१२ साउन २०८३, मंगलबार

बजारमा सिटामोल अभाव  छैन : औषधि लिमिटेड

कात्तिक ९, २०८१
काठमाडौं
बजारमा सिटामोल अभाव  छैन : औषधि लिमिटेड

बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ ।

लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको उनले बताए । नियमित उत्पादन पनि भइरहेको उनको भनाइ छ ।

'हामीले नियमित उत्पादन गरिरहेका छौं । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ,' उनले भने । 

उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ ।

'डेङ्गुका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौं । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छौं । खरिद बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ,' प्रबन्ध निर्देशक पनेरूले भने । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानाकर्षण गराएको थियो ।

खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।

लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गुको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ ।

उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्