
दशैँको मिति र साइत तोक्ने विविध प्रक्रिया हुन्छन् । हामीले पात्रो बनाउँदा नै त्यसको मिति तोकेका हुन्छौं । त्यही दिनको उत्तम समय साइतका रूपमा निकाल्ने हो ।
साइत निकाल्दा लग्नमा नराम्रो ग्रह पर्नु भएन । त्यस्तै अरू पनि धेरै विषय हेरिन्छन् । अन्यभन्दा त्यो राम्रो समय होस् भनेर हामीले साइत सुनिश्चित गर्छौं ।
दशैँ कहिलेदेखि कहिलेसम्म भन्ने मिति पात्रोमै तोकिदिएका हुन्छौं । पात्रो शास्त्रका आधारमा तयार हुन्छ ।
दशैँको टीका हुनलाई सूर्योदयको समयमा आश्विन शुक्लपक्षको दशमी तिथि हुनुपर्छ । त्यो तिथि आधा घण्टामात्र छ या १५ मिनेट नै छ भने पनि १२ बजेभित्रबाट साइत निकाल्ने हो । त्यसपछि एकादशी लागे पनि केही हुँदैन । त्यस साइतमा टीका लगाउने सबैको अनुकूल पर्दैन भने पनि आफ्नो हिसाबले टीका लगाउन पाइन्छ ।
कुनै–कुनै कर्मका लागि तिथि यही समयमा हुनुपर्छ भनेरै तोकिएको हुन्छ । जस्तै लक्ष्मीपूजा गर्नुपर्यो भने उदयकालको अंशले हुँदैन । सन्ध्याकै औंशी हुनुपर्छ । प्रदोषकाल हुनुपर्छ, त्यसमा सूर्योदय भएर हुँदैन ।
अर्को भाइटीकाका लागि मध्यान्हकालमा कार्तिक शुक्लपक्षको द्वितीया तिथि हुनुपर्छ । अघिल्लो दिन प्रतिपदा छ र भोलिपल्ट मध्यान्हमा द्वितीयाले भेटेन भने पनि अघिल्लै दिन गर्नुपर्ने हुन्छ ।
तिथि तोक्दा हामीले सामान्यतयाः उदयकाल हेर्छौं । तर यतिखेरै हुनुपर्छ भनेर तोकियो भने हामीसँग कहिलेकाँही विकल्प हुँदैन ।
यो प्रक्रिया धेरै पहिलादेखि नै चल्दै आएको हो । बरू अहिले हामीले विशेष निर्णय गरेर के प्रष्ट पारेका छौं भने दशैँको टीका साइत र समयमा सम्भव छैन भने आफ्नो अनुकूलतामा पनि टीका लगाउन सकिन्छ । बाधा अड्काउ फुकाएजस्तो ।
कसरी खप्टिन्छन् तिथि ?
तिथि कहिले घट्छ, कहिले बढ्छ । चन्द्रमा र सूर्यको अन्तरको आधारमा गणना गरेर जसरी तिथिहरू निकालिन्छन्, सामान्यतयाः त्यसैका आधारमा हामीले कर्म गर्छौं ।
कहिलेकाँही एउटै तिथिमा दुईवटा सूर्योदय हुन्छन् । मानिलिउँ, यसअघि चतुर्थीमा दुईदिन सूर्योदय भयो । त्यसकारण हामीले चतुर्थीको काम दुईदिन नै गर्न मिल्ने भयो ।
अहिले नवमी छुटेको छ । घाम झुल्केको बेलामा अष्टमी छ, एकैछिनमा अष्टमी सकियो । अनि नवमी शुरू भइहाल्यो । त्यो नवमीले भोलिपल्टको सूर्योदय छुँदैन । त्यसलाई तिथि टुटेको भनिन्छ । तर तिथि कहीँ गएको हुन्न, त्यहीँ हुन्छ । कुनै तिथिले दुईवटा सूर्योदय समायो भने तिथि वृद्धि भएको मानिन्छ । कुनै पनि सूर्योदय समाउन सकेन भने त्यो टुट्यो ।
सामान्यतया तिथि र दिन एउटै हुन् भन्ने मानिन्छ । तर खासमा त्यस्तो हुँदैन । हामीले पनि सग्लो तिथि आयो भने गणना गर्न सजिलो हुन्छ भन्ने सोच्छौं, तर सधैं त्यस्तो हुँदैन ।
तिथिका सन्दर्भमा भने पात्रोमा जे छ, हामीले त्यो फलो गर्ने हो । किनभने पात्रो बनाउँदा एक जनाको मात्र योगदान हुँदैन, त्यसमा धेरैले निर्णय गरेका हुन्छन् । त्यहाँ छलफल हुन्छ, त्यहाँ मस्यौदाको रुपमा तयार गरिन्छ र कमिटीले स्वीकृति दिन्छ ।
गणना ठीक छ कि छैन, कुन तिथिले कति समय लिन्छ, त्यसबारेमा व्यापक छलफल हुन्छ । अनि पात्रो बन्छ ।
अझ चाडपर्वको निर्णय गर्नेबेलामा त अरू पनि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई बोलाएर हामीले छलफल गर्ने गर्छौं । हाम्रो निर्णयमा कुनै खोट छ कि भनेर उहाँहरूबाट राय सुझाव मागिन्छ । यो पात्रो भनेको यस्तो दस्तावेज हो, जुन सबैभन्दा धेरै समावेशी हुन्छ ।
सूर्य चन्द्रमाले जुन किसिमको तिथि बनाइदिएका हुन्छन्, त्यसका आधारमा हामीले पात्रो निर्माण गर्ने हो । त्यसमा शास्त्र र परम्परा हेरिन्छ र निर्णय गरिन्छ ।
कसरी हुन्छ दशैँ मनाउने तरिका फरक–फरक ?
’मुण्डे–मुण्डे मतिर्भिन्ना कुण्डे–कुण्डे नवं पयः’ भन्ने कुरा पनि छ । ठाउँअनुसार दशैँ मनाउने प्रक्रिया फरक हुन सक्छ र यो प्रचलनअनुसार पनि फरक पर्छ ।
दशैँको मूल शास्त्र एउटै हो, यसमा दुईमत छैन । तात्विक भिन्नता केही नभए पनि यसलाई मनाउने तरिका फरक–फरक हुन्छ नै । स–सानो कुरामा अलिकति कर्म बाझिएकोजस्तो देखिन्छ ।
दशैँ मनाउने तरिका भारत र नेपालमा फरक–फरक छ । तर हामीले बुझ्नुपर्ने कुरा के हो भने भारतको भन्दा हाम्रो गणना अलि व्यापक छ । सहभागिताको हिसाबले हामीले मनाउने दशैँ व्यापक छ । भारत ठूलो देश हुनाले केही राम्रा र केही नराम्रा पनि प्रचलन होलान् ।
दशैँसँग सम्बन्धित मिथः
हामीले दशैँ जसरी मान्छौं, त्यसलाई कथामात्र मान्दैनौं । हामीले यथार्थ मान्छौं । हरेक युगमा राक्षस प्रवृत्ति पनि आउँछ, अनि दैवी प्रवृत्ति पनि आउँछ । दैवी प्रवृत्तिले राक्षस प्रवृत्तिलाई नाश गर्ने हो ।
शक्तिको आराधना गर्ने क्रम धेरै पहिलेदेखि चलेको हुनाले त्रेता युगमा यसलाई रामसँग जोडियो । पुराणहरूमा पनि लेखिएका छन् । अझै धेरै ठाउँमा फरक–फरक कथासँग दशैँलाई जोडिएको हुनसक्छ ।
यो दुर्गापूजाको जुन प्रशंग छ, त्यो नेपालसँग बढी जोडिन्छ । दुर्गा र पार्वती हाम्रो हिमालका छोरी हुन्, हामी हिमालका बासिन्दा हौँ । हामीले विशेष रुपमा मनाउने गरेको पनि यसकारणले नै हो । अर्को कुरा हाम्रा हरेक पर्वमा नारी शक्तिको प्रधानता छ । हामी आध्यात्मिक चेतनाको विस्तार होस् भन्ने ठान्छौं ।
५० वर्षअघिको र अहिलेको दशैँमा भिन्नता
त्यतिबेला दशैँ बढी प्राकृतिक रुपमा मानिन्थ्यो भने अहिले देखावटी र नक्कल–झक्कल बढी भएको छ । यो बिस्तार पनि भएको छ, विदेशसम्म पनि फैलिएको छ । कतिपय देशमा त दशैँमा नेपालीलाई बिदा दिन थालिएको छ ।
यो वास्तवमा नेपालीको पर्व हो । अहिले यसको भित्री पक्ष चाहिँ अलि फितलो भयो भने बाहिरी पक्ष देखावटी हुँदै गयो । पहिला दशैँघर बनाउने, मन्दिर जाने, पूजा गर्ने जोड हुन्थ्यो । अहिले पूजा आराधना गर्नेभन्दा पनि घुमघाम बढ्न थाल्यो । तर यसको सान्दर्भिकता छ र सधैं रहनेछ ।
बलिको सन्दर्भ
दशैँको बेलामा बलिको पनि बढी नै चर्चा भइरहेको देखिन्छ । यसलाई कतिपयले अर्कै मुद्दा पनि बनाउन खोजेका छन् । तपाईं शाकाहारी मात्र होइन, सात्विक बन्नुस् । तपाईंको चिन्तन सकारात्मक बनोस्, उपकारी बन्नुस् । त्यसपछि बलि गर्नु पर्दैन ।
तर एउटा कुरा के हो भने– जो मांशाहारी छ, यदि उसले धर्म मान्छ भने बलि गर्नु अनिवार्य छ । शास्त्रमा बलिको पक्षमा पर्याप्त तर्क छन् । त्यसका आध्यात्मिक कारणहरू पनि छन् । बलि शास्त्रविरुद्ध होइन, गर्ने हो भने शास्त्रअनुसार गर्नुपर्यो । होइन भने तपाईं सात्विक बन्नुपर्यो ।
(अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति प्राडा माधव भट्टराईसँग लोकान्तरकर्मी ईश्वर अर्यालले गरेको कुराकानीमा आधारित) ।