![घरमा पसेको हिलो सोहोर्दै इमाडोलबासीको प्रश्न– यस्तो बेला कहाँ छन् जनप्रतिनिधि ? [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/imadol_badhi_5_OCeIHADVTZ.jpg)
प्रविन्द्रलाल प्रधान मङ्गलवार दिउँसो घरअगाडि ढलेको पर्खाल फोडिरहेका थिए । करिब तीन दिन लगातार वर्षापछि आएको बाढीको वितण्डाले उनको घरलाई पनि छोडेन । शुक्रवार त उनको घरको पर्खाल नै भत्काइदियो । ६९ वर्षीय वृद्ध प्रधानले आफू तीन-चार दिनदेखि घरबाहिरको सफाइमा लागेको बताइरहेका थिए । उनलाई उनकी श्रीमतीले पनि साथ दिइरहेकी थिइन् । श्रीमती भने भित्रको हिलो सोहाेर्नमा व्यस्त थिइन् ।
प्रस्तुत दृश्य ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ स्थित इमाडोलको हो । ललितपुरकै गोदावरीबाट उत्तरपट्टी बग्ने कर्मनाशा खोलामा आएको बाढीले शुक्रवार र शनिवार इमाडोललाई खुला बगरजस्तै बनाइदियो । त्यहाँका भित्री सडकहरू मंगलवारसम्म पनि हिँड्न लायक बनेका छैनन् । स्थानीयहरू आ–आफ्नो घरभित्रको हिलो बाहिर निकाल्नमा व्यस्त देखिन्छन् ।
प्रधानले २०७२ सालमा आफू जागिरबाट अवकाश भएपछि इमाडोलको शिवटोलमा जमिन खरिद गरेका थिए । र, उनकी श्रीमती अन्नपूर्ण प्रधान मल्ल ‘रिटायर्ड’ भएपछि २०७५ सालमा घर बनाउन शुरू गरेका थिए ।
आफ्नो जिन्दगीभरको कमाइ लगाएर जोडेको घरमा ‘रिटायर्ड’ जिन्दगी बिताउने दुवै बूढाबूढीले सोच बनाएका थिए । जुन अहिले आएर निकै गलत निर्णय साबित भएको अन्नपूर्णले बताइन् ।
‘बूढा रिटायर्ड हुँदा यो जमिन खरिद गरेका थियौँ । र म रिटायर्ड हुँदा घर बनाउन शुरू गरेका थियौँ । करिब चार वर्ष लाग्यो घर बनाउन । बल्ल बनाउने सबै काम सकाएका थियौँ । अब ढुक्कसँग रिटायर्ड जिन्दगी बिताउँला भन्ने कल्पना थियो । अहिले लाग्छ– यो ठाउँमा घर बनाउने निर्णय गलत साबित भयो ।’
प्रधानले इमाडोलको शिवटोलमा १३ लाख रुपैयाँ आनाको दरमा पौने चार आना जमिन खरिद गरेका थिए । साढे दुई तलाको घरको भुइँतलामा किराना पसलका लागि भाडामा दिएका थिए । प्रधानको पहिलो तलामा शनिवार छिरेको लेदोसहितको पानी मंगलवारसम्म निकाल्न सकिएको छैन । घरबाहिरको गेटका दुवै पर्खाल भत्किसकेका छन् ।
अहिले सो घरमा कसरी बस्ने भन्ने चिन्ताले उनीहरूलाई सताएको छ । भोलि घर बेच्नु पर्यो भने बिक्ने अवस्था नहुने उनीहरूले बुझेका छन् ।
इमाडोलबासीले यसअघि ‘कर्मनाशा’ले दिएको यस्तो भयावह दुःख देखेका थिएनन् । स्थानीयहरूले ठूल–ठूला रुख, घर, गाई, बाख्रा, लुगा–कपडालगायत सबथोक बगाएर ल्याएको भयावह दृश्यसमेत उनीहरू सामुन्ने देखे । मंगलवार बाढी आएको चौथो दिन हो । अहिलेसम्म इमाडोलका बाटाहरू हिलाम्मे नै छन् ।
एक वर्षदेखि इमाडोल क्षेत्रमा भाडामा बस्दै आएकी मुना श्रेष्ठको हालत पनि उस्तै छ । चार दिनसम्म पनि कोठाभित्रको हिलो बाहिर निकाल्न नसकेको उनी सुनाउँछिन् । मुनाको पसल पनि छ । त्यो पनि हिलाम्मे भएको छ । मंगलवार उनी पसलका सामान हटाएर हिलो सफा गर्नमा लागेकी थिइन् ।

पहिलो तलामा किराना पसलसहित भाडामा बस्दै आएकी थिइन् मुना । शुक्रवार दिउँसो ३ बजेदेखि पसलभित्र पानी पसेको थियो । ‘पानी पसिरहेको दृश्य देखेँ । झ्यालबाट हेर्दै रोएर बस्नुबाहेक मसँग अन्य विकल्प थिएन,’ उनले भनिन्, ‘भाग्यलाई दोष दिने कि कसलाई दिने । त्यो दृश्यले मलाई निकै नै भावुक बनायो । बूढा र छोरीले मलाई दोस्रो तलासम्म लगे । त्यसपछि तल आउन पनि दिएनन् । यसले गर्दा झ्यालबाट हेरेर बस्नुपरेको हो ।’
श्रीमानले शनिवार बिहानसम्म जसोतसो पानीमा डुबेर पसलको आधा सामान माथिल्लो तलासम्म पुर्याएको उनले बताइन् ।
‘पलमा पहिले पनि कहिलेकाहीँ पानी पसेको थियो । तर, यसरी पूरै सामान नै डुबाउने गरी आएको थिएन । पूरै सामान बर्बाद भएका छन् । स्नातक छैटौँ सेमेस्टरमा आईटी पढिरहेकी छोरीका भिजेका नोट्स काम नलाग्ने भएका छन्,’ उनले भनिन् ।
यसरी डुबानमा परिरहँदा कुनै जनप्रतिनिधि नआएको गुनासो इमाडोलका बासिन्दाले गरेका छन् । विपदको समयमा स्थानीय सरकारले कुनै चासो नदेखाएको वडा नम्बर १ मै बस्दै आएका रमेश तण्डुकारले बताए । तीन दिनसम्म कुनैपनि स्थानीय सरकारका प्रतिनिधि नदेखिएको उनको भनाइ छ ।
‘रातभरि नसुतेरै भएपनि घरमा पसेको पानी बाहिर निकाल्दै गयौँ । भोलिपल्ट झनै बढी पानी पस्यो । यसले गर्दा हाम्रो झनै बिजोक भयो,’ उनले थपे, ‘हेर्नका लागि भएपनि प्रतिनिधि आउनुपर्ने हो । कसैलाई वास्ता छैन । कोही पनि जनप्रतिनिधि वा सरकारी निकाय अहिलेसम्म आएका छैनन् ।’
वडा नम्बर १ मा खोलाभन्दा १० मिटरमा घरहरू बनाइएका छन् । १० मिटर छोडेर बनेका तीन घरपछि शिव मन्दिर छ । शनिवार आएको बाढीको तीन दिनपछि केही व्यक्ति उक्त मन्दिरको हिलो सोहाेर्दै गरेको देखिए ।
अहिलेसम्म कुनै पनि स्थानीय सरकार हेर्नसमेत नआएको शिव मन्दिरका पुजारी योगेन्द्रराज न्यौपाने पनि बताए । उनका अनुसार शनिवार बाढीले करिब पूर्ण रूपमा डुबाएको मन्दिरमा मंगलवारदेखि स्थानीयहरू सफाइमा लगिरहेका हुन् ।

‘बाढीले यत्रो बितण्डा मच्चायो, स्थानीय जनप्रतिनिधि अहिलेसम्म देखिएका छैनन् । नगरपालिकामा राखिएका जेसीबी र स्काभेटर कहिले काम लाग्छन् ?’ उनले प्रश्न गरे, ‘स्थानीय सरकारले थोरै भए पनि हेर्नुपर्यो । अहिले बाटाहरूबाट हिलो हटाइदिए मात्रै पुग्थ्यो ।’
अहिले आएको बाढीबाट चेतेर अब उपत्यकामा दीर्घकालीन समाधान खोज्नुपर्ने न्यौपानेले बताए । हिलो जमेका कारण गाडीमात्र होइन पैदलयात्रीसमेत आवतजावत गर्न कठिनाइ भएको उनको भनाइ छ ।

‘अहिलेसम्म पनि इमाडोलमा मानिस हिड्डुल गर्न सकसको अवस्था छ । बाटोभरि हिलो मात्रै देख्न छ,’ उनले थपे, ‘यसले गर्दा सर्वसाधारणको जनजीवन कष्टकर छ ।’
हात्तीवनबाट ठूल–ठूला रुखहरू बगाएर आएका कारण खोला नै बन्द भएको यसले गर्दा पानी बढेको शिव मन्दिर समितिका कार्यसमिति सदस्य विष्णुप्रसाद तिम्सिनाले बताए । ‘यसले पानीको निकासा हुन नसकेर अधिकांश बस्ती प्रभावित भएका हुन्,’ उनले थपे ।
हेरौं भिडियो सामग्रीः