
बालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान रेवन पचभैया मगरले हिरासत कक्षमै आत्महत्या गरेका छन् ।
असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कारको आरोपमा पक्राउ परेका मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका हुन् ।
प्यूठानको बडडाँडा घर भई सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत मगरले प्रहरी हिरासत कक्षको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी इश्वर थापाले जानकारी दिए ।
मगर आज बिहान करिब ५ बजे झुण्डिएको अवस्थामा फेला परेको डीएसपी थापाले बताए ।
स्थानीय ८ वर्षीया र अर्की १४ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पचभैयासहित अर्का एक जनालाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूविरुद्ध दाङ-देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको थियो ।