०९ असार २०८३, मंगलबार
दलहरूको दशैं

विपत्तिका बेला दशैं– दलहरूको ध्यान राहत तथा पुन:स्थापनामा, कसले के गर्दैछन् ?

असोज २४, २०८१
काठमाडौं
विपत्तिका बेला दशैं– दलहरूको ध्यान राहत तथा पुन:स्थापनामा, कसले के गर्दैछन् ?

विपत्तिका बीच यसपटकको दशैंमा दलहरूले पीडितको पक्षमा काम गर्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् । सामान्यतया चुनावको बेलामा मात्र गाउँघर सम्झिने क्रमलाई तोड्दै बाढीपहिरोपीडितलाई प्राथमिकता राखेर काम गर्ने प्रमुख दलहरूको भनाइ छ ।

सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेदेखि विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत पीडितकेन्द्रित भएर उद्धार/राहतमा जुट्ने तयारीमा लागेका हुन् । 

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा नागरिकहरू विपत्तिमा रहेकाले उत्ताउलो ढंगले दशैं नमान्ने बताउँछन् । ‘दशैं नेपालीहरूको महान् पर्व हो । तर, यसपटक दशैंमा पनि बाढी र पहिरोको विपत्ति हामीले सामना गर्नुपरेको छ । तत्कालीन उद्धारपछि राहतको काम सकिएको छ,’ उनले लोकान्तरसँग भने, ‘अब न्यायोचित र पर्याप्त हुने गरी दशैंमा बाढीपहिरो र डुबानपीडितलाई राहत संकलन गर्ने, स्थानीय तहको समन्वयमा वितरण गर्नेगरी पार्टीले निर्देशन नै दिएका छन् ।’ 

पार्टीका केन्द्रीय नेता, प्रदेश र जिल्ला तहका नेताले पनि सक्दो सहयोग एवं सहजीकरण गर्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको उनले बताए ।

‘सिंगो पार्टीलाई पीडितको पक्षमा काम गर्नेगरी उतार्ने निर्णय गरिसकेका छौं । जिल्ला सभापतिले आवश्यक समन्वय र साझेदारी गरेर काम गर्नुहुन्छ । धेरै नेता/कार्यकर्ता प्रभावित क्षेत्रमा उद्धार सामग्री र राहत लिएर पुगिरहनुभएको छ,’ विश्वकर्माले भने, ‘यो बीचमा पार्टी अभियान र दशैंपछिको चियापान पनि स्थगित गर्दै विपत्तिमा रहेका नागरिकलाई कसरी सहयोग गर्न सकिन्छ भनेर पार्टी संयन्त्र परिचालन गरिरहेका छौं ।’ 

बागमती प्रदेशमा बाढी र पहिरोले वितण्डा मच्चाएको भन्दै तत्कालीन उद्धार, राहत र दीर्घकालीन आवास र पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएको पनि उनी बताउँछन् । 

‘विपत्तिमा सरकारको काम प्रभावकारी नभएको भनेर गुनासो आएपछि हाम्रो पार्टीले औपचारिक रूपमा सरकारको ध्यानकर्षण गराएको छ,’ विश्वकर्माले भने, ‘अब घरबार बाढीपहिरोले बगाएकाको हकमा दीर्घकालीन हिसाबले आवास निर्माण गर्ने, बाटो, पुलपुलेसा, बगाएका खेतबारीको विषयमा कसरी राज्यले प्रभावकारी काम गर्नसक्छ भन्नेमा पनि सुझाव दिन्छौं ।’ 

कांग्रेसले प्रधानमन्त्री उद्धार कोषमा ५० रुपैयाँ बुझाइसकेको छ । 

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम दशैंको आसपास पीडितका लागि उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेर पार्टीले काम गरिरहेको बताउँछन् ।

‘विपत्तिलगत्तै हाम्रो महासचिवले विज्ञप्ति नै जारी गरेर उद्धार/राहतमा जुट्न निर्देशन दिनुभएको थियो । तत्कालका लागि स्थानीय पार्टीपंक्तिले सहयोग गर्ने गरी पार्टी पंक्ति परिचालन भइसकेको छ,’ गौतमले भने, ‘यसपटक सामान्य हिसाबले दशैं मान्ने र पीडितको सेवा र सहयोगमा जुट्ने हाम्रो तयारी छ । नागरिकहरू दशैंको मुखमा ठूलो विपत्तिमा रहेकाले जिम्मेवार दल नागरिकप्रति झन् बढी उत्तरदायी हुनुपर्छ ।’

नेताहरूले प्रभावित क्षेत्रमा घुमेर उद्धारमा सघाउने, राहत जम्मा गर्ने र वितरण गर्ने कार्यक्रम रहेको पनि उनले बताए । विपत्तिपछि पुननिर्माणका लागि पार्टीले सरकारको ध्यानाकर्षण गराइसकेको उनी बताउँछन् । एमालेले पनि प्रधानमन्त्री राहत कोषमा ५० लाख बुझाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले पनि विपत्तिपछि केन्द्रीय कार्यालयको बैठक राखेर यसपटक दशैंमा चियापान नगर्ने र पीडितको पक्षमा काम गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । 

‘विपत्तिलगत्तै हामीले केन्द्रीय कार्यालयको बैठक बसेर सम्पूर्ण पार्टी जनबर्गीय संगठन तथा शुभचिन्तकलाई परिचालन गर्ने, दशैंमा चियापान नगर्ने, छलफल र अन्तरक्रिया पनि  बाढीपीडितको उद्धार, राहत, पुनःस्थापनामा केन्द्रित गर्ने निर्णय गरेका छौं ।’

यस्तो अभियान असोज १५ गते बल्खुबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै शुरू गरेको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए । 

‘१५ गते बल्खुबाट अध्यक्षले अभियानको उद्घाटन  गर्नुभएको थियो । हामी त्यसपछि काठमाडौंका सुकुम्बासी बस्तीमा गएका छौं । विस्तारै सबैभन्दा धेरै प्रभावित भएको बागमती प्रदेशमा पार्टी पंक्तिलाई परिचालन गरेका छौं । तत्काल खाना र आवासका लागि राहत जुटाउने र बाँड्ने काममा क्रियाशील भएका छौं ।’

प्रभावित नभएका जिल्लाबाट सहयोग लिएर प्रभावित ठाउँमा बाँड्ने र नागरिकको सहयोगमा जुट्ने गरी लागेको सापकोटा बताउँछन् । 

‘अहिले तत्काल पीडितलाई गाँस, बास र इन्धनको जरुरत छ । हामीले पार्टीका सबै काम छाडेर पीडितको समस्या समाधानमा लाग्न भनेका छौं । परेको बेलामा जनताको सेवा, सहयोग र उनीहरूको काममा एकाकर हुनु नै दायित्व हो,’ सापकोटाले भने, ‘अघिपछि जनताले नेता र दलसँग दाल चामलको अपेक्षा गर्दैनन् । दुःखमा दल खोज्ने हो । हामीले पनि सेवाको भाव राखेर जनताको पक्षमा काम गर्नुपर्छ । विपत्ति राम्रो होइन, तर नागरिकका पक्षमा काम गर्न र जोडिन दलहरूका लागि अवसर आएको छ ।’ 

सम्पूर्ण पार्टीपंक्ति, मोर्चा र सामाजिक संस्थालाई अपिल गरेको, प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको, विदेशमा समेत पैसा उठाएर पीडितलाई सहयोग गर्न अपिल गरिएको जानकारी उनले दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विपत्तिमा परेकाको उद्धार, राहत, पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । 

उसले अलपत्र बनेकाको उद्धार, खानेपानी, सञ्चार, बिजुलीको प्रबन्धका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

सभापति लामिछानेले केन्द्रीय कार्यालयबाटै बाढीपहिरो र डुबानपीडितको उद्धार, राहत र उनीहरूका लागि गर्नुपर्ने कामका विषयमा पार्टी पंक्तिसँग छलफल गरेका थिए ।

केन्द्रीय कार्यालयमा सार्वजनिक भेटघाटको कार्यक्रम राखेरै लामिछानेसहितका केन्द्रीय नेताले सर्वसाधारणको गुनासो सुनेका थिए ।

बाढी पहिरोको विपत्तिपछि रास्वपाका सभापति रवि लामिछाने चितवनकेन्द्रित देखिएका छन् । उनी चितवनमा सार्वजनिक सुनुवाइ, दूध किसानका लागि नीति मन्थन कार्यक्रममा देखिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्