२३ जेठ २०८३, शनिबार

बुटवलमा गायक सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

कात्तिक १, २०८१
बुटवल
बुटवलमा गायक सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ।

चितवनबाट शुरू भएर काठमाडौंसहित देशका ५ प्रमुख शहरमा आयोजना गर्न लागिएको ‘एकादेशमा नेपाल टुर २०२४’अन्तर्गत आगामी शनिबार बुटवलमा लाइभ कन्सर्ट हुन लागेको हो ।​​​

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुने कन्सर्टमा ६ हजारभन्दा बढी दर्शक सहभागी हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

बुटवलमा विभिन्न ४ वटा इभेन्ट अर्गनाइजरहरूको सहकार्यमा कन्सर्ट आयोजना गर्न लागिएको आर्विडरी इभेन्टसका निर्देशक विपिन नकर्मीले जानकारी दिए ।

उनका अनुसार दर्शकका लागि अनलाइन पे खल्तीमा टिकट बुकिङ खुला गरिएको छ ।

लोकल इभेन्ट अर्गनाइजर हिमाल आचार्यका अनुसार जनरल, फ्यान अडियन्स र भीआईपी गरी ३ समूहमा विभाजन गरी १ हजार ५००, २ हजार र २ हजार ५०० टिकट दर कायम गरिएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा अनलाइन बुकिङ नगरेका दर्शकका लागि क्यास काउन्टरबाट पनि टिकट उपलब्ध गराइने एमएन प्रोडक्सनका निर्देशक अक्षर श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा लागि आफ्नै साउण्ड सिस्टम तथा लाइटिङ तथा विश्वका चर्चित व्याण्डहरूमा अनुभव प्राप्त ७ जना साउण्ड इन्जिनियर रहेको आयोजकले जनाएको छ ।

बुटवलमा हुने इभेन्ट गर्नका लागि ९० लाख बढी खर्च हुने अनुमान गरिएको छ । कन्सर्टबाट हुने आम्दानीको केही रकम बुटवलमै आँखा शिविर सञ्चालनका लागि सहयोग गर्ने आयोजकले जनाएको छ ।

यो इभेन्ट बुटवलमा हालसम्मकै ठूलो हुने आयोजकको दाबी छ । 

सज्जन राज वैद्य हालका सफल र श्रोताहरूका प्रिय संगीतकर्मीमध्ये एक हुन् । ‘हवाइजहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन्, ।

उनका गीतहरूले पछिल्लो समय युट्युबमा करोडौं भ्युज पाउने गरेका छन् ।

नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका छन् । यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर हो ।

यस सांगीतिक यात्राका अन्य कार्यक्रमहरू कात्तिक १६ गते पोखरा, कात्तिक २४ गते इटहरी र मंसिर १ गते काठमाडौंमा आयोजना गरी समापन हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्