२८ जेठ २०८३, बिहीबार
संस्था र समृद्धिको अन्तरसम्बन्ध

‘राष्ट्र किन असफल हुन्छ ?’ नेपालजस्ता मुलुकलाई नोबेल पुरस्कार विजेताले सिकाएको पाठ

कात्तिक ६, २०८१
काठमाडौं
‘राष्ट्र किन असफल हुन्छ ?’ नेपालजस्ता मुलुकलाई नोबेल पुरस्कार विजेताले सिकाएको पाठ

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन आसेमोग्लु, सामइमन जोनसन र जेम्स ए रोविन्सनको आर्थिक समृद्धि र संस्थाले एक अर्कालाई कसरी प्रभाव पार्दछन् भन्ने अध्ययनलाई दिने घोषणा गरिएको छ । आर्थिक विकास र समृद्धिको अर्थराजनीतिक विश्लेषणमा केन्द्रित अध्ययनले संस्था र विकासको लामो सन्दर्भ उल्लेख गर्दै विपन्न मुलुकका राजनीतिज्ञहरूलाई झल्यास्स पार्ने विकास चित्र देखाएको छ । 

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नेलोजी (एमआएटी) का डारोन आसेमोग्लु र सिकागो विश्वविद्यालयका जेम्स ए रोबिन्सनले ‘राष्ट्र किन असफल हुन्छ ?’ (ह्वाई नेसन्स फेल ?) भन्ने पुस्तकमार्फत र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नेलोजीकै साइमोन जोनसनसँग मिलेर आसेमोग्लुले ‘शक्ति र समृद्धि’ (पावर एन्ड प्रोग्रेस)मार्फत शक्ति, संस्था निर्माण र समृद्धिको अन्तरसम्बन्धमाथि विस्तृत प्रकाश पारेका छन् । उनीहरूले प्रस्तुत गरेको विकासचित्रले नेपालजस्ता विकास यात्रामा सधैँ ‘गुमाएको अवसर’का लागि त्यसको क्षतिपूर्ति समेत दिनेगरी संस्था निर्माण गर्न विद्युतीय झड्कासहितको शिक्षा समेत दिन्छ । 

संयुक्त राज्य अमेरिका र मेक्सिकोको सीमामा अवस्थित नोगालेस शहरलाई काँडेतारले उत्तर–दक्षिण फैवालटमा आधा–आधा विभाजन गरिएको छ । नोगालेसको उत्तरी भाग एरिजोनाको शान्तक्रुज काउन्टीमा पर्दछ । यहाँका मानिसहरूको जीवनस्तर उच्च छ । प्रतिव्यक्ति आय निकै माथि छ । नागरिकहरूले सबै प्रकारका सेवासुविधा पाइरहेका छन् । शिक्षा र स्वास्थ्यको सबल प्रणालीले मानव पूँजी निर्माण र उपयोगको स्तरीय अवसर प्राप्त छ । विद्युत्, सञ्चार, यातायातलगायतका पूर्वाधारहरूले अमेरिकाका अन्य शहरसँगको आबद्धता छ । नागरिक दैनिक क्रियाकलाप निर्धक्क भएर गर्दछन् । शासन भनेको अवसर हो भन्ने त्यहाँ स्पष्ट देखिन्छ र नागरिकहरू खुशी छन् । अमेरिकनहरू आफू त्यहाँको नागरिक हुनुमा यस्तै सुविधा र अवसरका कारण गर्वबोध गर्दछन् । 

केही फिट पर दक्षिणतर्फको नोगालेस सेनोरा मेक्सिकोतर्फ पर्दछ । नोगालेस सोनोरा मेक्सिकोका अन्य शहरको सापेक्ष्यमा सम्पन्न मानिए पनि त्यहाँका बासिन्दा एरिजोनातर्फको नोगालेसको एकतिहाइ आम्दानीमा जीवन बिताएरहेका छन् । विद्यालय उमेरका धेरै बालबच्चाहरू शैक्षिक अवसरबाट बाहिर छन् । बाल तथा मातृमृत्युदर उच्च छ । औसत आयु कम छ । नागरिकहरू धेरैजसो सामाजिक सेवाबाट वञ्चित छन् । शान्ति सुरक्षाको स्तर कमजोर छ । अपराधको आयतन र फ्रिक्वेन्सी उच्च भएकाले व्यापार र आर्थिक गतिविधि जोखिममा छन् । राजनैतिक तहमा उच्च भ्रष्टाचार छ । शासकीय बेथितिले राज्य नरम छ । तर, नोगालेस सोनोरा शहरको नेतृत्व भने इन्स्टिच्युसनल रिभोलुसनरी पार्टी (पीआरआई) ले गरेको छ । नामैले पनि राजनैतिक पार्टीले नागरिक जीवनलाई बेस्सरी सुविधा दिनसक्नुपर्थ्यो । पार्टी नामकरणपछिको आशय पनि यही हुनुपर्छ । 

एकै शहर, एकै भूगोल, एकै भाषा, एकै संस्कृति, एकै सम्प्रदाय, हावापानी मात्र होइन, फैलिने रोगमा पनि समानता रहेर नोगालेसका सोनेरा र शान्तक्रुजबीच समृद्धिको स्तरमा ठूलो भिन्नता छ । दुई आधाबीचको असमानताको कारण अरू नभएर संस्थात्मक पद्धति हो । उत्तरतिर संस्थाहरू सबल बने, दक्षिणतर्फ भने बनेनन् । उत्तरतिर राजनीतिक प्रणाली जवाफदेही छ, दक्षिणमा त्यसको अभाव छ । सरकारलाई नियन्त्रण र सन्तुलनमा राखेर उत्तरतर्फका जनताले अवसरको उपयोग गरिरहेका छन्, तर दक्षिणतर्फ शासनको नियन्त्रण खास वर्गको छ । अमेरिकामा लगानी र व्यवसायमा कुनै व्यवधान हुँदैन, तर मेक्सिकोमा व्यवसायीहरूले धेरै अवरोध छिचोल्नु पर्छ । नोगालेसको प्रतिनिधि उदाहरणले बताउने कुरा हो, आर्थिक संस्था नबनेसम्म विकास र समृद्धि हुँदैन । त्यसको जगमा चाहिँ राजनीतिक संस्थाहरू प्रणालीबद्धता रहन्छन् । 

हामीहरू असमानताको विश्वमा बाँचिरहेका छौ । नोगालेस नगरका दुई भागमा भएका असमानताजस्तै हामीबीच थुप्रै असमानता छन् । एकै नगरका आधा–आधा भागमा देखिएको असमानता दुई राष्ट्र अमेरिका र मेक्सिकोबीचमा छ । अमेरिकनहरू मेक्सिकनभन्दा सात गुणा बढी अवसर उपभोग गर्छन् । चिली, पेरु अर्जेन्टिना पुग्दा त्यो अन्तर १० गुणा हुन्छ । सवसहार अफ्रिकामा पुग्दा ४० गुणा हुन्छ । यो कहालिलाग्दो अन्तरले समृद्धि र शासनलाई गिज्याइरहेको छ । युरोपीय, जापानी, सिङ्गापुरे र दक्षिण कोरियनहरू उच्च जीवनस्तर बिताइरहेका छन् । यो राष्ट्रिय संस्थाहरूको सफलता र विफलताले सिर्जना गरेको खाडल हो । यसर्थ समृद्धि संस्थाहरूको सफलताको परिणाम हो । संस्थाहरूको निर्माणचाँहि राजनैतिक संस्कारको परिणाम हो । 

राष्ट्र किन असफल हुन्छ भन्ने सन्दर्भमा आसेमोग्लु र रोविन्सन इजिप्ट तथा ट्युनिसियाको उदाहरण दिन्छन् । लामो समय राज्य चलाउने होस्नी मुवारकले इजिप्ट विकासको कुनै प्रक्रिया अघि बढाउन सकेनन्, जबकि इतिहासमा इजिप्ट सभ्यता र विकासको उदाहरण थियो । ३० वर्षसम्म मुवारक शासनले दिएको परिणाम गरिबी र विपन्नता हो । त्यहाँ २० प्रतिशत मानिस उच्च गरिबी र विपन्नतामा रहन पुगे । मुवारकविरुद्धको आन्दोलनमा ताहिर स्क्वाएरमा उर्लिएको जनसागरमा एकजना गरिबीविरुद्धका अभियन्ताले भनेका थिए–‘भ्रष्टाचार र गलत शिक्षा नै अविकासको मूल कारण हो ।’ भ्रष्ट राज्य प्रणालीले व्यक्तिको प्रतिभा, आकांक्षा र उत्साहलाई निमोठिदिँदोरहेछ । 

ट्युनिशियाका जीने अल अविदिन विल अलीले पनि लामो अवधि शासनमाथि आधिपत्य जमाए । तर, त्यहाँ नागरिक होइन, सम्भ्रान्तहरूले राज्यशक्ति कब्जा गरे । परिणाम त्यहाँ पनि अविकास र गरिबी नै रह्यो । ट्युनिसिया र इजिप्टको समस्या उस्तै थियो । दुवै मुलुकको समस्याको केन्द्रमा राजनीति रहेको थियो । शासकीय शक्ति र अवसरहरू सीमित व्यक्तिले हडपेका थिए । शासकीय संरचनाहरू तिनै सीमित सम्भ्रान्तहरूको पक्षपोषणमा थिए । 

इजिप्टका शासकको तर्क अर्कै थियो, त्यहाँ अविकासको कारण आफूहरू नभएर भूगोल थियो । उनीहरूले भूगोललाई बेस्सरी आरोप लगाए । त्यहाँको मरुभूमि, हावापानी न्यून वर्षा र न्यून कृषि उत्पादनलाई सकेजति आरोप लगाए । तर, आसेमोग्लु र रोविन्सनको विश्लेषणमा त्यहाँका शासकले त्यहाँको समृद्धिका लागि उपयुक्त सल्लाह नै लिएनन् । ताहिर स्क्वाएरका विद्रोहीको निष्कर्ष पनि यही थियो । सीमित सम्भ्रान्तले अवसर हडपेर आमनागरिकलाई कङ्गाल बनाइएकाले यो स्थिति आएको थियो । उत्तर कोरिया, सिएरा लियोन वा जिम्बाब्वे गरीब हुनुमा पनि यही कारण देखिन्छ । यसको लहरो तान्दै जाँदा उनीहरू हाइटी, अफगानिस्तान र नेपालसम्म आइपुग्छन् । 

विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने शासकहरू कहिले जियोग्राफी हाइपोथेसिस अघि सार्छन्, त कहिले कल्चरल हाइपोथेसिस ।

इतिहासमा कैयन दुःखपीडा भोगेको संयुक्त राज्य अमेरिका ‘संयुक्त राज्य’ बन्नुमा त्यहाँका दरिला संस्था र तिनीहरूले निर्माण गरेको तोड्नै नसकिने प्रणाली प्रमुख कारणका रूपमा रहेको छ ।

‘राष्ट्र किन असफल हुन्छ ?’ मा लेखकहरू यी तर्क सधैँ काम लाग्ने होइन भन्ने निष्कर्षमा छन् । उनीहरूले प्रमाण र तथ्यका आधारमा जियोग्राफी हाइपोथेसिस, कल्चरल हाइपोथेसिस, इग्नोरेन्स हाइपोथेसिस र प्रविधि ग्रहण एवं उपयोगको विश्लेषण गरेर समृद्धि र संस्थाको सम्बन्ध औल्याएका छन् । अवस्थिति, संस्कृति, विपत्ति ‘गिभेन फ्याक्टर’ हुन् । यी अवस्थाका बाबजुद विकास र समृद्धि गर्ने दायित्व राजनीति (शासक) ले लिएको हुन्छ । अन्य/उभय पक्षलाई लगाइने आरोपको कुनै औचित्य रहँदैन । 

विकासका नाममा शासकहरू अनपेक्षित सक्रियता देखाउँदा पनि संस्थाले सबल रूप पाउँदैन । कङ्गोको गरिबी अनुचित रूपमा सक्रिय (एक्स्ट्रा एक्टिभ) आर्थिक संस्थाहरूको कारण हो । त्यहाँ अनपेक्षित आर्थिक अतिसक्रियताले जनस्तरबाट शुरू हुनुपर्ने आर्थिक गतिविधिका सबै ढोका बन्द हुन पुगी शासन सेवाबाट बाहिरियो र गरिबीचाहिँ संस्थागत हुनपुग्यो । 

पार्ककालीन दक्षिण कोरियामा विकासको शुरूआत आर्थिक संस्थाहरूको अनपेक्षित सक्रियताबाट भएको थियो । तर, त्यहाँका संस्थाहरूको कठोर अनुशासन र अमेरिकी सहयोगले त्यसलाई पृष्ठाधार दिएको थियो । संस्थाहरूको अनपेक्षित सक्रियताको प्रवृत्ति चीनको केन्द्रीकृत राज्य प्रणालीमा पनि देखिएको छ । यी अनपेक्षित अतिसक्रियताले विकास संस्थागत भएका उदाहरण हुन् । 

नोबेल विजेताहरूले अर्को ऐतिहासिक तथ्यलाई पनि प्रस्तुत गरेका छन् । औपनिवेशिक कालमा युरोपेली मुलुकहरूले विपन्न मुलुकका प्राकृतिक साधनमाथि धावा बोले र शोषण गरे । अर्को अर्थमा यिनीहरू दोहनकारी संस्था सञ्चालन गर्न पुगे । ती शोषित मुलुकहरू अधिकांश अहिले पनि विपन्न छन् । तर, जुन मुलुकहरूमा उपनिवेशसाथ संस्थाहरू विकास गर्न पुगे ती भने समृद्धिको यात्रामा छन् । जस्तो कि भारत, श्रीलंका, दक्षिण अफ्रिका, सिंगापुर, मलेसिया आदिमा भाषा, कर्मचारीतन्त्र, पूर्वाधारसहितका संस्थाहरू स्थापना गरिए । विकास संस्कृति संस्थागत हुनपुग्यो । उपनिवेशकर्ता मुलुकले आफूलाई मनपर्ने औपनिवेशिक मुलुकहरूमा संस्था निर्माण गरेका कारण ती समृद्धिका यात्रामा छन् । कतिपय देशहरूले औपनिवेशिक समयदेखि नै दरिला संस्थाहरूलाई निरन्तरता दिँदै आएकाले समृद्धिको यात्रा सजिलो बन्यो । 

बेलायत इजिप्टभन्दा समृद्ध हुनुमा इजिप्टले आफ्नो ऐतिहासिक विरासतलाई संस्थानीकरण गर्न नसक्नु र बेलायतले सक्नु प्रमुख कारक थियो । बेलायतले १६८८ देखि निर्माण भएका राजनैतिक तथा आर्थिक संस्थाहरूलाई निरन्तरता दियो । त्यसैले औद्योगिक क्रान्ति र प्रविधि क्रान्ति गर्न सक्यो । 

इतिहासमा कैयन दुःखपीडा भोगेको संयुक्त राज्य अमेरिका ‘संयुक्त राज्य’ बन्नुमा त्यहाँका दरिला संस्था र तिनीहरूले निर्माण गरेको तोड्नै नसकिने प्रणाली प्रमुख कारणका रूपमा रहेको छ । संस्थात्मक पद्धति नागरिक जीवनलाई निर्धारण गर्ने, प्रोत्साहन गर्ने र सुरक्षा दिने आधार हुन् भन्ने पुष्टि अमेरिकाले गरेकाले यो ल्यान्ड अफ अपरच्युनिटी बन्यो । संस्थात्मक पद्धतिका कारण नै विल गेट्सजस्ता आईटी लिजेन्ड र अरू आइकन पाउल आलेन, स्टेभ वाल्मर, स्टेभ जभ्स, ल्यारी पेज, सर्गे ब्रीन, जेफ विजोस र एलोन मस्कहरूले आफ्नो प्रतिभा देखाउन पाए । संस्था र पद्धति नभएका भए टुहुराहरू, आमाले छाडेका, बुवा नभएकाहरू आफूमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने अवस्थामा कहाँ पुग्थे ? 

रोविन्सन, आसेमोग्लु र जोन्सनको अध्ययनको निष्कर्ष के हो भने गरिबी र समृद्धि संस्थाले सिर्जना गर्ने अवसरको सापेक्ष्यमा रहन्छ । आर्थिक संस्थाहरू सबल नभएसम्म समृद्धिको कल्पना गर्न सकिन्न । आर्थिक संस्था राजनैतिक प्रक्रियाले निर्धारण गर्दछ । राजनीतिक संस्थाहरूले नागरिक क्षमता निर्माण गर्दछन् र त्यसैको बलमा नागरिकहरू राजनीतिक प्रणालीमाथि नियन्त्रण गर्न समर्थ हुन्छन् । जतिबेलासम्म शासनमा सीमित सम्भ्रान्तहरूको बोलवाला भैरहन्छ, सर्वसाधारणका अवसरहरू उनीहरूले हडपिरहन्छन्, शासन निरीह हुन्छ, विधि धकेलिन्छ, बेथिति नै थिति बन्छ र समृद्धि क्षीतिजपारि पुग्छ । विधिको शासनका लागि बनाइएका संरचनाहरू नै विधिका बाधक बन्दछन् । नोवेल विजेताहरूले समावेशी र सबल संस्था निर्माणमार्फत आर्थिक गतिविधिको विस्तारलाई जोड दिएका छन् । 

उनीहरूले नेपालको विषयमा गहन अध्ययन नगरे पनि नेपालजस्ता मुलुकहरू लोकतान्त्रिक संस्थाहरूको निर्माण र राज्यको क्रियाशीलतामा पछि परेकाले समृद्धिमा सीमान्तीकृत भएका हुन् भन्ने देखाएका छन् । संस्थाहरू निर्माण नगरिँदासम्म अविकास र अवनति विरुद्धका आन्दोलनले शासन परिवर्तन भएपनि प्रणाली फेर्न नसकी आन्दोलनको कुनै अर्थ रहँदैन भन्ने पनि देखाइएको छ । उनीहरूको अध्ययन खासै नौलो विषय नभए पनि विकास र समृद्धिमा पछि परेका, प्रणालीहरू कमजोर बनाउनु नै राजनीति भन्ने बुझेका मुलुकका शासकहरूका लागि विद्युतीय झड्का दिएर झल्यास्स पार्न भने सफल छ । (@mainaligopi) 

salt training

कमेन्ट गर्नुहोस्