
अमेरिकी सेनाले इरान समर्थित हुथी संगठनसँग जोडिएका यमनस्थित १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ हवाई जहाज र युद्धपोतबाट आक्रमण गरेको जनाएको छ ।
मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको अनुगमन गर्ने सेन्ट्रल कमाण्डले हतियार प्रणाली, उनीहरूको अड्डा र हुथीसँग सम्बन्धित अन्य लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ।
राजधानी सानालगायत यमनको मुख्य शहरमा विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ ।
नोभेम्बरदेखि हालसम्म हुथी विद्रोहीहरूले रेड सागरमा झण्डै १०० जहाजमा आक्रमण गरेका छन् । विद्रोही समूहले गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ।
सोमबार हुथी समूहले यमनमा अमेरिकी निर्मित एमक्यू-९ रिपर ड्रोन खसालेको बताएको थियो । अमेरिकी सेनाले मानवरहित विमान हराएको स्वीकार गरेको थियो ।