
देश बाढीपहिरोले आक्रान्त बनेका बेला नेपाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेल विदेश शयरमा रमाइरहेका छन् । उनी व्यक्तिगत कामले बेलायत गएका हुन् ।
जल तथा मौसम विज्ञान विभागले १० गतेदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने भनी गरेको पूर्वानुमानबारे पोखरेल जानकार थिए । तर, पनि उनी प्राधिकरणका सहसचिव वसन्त अधिकारीबाहेक अन्य जिम्मेवार अधिकृतलाई समेत जानकारी नदिई बेलायत उडेको पाइएको छ ।
प्राधिकरणका एक अधिकृतका अनुसार विपद्को मुखमा नेतृत्व नै बाहिर जाँदा राम्रो सन्देश नजाने भन्दै उनीनिकट कर्मचारीले सम्झाउने प्रयास गरेका थिए । तर, पोखरेलले गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीलाई जानकारी गराइसकेको बताए ।
‘विपद्को मुखैमा मेरो बेलायत भ्रमण विवादमा पर्छ भन्ने पनि मलाई थाहा छ, तर जानैपर्ने भएकाले जान लागेका हो,’ पोखरेलले भनाइ उद्धृत गर्दै एक अधिकृतले लोकान्तरसँग भने, ‘उहाँले व्यक्तिले भन्दा पनि सिस्टमले काम गर्ने भन्दै टार्नुभयो ।’
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा पोखरेलले प्राधिकरणमा कसैलाई टेर्दैनन् । उनले बेलायत उड्नुअघि बिदा लिने बेलामा गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीलाई समेत आफ्नो बेलायत भ्रमणका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको भनेर स्वीकृतिका लागि दबाब सिर्जना गरेका थिए ।
मोरङको विराटनगर महानगरपालिका– २ का पोखरेललाई ओलीले दोस्रोेपटक प्रधानमन्त्री भएका बेला २०७६ मंसिर २६ मा प्राधिकरणको सीईओमा नियुक्त गरेका थिए । प्राधिकरणका अनुसार उनी वर्षमा कम्तीमा पनि ६ देखि ७ वटा सेमिनार एवं गोष्ठीमा भाग लिन नेपालबाहिरै हुन्छन् ।
जाजरकोटमा गत वर्ष कात्तिक १७ गते गएको विनाशकारी भूकम्पका बेला पनि पोखरेल विदेशमै थिए । ‘भूकम्पको पूर्वानुमान नहुने भएकाले उहाँ अघिल्लै दिन १६ कात्तिकमा विदेश उड्नुभयो, अस्ति शनिबारको घटना भने थाहा हुँदाहुँदै पनि विदेश उड्नु राम्रो होइन,’ प्राधिकरणका एक अधिकृतले भने, ‘विपद्लाई लिएर धेरै विदेशी दातृनिकायहरू सहयोग गर्न तत्पर हुने र पोखरेल आफैंले पनि सेमिनारमा बेलाउन आग्रह गर्ने गरेको देखिन्छ ।’
ती अधिकृतका अनुसार अन्य समयमा पनि पोखरेल कार्यालय आएपनि केहीबेरमै बाहिर निस्किने गरेका छन् । उनी सकभर कार्यालयमा लामो समय बस्दैनन् । मिटिङका नाममा विदेशी दातृ निकायका पदाधिकारीसँग उनको लामै उठबस हुन्छ ।
प्राधिकरणमा बसेको कार्यकारी समितिको बैठकमा गृहमन्त्री लेखकले सीईओ पोखरेल मौसम पूर्वानुमानबारे जान्दाजान्दै विदेश नगएको भए राम्रो हुन्थ्यो भनेका थिए ।
‘यतिबेला प्रधानमन्त्रीज्यू पनि बाहिर हुनुहुन्छ । प्रहरी प्रमुख पनि छैनन् । प्राधिकरणकै सीईओ पनि छैनन्,’ लेखकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारमा रहेका हामीहरूले नै उद्धार, राहत र पुनःस्थापनामा आ–आफ्नो ठाउँबाट सक्दो पहल गरौं ।’
शुक्रबार र शनिबारको झरीका कारण गएको बाढीपहिरोमा परी २१७ जनाको मृत्यु भइसकेको छ । २८ जना बेपत्ता छन् भने १४३ जना घाइते भएका छन् ।
तीन दिनपछि मात्रै तथ्यांक बटुल्दै प्राधिकरण
प्रधानमन्त्री ओलीले स्वदेश फर्किएपछि मंगलबार उपलब्ध सबै मन्त्रीहरूलाई डाकेका छन् । बाढीपहिरोका कारण अतिप्रभावित जिल्लाका स्थानीय तह (पालिकाहरू)को नाम संकलनको काम भने भर्खरै शुरू भएको छ ।
गृहमन्त्री लेखकले अति प्रभावित पालिकाको नाम संकलन गर्न निर्देशन दिएपछि मंगलबार बिहान साढे ११ बजेदेखि कर्मचारीहरू भटाभट जिल्लाका सीडीओहरूलाई फोन गरेर अति प्रभावित पालिकाको नाम संकलनमा जुटेका हुन् ।
तर, जिल्लाका सीडीओहरूले अति प्रभावितको मापदण्ड के हो भनेर प्राधिकरणका कर्मचारीलाई प्रतिप्रश्न गरेको पाइएको छ । ‘हामीलाई अति प्रभावित पालिकाको लिस्ट बनाउन गृहबाट निर्देशन आएकाले तथ्यांक संकलनमा लागेका हौं,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘मापदण्ड नहुँदा छुट्ट्याउन गाह्रो भएको छ ।’