२७ असार २०८३, शनिबार
दशैं बजार

दशैंको मासु बजार : वर्षभरिको व्यापारको कुल ५० प्रतिशत हिस्सा ठूला चाडबाडमा

असोज २५, २०८१
काठमाडौं
दशैंको मासु बजार : वर्षभरिको व्यापारको कुल ५० प्रतिशत हिस्सा ठूला चाडबाडमा

​वर्षभरिको मासु व्यापारको करिब ५० प्रतिशत ठूला चाडबाडमा नै हुने काठमाडौंका मासु व्यवसायीहरूले जनाएका छन् ।

अभिलेख राखिने तथ्यांक हेर्दा वर्षभरिको करिब ३० प्रतिशत र तथ्यांक नराखिएको बजारको अनुमानित हिस्सा समेट्दा थप २० प्रतिशत गरी ५० प्रतिशत हाराहारीको व्यापार ठूला चाडबाडको समयमै हुने गरेको हो ।

काठमाडौं उपत्यकामा वर्षभरिमा २ लाख १० हजारको हाराहारीमा खसीबोका भित्रिने गरेका छ । जसको करिब २५ प्रतिशत अर्थात् ५० हजार खसीबोका दशैंमा मात्रै भित्रिने गरेको पशुसेवा विभागले जनाएको छ ।

जिउँदो खसीबोका बाहेक पनि वार्षिक ७० मेट्रिक टन खसीबोकाको मासु काठमाडौं भित्रिने गरेको विभागको तथ्यांकले देखाउँछ ।

दशैं र तिहारको समयमा मात्रै करिब २० मेट्रिक टन खसीबोकाको मासु काठमाडौं भित्रिने गरेको छ, जुन वर्षभरि काठमाडौं भित्रिने मासुको करिब ३५ प्रतिशत हुन्छ । 

वार्षिकरूपमा १ लाख २० हजार भौंसी तथा राँगा काठमाडौं उपत्यका भित्रिने गरेका छन् । दशैं र तिहारका लागि ५७ हजारको हाराहारीमा राँगा र भौंसी उपत्यका भित्रिने गरेको छ, जुन करिब ५० प्रतिशत हो । 

यो केबल नागढुंगा नाकाबाट उपत्यका भित्रिएको तथ्यांक हो । अन्य नाकाबाट भित्रिएको तथ्यांक विभागसँग उपलब्ध छैन ।

पूर्वबाट काठमाडौंमा भित्रिने खसीबोका तथा अन्य पशुवस्तुको तथ्यांक यसमा सामेल नरहेको विभागका सूचना अधिकारी डा. सुधीरकुमार सिंहले बताए ।

उनका अनुसार खुला बजार भएकाले उपत्यका भित्रिने र खपत हुने खसी बोका र मासुको सबै तथ्यांक राख्न सकिँदैन । अभिलेख भएको र अभिलेख नभएको व्यापार करिब ५० प्रतिशतसम्म हुन सक्ने उनको भनाइ छ । 

गत वर्ष लक्ष्यभन्दा कम खसीबोका बिक्री भएकोमा यस वर्ष २० हजारको हाराहारीमा खसीबोका कलंकीबाट बिक्री हुने चौपाया खरिदबिक्री संघले जनाएको छ ।

संघका अनुसार गत वर्ष करिब २४ हजारको हाराहारीमा खसीबोका बिक्री भएका थिए, जबकि ३० हजार खसीबोका काठमाडौंमा झारिएको थियो । यो पनि कलंकीको मात्र तथ्यांक हो । 

काठमाडौंमा बिक्रीका लागि पूर्वदेखि सुदूरपश्चिमसम्मका ३७ जिल्लाबाट खसीबोका ल्याइने गरेको छ । 

चौपाया खरिदबिक्री संघका अनुसार वार्षिकरूपमा करिब २ लाख खसीबोका काठमाडौंमा बिक्री हुने गरेका छन्, जसमध्येमा २५ हजार दशैँ र तिहारमा मात्रै बिक्री हुने गर्दछन् । 

त्यस्तै, ब्रोइलरसहित कुखुराको मासु दशैंमा २१ मेट्रिक टन उपत्यका भित्रिने गरेको छ । वर्षभरिमा भने २०० मेट्रिक टन कुखुराको मासु उपत्यका भित्रिने गरेको तथ्यांक छ । 

चाडपर्वकै समयमा १५० मेट्रिक टन अर्थात् १ लाख ५० हजार किलोग्राम माछा काठमाडौं भित्रिने गरेको छ । वार्षिक रूपमा भने माछा ६५० मेट्रिक टन उपत्यका भित्रिने गरेको छ । 

यसैगरी काठमाडौंमा वर्षभरिमा २५ सय सुँगुर तथा बङ्गुर भित्रिने गरेका छन् । 

दशैं र तिहारमा मात्रै करिब ४० प्रतिशत सुँगुर तथा बङ्गुर काठमाडौं भित्रिने गरेको देखिन्छ । पशु सेवा विभागको अभिलेख अनुसार चाडपर्वको समयमा मात्रै १ हजार सुँगुर तथा बङ्गुर उपत्यका भित्रिने गरेको छ । 

दशैं र तिहारको समयमा मात्रै काठमाडौं भित्रिने च्याङ्ग्रा भने १ हजार देखि १२ सयसम्म रहने गरेको विभागको तथ्यांक छ ।

salt training

कमेन्ट गर्नुहोस्