
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन आसेमोग्लु, सामइमन जोनसन र जेम्स ए रोविन्सनको आर्थिक समृद्धि र संस्थाले एक अर्कालाई कसरी प्रभाव पार्दछन् भन्ने अध्ययनलाई दिने घोषणा गरिएको छ । आर्थिक विकास र समृद्धिको अर्थराजनीतिक विश्लेषणमा केन्द्रित अध्ययनले संस्था र विकासको लामो सन्दर्भ उल्लेख गर्दै विपन्न मुलुकका राजनीतिज्ञहरूलाई झल्यास्स पार्ने विकास चित्र देखाएको छ ।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नेलोजी (एमआएटी) का डारोन आसेमोग्लु र सिकागो विश्वविद्यालयका जेम्स ए रोबिन्सनले ‘राष्ट्र किन असफल हुन्छ ?’ (ह्वाई नेसन्स फेल ?) भन्ने पुस्तकमार्फत र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नेलोजीकै साइमोन जोनसनसँग मिलेर आसेमोग्लुले ‘शक्ति र समृद्धि’ (पावर एन्ड प्रोग्रेस)मार्फत शक्ति, संस्था निर्माण र समृद्धिको अन्तरसम्बन्धमाथि विस्तृत प्रकाश पारेका छन् । उनीहरूले प्रस्तुत गरेको विकासचित्रले नेपालजस्ता विकास यात्रामा सधैँ ‘गुमाएको अवसर’का लागि त्यसको क्षतिपूर्ति समेत दिनेगरी संस्था निर्माण गर्न विद्युतीय झड्कासहितको शिक्षा समेत दिन्छ ।
संयुक्त राज्य अमेरिका र मेक्सिकोको सीमामा अवस्थित नोगालेस शहरलाई काँडेतारले उत्तर–दक्षिण फैवालटमा आधा–आधा विभाजन गरिएको छ । नोगालेसको उत्तरी भाग एरिजोनाको शान्तक्रुज काउन्टीमा पर्दछ । यहाँका मानिसहरूको जीवनस्तर उच्च छ । प्रतिव्यक्ति आय निकै माथि छ । नागरिकहरूले सबै प्रकारका सेवासुविधा पाइरहेका छन् । शिक्षा र स्वास्थ्यको सबल प्रणालीले मानव पूँजी निर्माण र उपयोगको स्तरीय अवसर प्राप्त छ । विद्युत्, सञ्चार, यातायातलगायतका पूर्वाधारहरूले अमेरिकाका अन्य शहरसँगको आबद्धता छ । नागरिक दैनिक क्रियाकलाप निर्धक्क भएर गर्दछन् । शासन भनेको अवसर हो भन्ने त्यहाँ स्पष्ट देखिन्छ र नागरिकहरू खुशी छन् । अमेरिकनहरू आफू त्यहाँको नागरिक हुनुमा यस्तै सुविधा र अवसरका कारण गर्वबोध गर्दछन् ।
केही फिट पर दक्षिणतर्फको नोगालेस सेनोरा मेक्सिकोतर्फ पर्दछ । नोगालेस सोनोरा मेक्सिकोका अन्य शहरको सापेक्ष्यमा सम्पन्न मानिए पनि त्यहाँका बासिन्दा एरिजोनातर्फको नोगालेसको एकतिहाइ आम्दानीमा जीवन बिताएरहेका छन् । विद्यालय उमेरका धेरै बालबच्चाहरू शैक्षिक अवसरबाट बाहिर छन् । बाल तथा मातृमृत्युदर उच्च छ । औसत आयु कम छ । नागरिकहरू धेरैजसो सामाजिक सेवाबाट वञ्चित छन् । शान्ति सुरक्षाको स्तर कमजोर छ । अपराधको आयतन र फ्रिक्वेन्सी उच्च भएकाले व्यापार र आर्थिक गतिविधि जोखिममा छन् । राजनैतिक तहमा उच्च भ्रष्टाचार छ । शासकीय बेथितिले राज्य नरम छ । तर, नोगालेस सोनोरा शहरको नेतृत्व भने इन्स्टिच्युसनल रिभोलुसनरी पार्टी (पीआरआई) ले गरेको छ । नामैले पनि राजनैतिक पार्टीले नागरिक जीवनलाई बेस्सरी सुविधा दिनसक्नुपर्थ्यो । पार्टी नामकरणपछिको आशय पनि यही हुनुपर्छ ।
एकै शहर, एकै भूगोल, एकै भाषा, एकै संस्कृति, एकै सम्प्रदाय, हावापानी मात्र होइन, फैलिने रोगमा पनि समानता रहेर नोगालेसका सोनेरा र शान्तक्रुजबीच समृद्धिको स्तरमा ठूलो भिन्नता छ । दुई आधाबीचको असमानताको कारण अरू नभएर संस्थात्मक पद्धति हो । उत्तरतिर संस्थाहरू सबल बने, दक्षिणतर्फ भने बनेनन् । उत्तरतिर राजनीतिक प्रणाली जवाफदेही छ, दक्षिणमा त्यसको अभाव छ । सरकारलाई नियन्त्रण र सन्तुलनमा राखेर उत्तरतर्फका जनताले अवसरको उपयोग गरिरहेका छन्, तर दक्षिणतर्फ शासनको नियन्त्रण खास वर्गको छ । अमेरिकामा लगानी र व्यवसायमा कुनै व्यवधान हुँदैन, तर मेक्सिकोमा व्यवसायीहरूले धेरै अवरोध छिचोल्नु पर्छ । नोगालेसको प्रतिनिधि उदाहरणले बताउने कुरा हो, आर्थिक संस्था नबनेसम्म विकास र समृद्धि हुँदैन । त्यसको जगमा चाहिँ राजनीतिक संस्थाहरू प्रणालीबद्धता रहन्छन् ।
हामीहरू असमानताको विश्वमा बाँचिरहेका छौ । नोगालेस नगरका दुई भागमा भएका असमानताजस्तै हामीबीच थुप्रै असमानता छन् । एकै नगरका आधा–आधा भागमा देखिएको असमानता दुई राष्ट्र अमेरिका र मेक्सिकोबीचमा छ । अमेरिकनहरू मेक्सिकनभन्दा सात गुणा बढी अवसर उपभोग गर्छन् । चिली, पेरु अर्जेन्टिना पुग्दा त्यो अन्तर १० गुणा हुन्छ । सवसहार अफ्रिकामा पुग्दा ४० गुणा हुन्छ । यो कहालिलाग्दो अन्तरले समृद्धि र शासनलाई गिज्याइरहेको छ । युरोपीय, जापानी, सिङ्गापुरे र दक्षिण कोरियनहरू उच्च जीवनस्तर बिताइरहेका छन् । यो राष्ट्रिय संस्थाहरूको सफलता र विफलताले सिर्जना गरेको खाडल हो । यसर्थ समृद्धि संस्थाहरूको सफलताको परिणाम हो । संस्थाहरूको निर्माणचाँहि राजनैतिक संस्कारको परिणाम हो ।
राष्ट्र किन असफल हुन्छ भन्ने सन्दर्भमा आसेमोग्लु र रोविन्सन इजिप्ट तथा ट्युनिसियाको उदाहरण दिन्छन् । लामो समय राज्य चलाउने होस्नी मुवारकले इजिप्ट विकासको कुनै प्रक्रिया अघि बढाउन सकेनन्, जबकि इतिहासमा इजिप्ट सभ्यता र विकासको उदाहरण थियो । ३० वर्षसम्म मुवारक शासनले दिएको परिणाम गरिबी र विपन्नता हो । त्यहाँ २० प्रतिशत मानिस उच्च गरिबी र विपन्नतामा रहन पुगे । मुवारकविरुद्धको आन्दोलनमा ताहिर स्क्वाएरमा उर्लिएको जनसागरमा एकजना गरिबीविरुद्धका अभियन्ताले भनेका थिए–‘भ्रष्टाचार र गलत शिक्षा नै अविकासको मूल कारण हो ।’ भ्रष्ट राज्य प्रणालीले व्यक्तिको प्रतिभा, आकांक्षा र उत्साहलाई निमोठिदिँदोरहेछ ।
ट्युनिशियाका जीने अल अविदिन विल अलीले पनि लामो अवधि शासनमाथि आधिपत्य जमाए । तर, त्यहाँ नागरिक होइन, सम्भ्रान्तहरूले राज्यशक्ति कब्जा गरे । परिणाम त्यहाँ पनि अविकास र गरिबी नै रह्यो । ट्युनिसिया र इजिप्टको समस्या उस्तै थियो । दुवै मुलुकको समस्याको केन्द्रमा राजनीति रहेको थियो । शासकीय शक्ति र अवसरहरू सीमित व्यक्तिले हडपेका थिए । शासकीय संरचनाहरू तिनै सीमित सम्भ्रान्तहरूको पक्षपोषणमा थिए ।
इजिप्टका शासकको तर्क अर्कै थियो, त्यहाँ अविकासको कारण आफूहरू नभएर भूगोल थियो । उनीहरूले भूगोललाई बेस्सरी आरोप लगाए । त्यहाँको मरुभूमि, हावापानी न्यून वर्षा र न्यून कृषि उत्पादनलाई सकेजति आरोप लगाए । तर, आसेमोग्लु र रोविन्सनको विश्लेषणमा त्यहाँका शासकले त्यहाँको समृद्धिका लागि उपयुक्त सल्लाह नै लिएनन् । ताहिर स्क्वाएरका विद्रोहीको निष्कर्ष पनि यही थियो । सीमित सम्भ्रान्तले अवसर हडपेर आमनागरिकलाई कङ्गाल बनाइएकाले यो स्थिति आएको थियो । उत्तर कोरिया, सिएरा लियोन वा जिम्बाब्वे गरीब हुनुमा पनि यही कारण देखिन्छ । यसको लहरो तान्दै जाँदा उनीहरू हाइटी, अफगानिस्तान र नेपालसम्म आइपुग्छन् ।
विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने शासकहरू कहिले जियोग्राफी हाइपोथेसिस अघि सार्छन्, त कहिले कल्चरल हाइपोथेसिस ।
‘राष्ट्र किन असफल हुन्छ ?’ मा लेखकहरू यी तर्क सधैँ काम लाग्ने होइन भन्ने निष्कर्षमा छन् । उनीहरूले प्रमाण र तथ्यका आधारमा जियोग्राफी हाइपोथेसिस, कल्चरल हाइपोथेसिस, इग्नोरेन्स हाइपोथेसिस र प्रविधि ग्रहण एवं उपयोगको विश्लेषण गरेर समृद्धि र संस्थाको सम्बन्ध औल्याएका छन् । अवस्थिति, संस्कृति, विपत्ति ‘गिभेन फ्याक्टर’ हुन् । यी अवस्थाका बाबजुद विकास र समृद्धि गर्ने दायित्व राजनीति (शासक) ले लिएको हुन्छ । अन्य/उभय पक्षलाई लगाइने आरोपको कुनै औचित्य रहँदैन ।
विकासका नाममा शासकहरू अनपेक्षित सक्रियता देखाउँदा पनि संस्थाले सबल रूप पाउँदैन । कङ्गोको गरिबी अनुचित रूपमा सक्रिय (एक्स्ट्रा एक्टिभ) आर्थिक संस्थाहरूको कारण हो । त्यहाँ अनपेक्षित आर्थिक अतिसक्रियताले जनस्तरबाट शुरू हुनुपर्ने आर्थिक गतिविधिका सबै ढोका बन्द हुन पुगी शासन सेवाबाट बाहिरियो र गरिबीचाहिँ संस्थागत हुनपुग्यो ।
पार्ककालीन दक्षिण कोरियामा विकासको शुरूआत आर्थिक संस्थाहरूको अनपेक्षित सक्रियताबाट भएको थियो । तर, त्यहाँका संस्थाहरूको कठोर अनुशासन र अमेरिकी सहयोगले त्यसलाई पृष्ठाधार दिएको थियो । संस्थाहरूको अनपेक्षित सक्रियताको प्रवृत्ति चीनको केन्द्रीकृत राज्य प्रणालीमा पनि देखिएको छ । यी अनपेक्षित अतिसक्रियताले विकास संस्थागत भएका उदाहरण हुन् ।
नोबेल विजेताहरूले अर्को ऐतिहासिक तथ्यलाई पनि प्रस्तुत गरेका छन् । औपनिवेशिक कालमा युरोपेली मुलुकहरूले विपन्न मुलुकका प्राकृतिक साधनमाथि धावा बोले र शोषण गरे । अर्को अर्थमा यिनीहरू दोहनकारी संस्था सञ्चालन गर्न पुगे । ती शोषित मुलुकहरू अधिकांश अहिले पनि विपन्न छन् । तर, जुन मुलुकहरूमा उपनिवेशसाथ संस्थाहरू विकास गर्न पुगे ती भने समृद्धिको यात्रामा छन् । जस्तो कि भारत, श्रीलंका, दक्षिण अफ्रिका, सिंगापुर, मलेसिया आदिमा भाषा, कर्मचारीतन्त्र, पूर्वाधारसहितका संस्थाहरू स्थापना गरिए । विकास संस्कृति संस्थागत हुनपुग्यो । उपनिवेशकर्ता मुलुकले आफूलाई मनपर्ने औपनिवेशिक मुलुकहरूमा संस्था निर्माण गरेका कारण ती समृद्धिका यात्रामा छन् । कतिपय देशहरूले औपनिवेशिक समयदेखि नै दरिला संस्थाहरूलाई निरन्तरता दिँदै आएकाले समृद्धिको यात्रा सजिलो बन्यो ।
बेलायत इजिप्टभन्दा समृद्ध हुनुमा इजिप्टले आफ्नो ऐतिहासिक विरासतलाई संस्थानीकरण गर्न नसक्नु र बेलायतले सक्नु प्रमुख कारक थियो । बेलायतले १६८८ देखि निर्माण भएका राजनैतिक तथा आर्थिक संस्थाहरूलाई निरन्तरता दियो । त्यसैले औद्योगिक क्रान्ति र प्रविधि क्रान्ति गर्न सक्यो ।
इतिहासमा कैयन दुःखपीडा भोगेको संयुक्त राज्य अमेरिका ‘संयुक्त राज्य’ बन्नुमा त्यहाँका दरिला संस्था र तिनीहरूले निर्माण गरेको तोड्नै नसकिने प्रणाली प्रमुख कारणका रूपमा रहेको छ । संस्थात्मक पद्धति नागरिक जीवनलाई निर्धारण गर्ने, प्रोत्साहन गर्ने र सुरक्षा दिने आधार हुन् भन्ने पुष्टि अमेरिकाले गरेकाले यो ल्यान्ड अफ अपरच्युनिटी बन्यो । संस्थात्मक पद्धतिका कारण नै विल गेट्सजस्ता आईटी लिजेन्ड र अरू आइकन पाउल आलेन, स्टेभ वाल्मर, स्टेभ जभ्स, ल्यारी पेज, सर्गे ब्रीन, जेफ विजोस र एलोन मस्कहरूले आफ्नो प्रतिभा देखाउन पाए । संस्था र पद्धति नभएका भए टुहुराहरू, आमाले छाडेका, बुवा नभएकाहरू आफूमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने अवस्थामा कहाँ पुग्थे ?
रोविन्सन, आसेमोग्लु र जोन्सनको अध्ययनको निष्कर्ष के हो भने गरिबी र समृद्धि संस्थाले सिर्जना गर्ने अवसरको सापेक्ष्यमा रहन्छ । आर्थिक संस्थाहरू सबल नभएसम्म समृद्धिको कल्पना गर्न सकिन्न । आर्थिक संस्था राजनैतिक प्रक्रियाले निर्धारण गर्दछ । राजनीतिक संस्थाहरूले नागरिक क्षमता निर्माण गर्दछन् र त्यसैको बलमा नागरिकहरू राजनीतिक प्रणालीमाथि नियन्त्रण गर्न समर्थ हुन्छन् । जतिबेलासम्म शासनमा सीमित सम्भ्रान्तहरूको बोलवाला भैरहन्छ, सर्वसाधारणका अवसरहरू उनीहरूले हडपिरहन्छन्, शासन निरीह हुन्छ, विधि धकेलिन्छ, बेथिति नै थिति बन्छ र समृद्धि क्षीतिजपारि पुग्छ । विधिको शासनका लागि बनाइएका संरचनाहरू नै विधिका बाधक बन्दछन् । नोवेल विजेताहरूले समावेशी र सबल संस्था निर्माणमार्फत आर्थिक गतिविधिको विस्तारलाई जोड दिएका छन् ।
उनीहरूले नेपालको विषयमा गहन अध्ययन नगरे पनि नेपालजस्ता मुलुकहरू लोकतान्त्रिक संस्थाहरूको निर्माण र राज्यको क्रियाशीलतामा पछि परेकाले समृद्धिमा सीमान्तीकृत भएका हुन् भन्ने देखाएका छन् । संस्थाहरू निर्माण नगरिँदासम्म अविकास र अवनति विरुद्धका आन्दोलनले शासन परिवर्तन भएपनि प्रणाली फेर्न नसकी आन्दोलनको कुनै अर्थ रहँदैन भन्ने पनि देखाइएको छ । उनीहरूको अध्ययन खासै नौलो विषय नभए पनि विकास र समृद्धिमा पछि परेका, प्रणालीहरू कमजोर बनाउनु नै राजनीति भन्ने बुझेका मुलुकका शासकहरूका लागि विद्युतीय झड्का दिएर झल्यास्स पार्न भने सफल छ । (@mainaligopi)