
विगतको तुलनामा संसद् बैठकमा उपस्थित हुने क्रम केही बढे पनि संसद्प्रति अनुत्तरदायी हुने प्रवृत्ति नरोकिएको हाजिरी विवरणले देखाएको छ ।
संसद्को बजेट अधिवेशनको हाजिरी विवरण विश्लेषण गर्दा राजनीतिक दलका शीर्ष र प्रभावशाली नेताहरूले संसद् बैठकलाई महत्त्व नदिएको पाइएको हो ।
२०८१ वैशाख २८ गते शुरू भई भदौ ३१ गते सम्पन्न बजेट अधिवेशनमा ६० बैठक बसेका थिए । अधिवेशन चलेको १३० दिनमध्ये ५३ दिनमा ५६ पटक तथा संयुक्त सदनको बैठक २ पटक बसेको थियो । जेठ ४ र भदौ ३० गतेका बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
सूचना टाँसेर स्थगित भएका समेत गरी बजेट अधिवेशनमा प्रतिनिधि सभाका ६० बैठक गणना गरी सांसदहरूलाई सोही अनुसारको भत्ता दिइएको छ । संसद्को अधिवेशन नभएको महिनामा सांसदहरूले मासिक तलब मात्र पाउँछन् ।
तर, बैठक बसेको दिनमा बैठक भत्ता र ट्याक्सी भाडा बापतको रकम दिइने गरेको संसद् सचिवालयले जनाएको छ । १४ जना सांसद बजेट अधिवेशनका ६० मध्ये सबै बैठकमा उपस्थित भएका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सांसद उमरावती देवी, कृष्णगोपाल श्रेष्ठ, चन्द्रबहादुर विश्वकर्मा, प्रतिमा गौतम, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र सांसद माधव सापकोटा सबै बैठकमा उपस्थित भएका छन् ।
नेमकिपा सांसद प्रेम सुवाल तथा सांसदहरू मैनाकुमारी कार्की, रणकुमारी बलम्पाखी मगर, शान्ति विक, शोभा ज्ञवाली र ज्ञानु बस्नेत सुवेदी पनि सबै बैठकमा उपस्थित भएका छन् ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा बैठक बसेका सबै दिन उपस्थित भएपनि एकै दिन बसेका दुई बैठकमा अनुपस्थित देखिएका छन् ।
संसद्का बैठकमा नियमितजसो उपस्थित हुने खतिवडाले अधिवेशन अन्त्य हुने दिन भदौ ३१ गते सबै बैठकमा उपस्थित हुने सांसदको विवरण सार्वजनिक गर्न माग गरेका थिए । एमालेका रघुजी पन्त, रास्वपाका मनिष झालगायत सांसद ५९ बैठकमा उपस्थित भएका छन् ।
अधिवेशन अन्त्यका दिन लगातार १० बैठकमा अनुपस्थित हुने सांसदले दिएको अनुपस्थितिको सूचनाबारे जानकारी गराउने गरिएको छ ।

जो ५० प्रतिशतभन्दा कम उपस्थित भए
प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ६० मध्ये १७ बैठकमा मात्र उपस्थित भएका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि प्रतिनिधि सभाका बैठकमा ५० प्रतिशतभन्दा कम उपस्थित भएको संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा देखिएको छ ।
गगन २६ र विश्वप्रकाश २७ बैठकमा उपस्थित भएका छन् । हाल उपप्रधान एवं शहरी विकास मन्त्री रहेका प्रकाशमान सिंह १२ वटा बैठकमा मात्र उपस्थित भएका छन् । अधिवेशन चलेको समयमा उनी उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए ।
हाल परराष्ट्रमन्त्री रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा २६ बैठकमा उपस्थित भएकी छिन् । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर २३ बैठकमा मात्र उपस्थित भएका छन् । उनी विगत अधिवेशनमा पनि कम उपस्थित हुने सांसद हुन् । कांग्रेसका विनोद चौधरी र राजु थापा २६ बैठकमा उपस्थित छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १४ बैठकमा उपस्थित भएका छन् । असार २८ गतेसम्म उनी प्रधानमन्त्री थिए । असार ३१ पछि उनी प्रतिनिधि सभामा विपक्षी दलको नेता छन् ।
नेकपा एमालेका बलराम अधिकारी २८ र कालुराम राई २९ बैठकमा उपस्थित भएका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत २२ बैठकमा मात्र उपस्थित भएका छन् ।
नेकपा एसका धनबहादुर बुढा २५, जसपा नेपालका प्रदीप यादव १९ र स्वतन्त्र सांसद योगेन्द्र मण्डल २२ बैठकमा उपस्थित भएका छन् ।
अधिकारी र यादव सरकारमा मन्त्री छन् । संसद् बैठक सञ्चालनका लागि एकजना मन्त्री उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था भएपनि मन्त्रीहरू बैठकमा हाजिर हुनैपर्ने बाध्यकारी व्यवस्था छैन ।

शीर्ष नेतामध्ये को कति उपस्थित ?
प्रतिनिधि सभाको पहिलो दल कांग्रेसका सभापति देउवा १७ बैठकमा उपस्थित छन् । जेठ महिनामा २० बैठक बसेकोमा देउवा ८ बैठकमा उपस्थित भएका थिए । असारमा २० बैठक बसेकोमा ४, साउनमा ९ र भदौमा १० वटा बैठक बसेकोमा २/२ बैठकमा मात्र देउवा उपस्थित भए ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ६० मध्ये ३४ बैठकमा उपस्थित रहेको संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
जेठ र असारमा २०–२० बैठक बसेकोमा उनी १३–१३ बैठकमा मात्र उपस्थित थिए । ९ र १० बैठक बसेको साउन र भदौमा ओली क्रमशः ३ र ४ बैठकमा मात्र उपस्थित भएका थिए । ओलीले असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएका थिए ।
प्रतिनिधि सभाको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६० मध्ये १४ बैठकमा उपस्थित भएका छन् । प्रचण्ड असार २८ गतेसम्म प्रधानमन्त्री थिए । जेठ महिनामा ८, असार र भदौमा समान २ तथा वैशाख र साउन महिनाको १–१ बैठकमा प्रचण्ड उपस्थित थिए ।
प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ३२ बैठकमा उपस्थित छन् । सो संख्या ५० प्रतिशतभन्दा केही बढी हो । जेठमा २० मध्ये १०, असारमा २० मध्ये ८, साउनमा सबै ९ तथा भदौ महिनामा १० मध्ये ४ बैठकमा उनी उपस्थित भएका छन् । लामिछाने असार २८ गतेसम्म उपप्रधान एवं गृहमन्त्री थिए ।
सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसदका बैठक समेत अवरुद्ध गरेको थियो । उनीसहित सबै शीर्ष नेता वैशाखमा १ दिन बसेको बैठकमा उपस्थित थिए ।

संसद्को पाँचौ ठूलो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ३६ बैठकमा उपस्थित छन् । उनी जेठमा १३, असारमा ९, साउनमा ८ र भदौ महिनामा ५ बैठकमा उपस्थित थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५२ बैठकमा उपस्थित भएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव ३३, लोसपा अध्यक्ष महन्थ ठाकुर ५२, जसपा नेपालका अध्यक्ष अशोक राई ५३, जनमत पार्टीका अध्यक्ष सीके राउत २२ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ५४ बैठकमा उपस्थित भएका छन् ।
सबैमा उपस्थित हुने भन्छन्- 'उपस्थितिलाई मुख्य कर्तव्य ठान्यौं'
नेमकिपा सांसद प्रेम सुवालले जनताको कुरा राख्न आफू प्रतिनिधि सभाको बैठकमा लगातार उपस्थित भएको बताए ।
‘जनताको कुरा संसद्मा उठाउन निर्वाचित भएपछि पहिलो प्राथमिकता संसद्मा उपस्थित भएर कुरा राख्ने हो, त्यसैअनुसार गर्यौं,’ सुवालले लोकान्तरसँग भने, ‘संसद् बैठक नभएको दिन मात्र निर्वाचन क्षेत्र र पार्टीको कार्यक्रममा सहभागी भएँ ।’

सांसदहरू अनुपस्थित हुँदा कोरम नपुगेर बैठक स्थगित गर्नुपर्ने समस्या बारम्बार आइरहेको हुन्छ । हाजिर गरेर टाप कस्ने समस्या सांसदहरूमा देखिँदा कतिपय प्रस्ताव निर्णयार्थ पेश गर्न नसकिएका उदाहरण छन् ।
कांग्रेस सांसद प्रतिमा गौतमले संसद्को कामलाई प्राथमिकता दिने गरेको बताइन् ।
‘हुन त म काठमाडौंको सांसद भएकाले जिल्ला जानुपर्ने समस्या छैन । तर, पनि संसद् छाडेर अरू कार्यक्रममा गइनँ,’ गौतमले लोकान्तरसँग भनिन्, ‘मुख्य जिम्मेवारी संसद् भएकाले नियमित हाजिर हुनुलाई आफ्नो दायित्वको रूपमा लिएको छु ।’
'जो १ दिन पनि उपस्थित भएनन्'
लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएका १४ जना सांसदले दिएको अनुपस्थितिको सूचना ३१ गतेको बैठकले अनुमोदन गरेको थियो । कांग्रेस सांसद अम्बिका बस्नेत अधिवेशनमा एकदिन पनि उपस्थित भइनन् । उपचारमा रहेको भन्दै उनले ५६ बैठकमा अनुपस्थितिको सूचना दिएकी थिइन् । यसअघिको अधिवेशनमा उनी सबै दिनका बैठकमा उपस्थित भएकी थिइन् ।
सहकारी ठगीमा फरार अभियुक्त रहेकी राप्रपा सांसद गीता बस्नेत पनि अधिवेशनमा एक दिनपनि उपस्थित भइनन् । उनले स्वास्थ्य उपचारमा रहेको भन्दै ४७ बैठकमा अनुपस्थितिको सूचना दिएकी थिइन् ।
छिपछिपे सहकारीको पैसा दुरुपयोग गरेकोमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
राप्रपाकै दीपक बोहोरा पनि उपचारमा रहेको भन्दै अधिवेशनमा एकदिन पनि उपस्थित भएनन् । अस्वस्थ रहेका बोहोरा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्ने दिन, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र विश्वासको मतको मतदानमा पनि उपस्थित भएनन् ।
‘पोस्ट कोभिड सिम्टम’ले घाँटीमा समस्या भएको भन्दै यसअघिको हिउँदे अधिवेशनमा उनको तर्फबाट सांसद ज्ञानेन्द्र शाहीले संसदमा बोलेका थिए ।
उपचारमा रहेका नेकपा एमालेका सांसद वसन्तकुमार नेम्वाङ पनि यो अधिवेशनमा उपस्थित हुन सकेनन् । जिल्लामा गएको बेला मस्तिष्कघात भएका नेम्वाङले अहिले पनि उपचार गराइरहेका छन् ।
कांग्रेस सांसद मनोरमा शेरचन समेत यो अधिवेशनमा एक दिन पनि उपस्थित भइनन् । उनी पनि लामो समयदेखि उपचाररत छिन् ।
नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कारण निलम्बित अवस्थामा छन् ।
निलम्बनमा परेका बाहेकका सांसदले अनुपस्थितिको सूचना अनुमोदन भएसँगै मासिक तलब पाएका छन् ।
हेर्नुहोस्, हाजिरी विवरण :










