२२ असार २०८३, सोमबार
खेलाडी बन्न नपाई अस्ताए प्रियान्स

​दुई दिन अघि मात्रै फोन गरेर भनेका थिए– बुवा जसरी पनि लिन आउनु, म खेल्न सक्दिनँ

असोज १३, २०८१
काठमाडौं
​दुई दिन अघि मात्रै फोन गरेर भनेका थिए– बुवा जसरी पनि लिन आउनु, म खेल्न सक्दिनँ

मकवानपुरको सिस्नेरीमा खसेको पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका ६ प्रशिक्षार्थी मध्ये एक हुन् धादिङका प्रियान्स आचार्य ।

एकेडेमीबाट शनिबार बिहान सुरक्षित स्थानतर्फ लैजाने क्रममा प्रियान्सहित ६ जनालाई पहिरोले बगाएको थियो। 

धादिङ घर भए पनि काठमाडौंको खड्का गाउँमा बस्दै आएका प्रियान्सका बुवा मिलनले छोरालाई फुटबल खेलाडी बनाउने आशामा एन्फाको ट्रेनिङमा पठाएका थिए ।

एन्फाबाट छनोट भएरै तालिमका लागि प्रियान्ससँगै ४० जना मध्ये प्रिन्स खेलाडी बन्न नपाई अस्ताए । मिलनका दुई बच्चा मध्ये प्रियान्स कान्छो थिए । 

बिहीबार मात्रै प्रियान्सले आफ्ना बाबु मिलनलाई फोन गरेर आफूलाई लिन आउन भनेका थिए ।

‘बुवा मलाई जसरी पनि लिन आउनु, म खेल्न सक्दिनँ,’ प्रियान्सले मिलनलाई भनेको भनाइ उद्धृत गर्दै उनका आफन्त हरिओम गौतमले लोकान्तरसँग भने, ‘लिन जाने कि भन्ने सल्लाह भइरहेका बेला यस्तो विपद् आइलाग्यो ।’​

प्रियान्ससहित मृतकका अन्य आफन्तले आइतबार त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा एन्फाका पदाधिकारीसँग वार्ता गरेका छन् । 

४० जना प्रशिक्षार्थी मध्ये ६ जना मात्रै कसरी पहिरोमा परे भनेर उनीहरूले प्रश्न गरिरहेका छन् ।

एन्फाका पदाधिकारीसँगको वार्तामा मृतकका आफन्तले शवको काजकिरिया, मृतकका आफन्तलाई क्षतिपूर्ति र घटनाको छानबिन गर्नुपर्ने माग गरेको जानकारी गौतमले दिए । 

घटनामा प्रिन्याससहित निजगढका विकल रेग्मी, सर्लाहीका आदित्य बलपाकी, मकवानपुरका अनुप घलान, साइमन योञ्जन र दिवस बानियाँ शनिबारको पहिरोमा परि मृत्यु भएको थियो । ​

इन्द्रसरोवर गाउँपालिका–४, स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा उनीहरूलाई पहिरोले बगाएको थियो ।

सुरक्षित स्थानमा लगिएका ३० प्रशिक्षार्थीलाई भने काठमाडौं ल्याइएको छ ।

यू–१३ उमेर समूहमा प्रियान्ससहित ४० जना प्रशिक्षार्थीले सिस्नेरीस्थित एन्फा एकेडेमीमा फुटबल प्रशिक्षण गरिरहेका थिए । उनीहरू गत जेठदेखि सिस्नेरीमा थिए ।

salt training

कमेन्ट गर्नुहोस्