
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान शुरूआत गरिएको छ ।
बाँकेमा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
'नेपालगञ्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान शुरू गरेका छौं,' उनले भने, 'उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।'
नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेङ्गु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको शुरूआत गरेको उनको भनाइ छ ।
उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ ।
अभियानअन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको शुरूआत गरेको उल्लेख गर्दै यो अभियानमा साथ र सहयोगका लागि नगरवासीलाई समेत अनुरोध गरे ।
नेपालगञ्ज बसपार्क क्षेत्र डेङ्गु रोग सङ्क्रमणको केन्द्रविन्दु हुनसक्ने भएकाले अभियानको सुरुआत बसपार्कबाटै गरिएको नगरप्रमुख विष्टले बताए ।
बसपार्क क्षेत्रमा रहेका ग्यारेज, यातायात व्यवसायी र मजदुरहरूलाई प्रयागविहीन भएका टायर जथाभावी नछोड्न उनले अनुरोध गरे ।
डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको नगरप्रमुख विष्टले बताए ।