
यतिबेला इजरायल र इरानबीचको युद्धले विश्वको ध्यान तानेको छ ।
यो युद्ध केवल दुई देशबीचको युद्ध मात्र होइन, यसले पश्चिम एसियाका अरू देशहरूलाई पनि प्रत्यक्ष प्रभावित पारिरहेको छ ।
यस युद्धको शुरूआत हमासको इजरायलमाथि आक्रमणसँगै भएको हो, तर अहिले यो युद्धमा इरान प्रत्यक्ष संलग्न भएको छ ।
युद्धकोशुरूआत र पृष्ठभूमि
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि ठूलो आक्रमण गर्यो ।
त्यो आक्रमणपछि इजरायलले गाजामा प्रत्याक्रमण गर्यो, जसको परिणामस्वरूप हजारौं नागरिक मारिए ।
हमासको आक्रमणसँगै हिजबुल्लाह र हुथीजस्ता इरानका समर्थक समूहहरू इजरायलमाथि आक्रमण गर्न सक्रिय भए । इरानले पनि इजरायलमाथि प्रत्यक्ष मिसाइल आक्रमण गर्यो ।
सन् २०२४ को अक्टोबर १ मा इरानले इजरायलमाथि ठूलो मिसाइल आक्रमण गर्यो ।
इरानको आईआरजीसी (इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स) ले १८० भन्दा बढी ब्यालिस्टिक मिसाइल इजरायलतर्फ प्रक्षेपण गरेको थियो ।
इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले नै यस आक्रमणको आदेश दिएका थिए । इरानी सैन्य अधिकारीहरूले इजरायलको मुख्य सैन्य क्षेत्रमा ठूलो क्षति पुगेको दाबी गरेका छन् ।
तर, इजरायलले भने आफ्नो एयर डिफेन्स सिस्टममार्फत अधिकांश मिसाइललाई निस्तेज गर्न सफल भएको दाबी गरेको छ ।
इजरायलको 'आइरन डोम', 'डेभिड स्लिङ' र एरो प्रणालीहरूले यो आक्रमणलाई प्रभावकारीरूपमा रोक्न सहयोग गरेका थिए । यद्यपि केही मिसाइलहरू इजरायलको मुख्य सैन्य अड्डा नेगेभ मरुभूमिमा खसेर क्षति पुर्याएका थिए ।
हमास,हिजबुल्लाहर हुथीको भूमिका
इरानले हमास, हिजबुल्लाह र हुथीजस्ता समूहलाई आफ्नो प्रतिरोधको धुरी (एक्सिस अफ रेजिस्टेन्स)का रूपमा समर्थन गर्दै आएको छ ।
यी समूहहरूले इजरायलमाथि लगातार आक्रमण गर्दै आएका छन् । हमासको मुख्य क्षेत्र गाजा हो भने हिजबुल्लाहले दक्षिण लेबननबाट इजरायलमाथि आक्रमण गर्दै आएको छ । यता हुथी समूहले यमनबाट 'रेड सी'मा रहेका व्यापारिक जहाजलाई आक्रमण गर्दै व्यापारमा ठूलो नोक्सान पुर्याएको छ ।
यी समूहहरू इरानको आर्थिक र सैन्य सहयोगमा इजरायलमाथि आक्रमण गरिरहेका छन् ।
यसले पश्चिम एसियामा पहिलेदेखि नै विद्यमान तनावलाई अझै उग्र बनाइरहेको छ । विशेषगरी हिजबुल्लाहसँगको इजरायलको संघर्ष पछिल्लो केही महिनादेखि खुला रूपमा जारी छ ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
इरानको आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले युद्धको स्थितिलाई शान्त बनाउन पहल गरेको छ । संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई तत्काल युद्ध रोक्न र शान्ति वार्तामा बस्न आग्रह गरेको छ ।
तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई ठूलो गल्ती गरेको आरोप लगाउँदै कठोर प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो युद्धको क्रममा निर्दोष नागरिकहरूको ज्यान गुम्दै गइरहेको भन्दै यसको निन्दा गरेका छन् ।
इजरायलको प्रतिरक्षा प्रणाली
इजरायलको प्रतिरक्षा प्रणाली संसारमै उत्कृष्ट मानिन्छ । आइरन डोम, डेभिड स्लिङ र एरो यसका प्रमुख तीन प्रणालीहरू हुन् । आयरन डोमले छोटो दूरीका मिसाइलहरूलाई रोकेर इजरायलको आकाशलाई सुरक्षित राख्छ । यसको पहुँच करिब ७० किलोमिटरको दूरीसम्म छ ।
डेभिड स्लिङले मध्य र लामो दूरीका मिसाइलहरूलाई रोक्ने गर्छ । तर, इरानबाट आक्रमण हुने ब्यालिस्टिक मिसाइलहरूका लागि इजरायलले एरो प्रणाली प्रयोग गर्छ । यस प्रणालीले अन्तरिक्षबाट आउने मिसाइललाई पनि पत्ता लगाएर निस्तेज गर्न सक्छ ।
तर, यो प्रतिरक्षा प्रणाली सञ्चालन गर्न ठूलो आर्थिक भार पर्छ ।
आइरन डोमले प्रक्षेपण गर्ने एउटा 'तामिर मिसाइल' को लागत ५० हजार डलर पर्छ भने डेभिड स्लिङको एउटा मिसाइलको लागत १ मिलियन डलरभन्दा बढी हुन्छ । एरो प्रणालीका मिसाइलहरूको लागत झन् महंगो छ । एकैदिनको आक्रमणमा इजरायलले २०० मिलियन डलरभन्दा बढी खर्च गरेको थियो ।
इरानको सैन्य क्षमता
इरानले पछिल्लो केही वर्षमा अत्याधुनिक हतियारहरू विकास गर्दै आएको छ । सन् २०२३ मा इरानले 'फतेह' नामक हाइपरसोनिक ब्यालिस्टिक मिसाइलको विकास गर्यो ।
यो मिसाइलको गति ध्वनिभन्दा १५ गुणा बढी छ र यसले इजरायललाई केही मिनेटमै हमला गर्न सक्छ । इरानसँग 'शाहब-३' नामक लामो दूरीका मिसाइलहरू पनि छन्, जसको पहुँच २ हजार किलोमिटरसम्म छ ।
अर्कोतर्फ, इरानको सैन्य संरचना इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सद्वारा चलाइन्छ, जुन परम्परागत सैन्य संरचनाभन्दा भिन्न र महत्त्वपूर्ण छ । इरानसँग टी- ७२ र जुल्फिकर जस्ता ट्यांक छन्, जसले आक्रमण र प्रतिरक्षाका दुवै गर्न सक्छन् ।
इरानसँग पुरानै भएपनि शक्तिशाली एफ-४ फ्यान्टम र एफ-५ फ्रीडम फाइटरजस्ता जेट छन् । इरानले आफ्नै देशमा युद्धपोत विमानहरू पनि बनाइरहेको छ ।
इजरायलले औपचारिक रूपमा आफ्नो आणविक कार्यक्रमको पुष्टि नगरे पनि यससँग ८० देखि १०० सम्म आणविक हतियार रहेको अनुमान विश्व समुदायले गरेको छ । इरानले आफूसँग आणविक शक्ति भएपनि यसलाई ऊर्जा उत्पादनको उद्देश्यमा प्रयोग गरिएको दाबी गर्दै आएको छ ।
इरान र इजरायलबीचको यो युद्धले पश्चिम एसियाको स्थिरतालाई गम्भीर खतरामा पार्न सक्छ । यदि दुवै पक्षले युद्धलाई निरन्तरता दिए भने यो क्षेत्रीय युद्धमा परिणत हुने सम्भावना छ ।
साउदी अरेबिया र अन्य पश्चिम एसियाका देशहरू पनि यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुन सक्छन् । इरान र साउदी अरब दुवैले एक अर्कालाई दुश्मन शक्ति मान्ने गर्छन् ।