०६ साउन २०८३, बुधबार
संवेदनहीन सरकार

विपत्तिमा सरकारको लाचारी : प्रधानमन्त्री विदेश शयरमा, जिम्मा पाएकाहरू अक्षम !

असोज १४, २०८१
काठमाडौं
विपत्तिमा सरकारको लाचारी : प्रधानमन्त्री विदेश शयरमा, जिम्मा पाएकाहरू अक्षम !

शनिबार बाढीले घेरेपछि उद्धारको आशमा झण्डै १ घण्टा जस्ताको टहरामाथि बसे पनि कतैबाट केही नभएपछि ५  जना नख्खु खोलाको भेलमा हेलिए ।

शुक्रबार राति झ्याप्ले खोलाको पहिरोमा पुरिएका ३५ यात्रुको शव निकाल्न आइतबार बिहानसम्म कुर्नुपर्‍यो । नख्खु खोला देशको केन्द्रीय प्रशासन सिंहदबारबाट ७ किलोमिटर दूरीमा छ । उपत्यका छिचोल्न २ किलोमिटर बाँकी छँदा ३५ जनाले ज्यान गुमाएको झ्याप्ले खोला पनि सिंहदरबारबाट १५ किलोमिटर हाराहारीमा पर्छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने भन्दै जारी गरेको बुलेटिनलाई बेवास्ता गर्दा देशकै राजधानी र लाइफ लाइन सडक खण्डमा भएको क्षतिको चित्र हो यो । महाशाखाले केही दिन अगाडिदेखि नै भारी वर्षा हुने सम्भावना औंल्याएको थियो । तर, सरकार र मातहतका निकायले आवश्यक पहलकदमी लिन र नागरिकदेखि बस व्यवसायीलाई सचेत गराउन सकेनन् । यसैले जोखिमको जानकारी भएर पनि ठूलो मानवीय क्षति बेहोर्नुपर्‍यो । 

अझै टीठलाग्दो र राज्य कति लाचार छ भन्ने अर्को उदाहरण छ । नख्खुमा उद्धारका लागि लुगा सुकाउने डोरी लिएर र झ्याप्ले खोलामा दुईचारवटा साबेल, गैंती र बेल्चा लिएर प्रहरी पुग्नु संघीय राजधानीको अर्को विडम्बना हो ।

असार २८ गते भारी वर्षा भइरहँदा प्रशासनले आवश्यक सावधानी अपनाउन नसक्दा नारायणगढ–मुग्लिन खण्डमा लेदोसहितको पहिरोले २ बस बगाएको थियो, जहाँ ६५ जना यात्रु त्रिशुलीमा विलीन भएका थिए । जोखिमको पूर्वानुमानबाट सिक्न यो घटना ठूलो शिक्षाको रूपमा रहेको थियो । तर, जोखिमका सम्भावित जिल्ला नै तोकेर भारी वर्षा हुने भन्दै सजग गराएको सूचनालाई सरकार, बस व्यवसायी र नागरिकले बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७९ जनाले ज्यान गुमाएका छन् । देशभर १९२ जनाको ज्यान गएको छ । बागमती प्रदेशका काभ्रे, ललितपुर, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुलीसहितका जिल्लामा सडक, पुल, कृषियोग्य जमिन, आवाससहितका भौतिक संरचनामा पुगेको क्षति अर्बौं रुपैयाँले पनि पार नलाग्ने खालको छ । गन्तव्य नपुगी अलपत्र परेका यात्रुको कथा उस्तै छ । 

महाशाखाको सूचनापछि मुख्यगरी बागमती प्रदेशका जिल्लामा बिहीबारबारै भारी वर्षा शुरू भइसकेको थियो । बिहीबार राति र शुक्रबार दिनभर भारी वर्षा हुँदा आवश्यक सावधानी अपनाउने समय थियो । किनकि शुक्रबार रातिसम्म पनि अविरल वर्षाले ठूलो क्षति गरेको थिएन । एकातिर दशैं आएको फेस्टिभ मुड, अर्कातिर शनिबारको छुट्टीको मनोविज्ञान सरकारका संयन्त्रमा हुँदा पूर्वानुमान हुँदाहुँदै पनि मुलुकले ठूलो क्षति बेहोर्नुपरेको हो । 

नागढुंगा पहिरो

शुक्रबार राति नै नागढुंगामा हजारौं अलपत्र परेको जानकारी गराए पनि नागढुंगा प्रहरीले ३ घण्टासम्म अपडेट नलिएको राजनीतिक विश्लेषक डा. इन्द्रा अधिकारी बताउँछिन् ।  

‘सुरक्षाकर्मीको बार र बिदा भन्ने हुँदैन । तर, शिल्पी थिएटरकर्मीले ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरियो । त्यहीँमाथिको नागढुंगा प्रहरीले सुनेन । रात पर्‍यो भनेर नागरिकका आवाज नसुन्न र सुत्न राज्य तथा यसका संयन्त्रलाई मिल्दैन,’ अधिकारी भन्छिन्, ‘सुरक्षाकर्मीको बार र बिदा हुँदैन, जतिखेर पनि ड्युटी हुन्छ । तर, संगठित हिसाबले नीतिगतरूपमा सरकारका संयन्त्रले काम गरेनन् । छिटो उद्धार गर्न सकेनन् ।’

यही बेला मुलुक कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा थियो । तर, उनले मन्त्री, सचिव र सुरक्षाकर्मीको आकस्मिक बैठक र सर्वदलीय बैठकको कर्मकाण्ड मात्र पूरा गरेका छन् । विपत्तिको क्षतिपछि उद्धार, राहत, आवासका लागि २५ हजार उपलब्ध गराउनेजस्ता सामान्य कर्मकाण्ड पूरा गर्नेबाहेक सरकार हुनुको बोध उनले गराउन सकेका छैनन् । 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नागरिक प्राकृतिक विपत्तिमा पर्दा राज्य गैरजिम्मेवार र लाचार देखिएको बताउँछन् । ‘नेपालको मौसम विज्ञान पहिलेभन्दा विकसित देखियो । तर, त्यसअनुसार राज्य साधन र स्रोतले तम्तयार भएन । बाढीपहिरोले नागरिक चपेटामा पर्नुभन्दा अगाडि र परेपछि राज्य उपस्थित नहुनु गैरजिम्मेवारी र लाचारीको पराकाष्ठा हो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘प्राकृतिक विपत्ति आउँछन्, तर राज्यको तयारी नपुग्दा झन् बढी मानवीय क्षति भोग्नुपरेको छ । तयारी भए पनि केही मान्छे मर्थे होलान्, तर समग्रको एकतिहाइ मान्छे काठमाडौंमै मर्नुले राज्य चुकेको देखाउँछ ।’ 

मुलुकले ठूलो विपत्ति बेहोर्दा देशका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गरिसकेका थिए । तर, तत्काल देश फर्किनुपर्नेमा अझै थप घुमघाम र कार्यक्रम सकाएर आउने उनको अभिव्यक्तिले पीडितलाई आक्रोशित बनाउने काम गरेको छ । 

देशमा ठूलो विपत्ति आएपछि कार्यक्रम छोट्याएर फर्किने अभ्यास विश्वभर छ । तर, प्रधानमन्त्री ओलीले छोट्याएर होइन, सबै कार्यक्रम सकेर फर्किन्छु भन्ने अभिव्यक्ति दिए । 

‘बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्‍याउन मद्दत गरौं । वर्षाले क्षति पुर्‍याउन शुरू गर्नासाथ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल लगायतसँग उद्धारका विषयमा समन्वय गरिएको थियो,’ अमेरिकाबाटै गत शनिबार ओलीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सोही योजनाअनुसार सरकारले देशैभर हजारौं उद्धारकर्मी तैनाथ गरेको छ । मौसमविद्सँग केहीबेरअघि बुझेअनुसार वर्षा पूर्णरूपमा रोकिन भोलि दिउँसोसम्म लाग्नेछ । संयुक्त राष्ट्रसंघको महासभा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारी छ । विपद्का बेला हातेमालो गरेर उद्धारमा सहयोग गरौं ।’

विपदका बेला प्रधानमन्त्री विदेशमा शयर गरेर बस्नु अर्को गैरजिम्मेवारी भएको श्रेष्ठ बताउँछन् । 

‘देशमा यति ठूलो प्राकृतिक विपत्ति र संकट छ । तर, प्रधानमन्त्री काम सकाएर पनि विदेश घुमेर बस्नुभयो । भ्रमण छोट्याएर फर्किने तदारुकता देखाउनुभएन,’ श्रेष्ठले भने, ‘अरू देशका प्रधानमन्त्री र राष्ट्रपति छिट्टै फर्किन्छन्, हाम्रो प्रधानमन्त्रीले काम सकाएर मात्रै फर्किन्छु भनेर सामाजिक सञ्जालमा लेख्नु हेलचेक्राइँ हो ।’

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद्को एउटा आकस्मिक बैठकसमेत राख्न नसकेको भनेर आलोचना भइरहेको छ । समयमा मन्त्रिपरिषद् बैठक बोलाएर प्रभावकारी उद्धार र राहतमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष परिचालनमा सरकार प्रारम्भमै चुकेको छ । 

समन्वय गर्नु भनेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राख्न समेत स्वीकृत दिएनन् । कार्यबाहक प्रधानमन्त्री सिंहले आइतबार पार्टीको कार्यसम्पादन समिति बैठकमा ‘सक्ने जति गरिएको छ’ भनेर निरीहता प्रस्तुत गरेको एक नेता बताउँछन् । 

‘प्रधानमन्त्री अमेरिकामा हुनुहुन्छ । तर, कार्यबाहक प्रधानमन्त्रीले बैठक राख्ने अधिकार पनि पाउनुभएन । पाएको जति जिम्मेवारीमा पनि उहाँ खरो उत्रिनु सक्नुभएन । उहाँले अप्रत्याशित विपत्तिपछि सीमित स्रोत साधनले भ्याएसम्म गरिएकै छ भन्नुले कति निरीहता छ भन्ने देखाउँथ्यो,’ कांग्रेसका ती नेताले भने, ‘विपत्तिको पूर्वानुमान भएर पनि ठूलो मानवीय क्षतिलाई रोक्न सरकार चुकेको छ ।’ 

आइतबार सिंहले राखेको सर्वदलीय बैठकमा समेत दलहरूले मौसम पूर्वानुमान महाशाखाले सचेत गराए पनि सरकारले आवश्यक अग्रसरता नलिएको भन्दै आलोचना गरेका थिए । 

नख्खुमा अलपत्र परेकाको हेलिकोप्टरबाट उद्धार गर्न नसक्नुमा भिजिबिलिटी कारण रहेको भनेका गृहमन्त्री रमेश लेखक पनि उत्तिकै आलोचित बनेका छन् । उनले समेत प्रहरी प्रशासनलाई प्रभावकारी रूपमा परिचालन नगरेको आरोप लागेको छ ।

‘भूकम्प, कोभिड, पटक–पटकका दुर्घटना हाम्रा लागि पाठ हुन्, तर हामीले कहिल्यै चेतेनौं । कहिले सूचनै नहुने, कहिले समन्वय नहुने समस्याले राज्य लाचार देखियो,’ अधिकारीले भनिन्, ‘बाढीपहिरोका लागि सशक्त उद्धार टीम छ । तर, यसको परिचालन नै प्रभावकारी भएन । राति नै बैठक बोलाउनुपर्ने र निर्देशन दिनुपर्ने हो, तर बिहानभरि प्लेनलाई उड्न भिजिबिलिटी पुग्ने हेलिकोप्टरलाई भिजिबिलिटी नहुने गृहमन्त्रीको भनाइ उत्तिकै हास्यास्पद छ ।’

नख्खु र झ्याप्ले खोलामा नागरिक मर्नुपर्ने नियति राज्यविहीनताको संकेत भएको श्रेष्ठ बताउँछन् । 

‘भारी वर्षा हुन्छ भनेपछि गृहमन्त्रीले तयारी बैठक राख्नुपर्थ्यो । तर, पहिले नै कुनै तयारी  गरिएन । नख्खुमा घण्टौंसम्म नागरिकले राज्य गुहार्दा केही भएन । एउटा व्यक्तिले हाम्फालेर नागरिक बचाए, तर प्रहरी रमिते बने । व्यक्ति बचाउन प्रहरी साधनसहित पुग्न नसक्ने यो कस्तो राज्य हो ?,’ श्रेष्ठ भन्छन्, ‘केही ठाउँमा प्रहरीले उद्धार पनि गरेको छ । तर, राज्यले तयारी नगरेर धेरै क्षति भयो । राजधानीछेउकै नागढुंगामुनि नागरिक मर्नुले राज्यको उपस्थिति नभएको देखायो ।’ 

नख्खुको टहराबाट ५ जनालाई बगाएको घटना

असोज ४ मा अमेरिका गएका प्रधानमन्त्री ओलीले १० दिनपछि आफू फर्किएर मात्र बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

अगाडिका सामान्य पहिरो शुक्रबार राति नै पन्छाउने वा यात्रुलाई ओरालेर सुरक्षित ठाउँमा पठाउने काममा पनि सरकारको ध्यान गएन । ३५ जनाको ज्यान गएपछि मात्रै आइतबार बिहानबाट नजिकै रहेको सुरुङबाट केही बसलाई काठमाडौं ल्याइयो । भारी वर्षा भएपछि शनिबार मध्यरातमा अड्किएका बसलाई सुरुङ मार्गबाट पठाएको भए पनि ठूलो मानवीय क्षति टर्ने थियो ।

राजनीतिक विश्लेषक डा. इन्द्रा अधिकारी राज्य जवाफदेही नदेखिँदा र नागरिकले पनि सचेतता नअपनाउँदा पछिल्लो समय बाढी पहिरोले धेरै मानवीय क्षति गरेको बताउँछिन् । 

‘पूर्वानुमान महाशाखाले यसपटक भारी वर्षा हुन्छ भन्दै अलर्ट गराएको थियो । यत्तिसम्म कि रात्रिबस नचलाउनेसम्म भनेको थियो । तर, हाम्रो सरकार, प्रशासन, नागरिक सबै तहबाट यो महत्त्वपूर्ण सूचनालाई पूरै बेवास्ता गर्ने काम भयो,’ अधिकारीले लोकान्तरसँग भनिन्, ‘प्रशासनले निगरानी गरेका भए यो तहको घटना हुने थिएन । समयमा सूचना र उद्धारमा अर्को समस्या पनि हामीले भोग्यौं । यो भनेको मुख्यरूपमा राज्य चुकेको हो । सरकार चुकेपछि सबै चुक्छन् ।’

भूकम्प, कोभिड र ठूला दुर्घटनाबाट नसिक्नु अर्को विडम्बना भएको उनले बताइन् । 

सरकार मात्रै होइन, दल, नागरिक समाज र संस्था पनि सचेतनादेखि उद्धार र राहतसम्म चुकेका छन् । बाढी र पहिरोको विपत्तिपछि उद्धार र राहतमा लाग्ने भने पनि प्रमुख दल चुकेका छन् । आफ्ना दर्जनौं भ्रातृ र शुभेच्छुक संस्था भए पनि पीडितलाई उद्धार, राहत, अलपत्रलाई गन्तव्यसम्म पुर्‍याउने काममा दलहरूले प्रभावकारी काम गर्न सकेका छैनन् । विपक्षीले सरकारलाई गाली गर्ने र सरकारले लाचारी देखाउने विडम्बना छ ।

salt training

कमेन्ट गर्नुहोस्