१९ असार २०८३, शुक्रबार
टाउको बिनाको शव भेटिएको घटना

हत्यापछि टाउको ‘सेफ्टी ट्याङ्की’मा, सीसीटीभी पछ्याउँदा पक्राउ परे अभियुक्त

कात्तिक १, २०८१
काठमाडौं
हत्यापछि टाउको ‘सेफ्टी ट्याङ्की’मा, सीसीटीभी पछ्याउँदा पक्राउ परे अभियुक्त

बाँकेमा बिनाटाउको भेटिएको शवको अनुसन्धानका क्रममा प्रहरीले नयाँ-नयाँ तथ्य फेला पारेको छ ।​

इलाका प्रहरी कार्यालय बाँकेले तालिमप्राप्त कुकुर परिचालन र सीसीटीभीको निगरानीमा घटनाको एक महिनापछि हत्या आरोपीलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका– ८ स्थित सरस्वती चोक जाने बाटोमा प्रहरीले २७ भदौमा बिनाटाउकोको शव फेला परेको थियो ।

शुरूमा शवको पहिचान नै भएन । पछि उक्त शव कोहलपुरको नहरटोल बस्ने चन्द्रबहादुर कामीको भएको खुल्यो ।

इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख डीएसपी धर्मराज भण्डारीका अनुसार कामी सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका व्यक्ति हुन् ।

घटनामा संलग्नताको आशंकामा रोल्पाको माडी गाउँपालिका– ६ का २४ वर्षका अनिल परियारलाई गत मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो ।

डीएसपी भण्डारीका अनुसार परियार जबर्जस्ती करणीसम्बन्धी मुद्दामा २ वर्ष ९ महिना जेलमा बसेर यही असोज १३ गते बाँकेकै नौवस्ता कारागारबाट छुटेका थिए ।

‘टाउको बिनाको शव फेला परेपछि अनुसन्धान त्यति सजिलो थिएन, हामीले नजिकको सीसीटीभी र तालिमप्राप्त कुकुर परिचालन गर्दा कुकुर सेफ्टी ट्याङ्कीतर्फ दौडियो,’ डीएसपी भण्डारीले लोकान्तरसँग भने, ‘ढकनी खोलेर हेर्दा मृतकको टाउको र घटनामा प्रयोग भएको हतियार फेलापर्‍यो ।’ 

null

उनका अनुसार सीसीटीभी फुटेजमा कामी र परियार दुवै कैद भएका थिए । ‘सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा परियारलाई हत्या आरोपीको रूपमा पक्राउ गरेका हौं,’ भण्डारीले भने, ‘साइकल चढेर आउजाउ गरेका उनको हाउभाउबाट उनको संलग्नताबारे केही प्रमाण भेटिएको छ ।’

हत्या आरोपी पक्राउ गर्न प्रहरीले एक महिनासम्म प्रहरी निरीक्षकको कमान्डमा १५ जना खटाएको उनले जानकारी दिए । भण्डारीले भने, ‘मृतकको टाउको खोज्न मात्रै १५ दिन लाग्यो ।’

परियार एक आफन्तकोमा गएर लुकेको आशंकापछि खोजतलास गर्दा उनी लुकेको सुराक मिलेको प्रहरीले जनाएको छ । 

प्रहरीले शवको पोस्टमार्टम गरेर पनि आफन्तलाई बुझाइसकेपछि मात्रै परियार पक्राउ परेका हुन् ।

null

डीएसपी भण्डारीका अनुसार सामान्य विवादमा परियारले कामीको हत्या गरेको देखिन्छ ।

साइकल चढिरहेका बेला सुतिरहेका कामीलाई हल्का छोएको विवादमा दुई जनाबीच झगडा भएको अनुसन्धानबाट खुलेको छ ।

त्यतिबेलै खुर्पा बोकेका परियारले कामीको हत्या गरेको र तत्काल कसैले थाहा नपाओस् भन्ने मनसायले टाउको सेफ्टी ट्यांकीमा लुकाएको अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्