेला, विश्वविद्यालयसहित १७ शिक्षण संस्थाको उपस्थिति​

असोज ११, २०८१
काठमाडौं
नेपालमा पहिलोपटक फ्रान्सेली शैक्षिक मेला, विश्वविद्यालयसहित १७ शिक्षण संस्थाको उपस्थिति​

नेपाली विद्यार्थीलाई उच्च शिक्षामा आकर्षण गर्न फ्रान्सले 'चुज फ्रान्स टुर नेपाल २०२४' उच्च शिक्षा मेलाको आयोजना गरेको छ ।

नेपालस्थित फ्रान्सेली दूतावासले पहिलोपटक 'क्याम्पस फ्रान्स'सँग मिलेर फ्रान्सको उच्च शिक्षा अध्ययनबारे नेपाली विद्यार्थीलाई जानकारी प्रदान गर्न यस्तो प्लेटफर्म उपलब्ध गराउने भएको हो ।

आगामी शनिबार ललितपुरको पुल्चोकस्थित 'एलायन्स फ्रान्सेज'मा बिहान ११ बजे देखि ४ बजेसम्म सञ्चालन हुने यस मेलाले नेपाली विद्यार्थीहरूलाई फ्रान्समा अध्ययन गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ ।

फ्रान्सेली सरकारले 'चुज फ्रान्स' अभियान अन्तर्गत आयोजना गरेको यस मेलामा सहभागी हुने विद्यार्थीले व्यवस्थापन, इन्जिनियरिङ, मानविकी, कला, वास्तुकला र डिजाइन जस्ता विविध विषयमा अध्ययन गर्नका लागि विभिन्न अवसरहरूको बारेमा जानकारी पाउनेछन् ।

मेलाले विद्यार्थीहरूलाई फ्रान्सका उत्कृष्ट शिक्षण संस्थाहरूमा उपलब्ध शैक्षिक कार्यक्रमहरू र छात्रवृत्तिका विकल्पहरूबारे प्रत्यक्ष जानकारी दिनेछ ।

null

साथै, 'क्याम्पस फ्रान्स'का परामर्शदातासँग छलफल गर्न पाउने र भिसा प्रक्रिया, फ्रान्समा विद्यार्थी जीवन र छात्रवृत्ति योजनाहरूबारे विस्तृत परामर्श लिन सकिने दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

यस मेलामा फ्रान्सका १७ शिक्षण संस्थाहरू सहभागी हुनेछन् । तीमध्ये ईएसएसईसी बिजनेस स्कूल, ग्रेनोबल व्यवस्थापन स्कूल, केड्ज बिजनेस स्कूल, ईएसडीईएस विश्वविद्यालय, आईईएसईजी स्कूल, ईएम ल्योन बिजनेस स्कूल, इन्स्टिच्युट माइन्स टेलिकम बिजनेस स्कूल, आईसीएन बिजनेस स्कूल, रेन्नेस स्कूल अफ बिजनेस, अडेनसिया बिजनेस स्कूल सहभागी हुनेछन् ।​

इन्जिनियरिङतर्फ आईएमटी नर्ड युरोप, ईएसआईजीईएलईसी ग्राजुएट स्कूल अफ इन्जिनियरिङ, ईसीई इन्जिनियरिङ स्कूल रहनेछन् भने अन्य विश्वविद्यालयमा युनिभर्सिटी क्याथोलिक अफ द वेस्ट, ग्रेनोबल आल्प्स विश्वविद्यालय, साइन्सेस पो र कलातर्फ एकोल कोन्ते शिक्षण संस्था रहनेछन् ।

उक्त मेलामा फ्रान्समा अध्ययन गरिसकेका नेपाली पूर्व विद्यार्थीको पनि सहभागिता हुनेछ । उनीहरूले विद्यार्थीलाई अध्ययन अनुभव, छात्रवृत्तिका प्रक्रिया र फ्रान्समा हुने जीवनयापनका अनुभवबारे सल्लाह दिने कार्यक्रम रहेको छ ।

त्यस्तै मेलामा फ्रान्सेली भाषा सिक्ने प्रक्रियाबारे पनि जानकारी उपलब्ध हुने आयोजकले जनाएको छ । 'एलायन्स फ्रान्सेज'ले नेपाली विद्यार्थीलाई फ्रान्सेली भाषा सिक्न आवश्यक परामर्श दिनेछ ।

यसका लागि क्याम्पस फ्रान्सका प्रमुख प्रवीण राणा र फ्रान्सेली दूतावासका मिसन प्रमुख दीपेश बिडारीसँग सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्