३२ असार २०८३, बिहीबार
खस्किँदो व्यापार

दशक नपुग्दै सुस्तायो ‘बर्गर हाउस’, १५ लाखमा बेचिएका 'फ्रेन्चाइज' धमाधम बन्द

कात्तिक १६, २०८१
काठमाडौं
दशक नपुग्दै सुस्तायो ‘बर्गर हाउस’, १५ लाखमा बेचिएका 'फ्रेन्चाइज' धमाधम बन्द

दुई वर्षअघि काठमाडौंको स्वीचाटारमा शंकर भट्टले ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ नामक फ्रेन्चाइज खरिद गरे ।

बर्गर हाउसको लोकप्रियता देखेर १२ लाखमा खरिद गरिएको फ्रेन्चाइजलाई एक वर्षसम्म निरन्तरता दिन पनि उनलाई मुस्किल भयो । र, उनले त्यसलाई अगाडि बढाउन सकेनन् । बर्गर हाउसलाई अहिले ‘गौरव इभेन्ट्स’मा गाभेर सञ्चालन गरिरहेका छन् । 

‘बर्गर हाउसको लोकप्रियता देखेर १२ लाखमा फ्रेन्चाइज खरिद गरियो, जुन किसिमको व्यापार हुन्छ भनेर सोचेका थियौं, त्यो हुन सकेन,’ भट्टले भने, ‘कर्मचारी पाल्न नै मुस्किल देखिएपछि गौरव इभेन्ट्सँग गाभेर सञ्चालन गरिरहेका छौं । बर्गर हाउस चलाउनलाई रेस्टुरेन्टजस्तै २०–३० हजारको सेल गरेर पुग्दैन । कमसे कम ६०–७० हजार रुपैयाँको कारोबार गर्न सक्नुपर्‍यो ।’ 

भट्टले खरिद गरेको फ्रेन्चाइज कसैले खरिद पनि गर्दैनन् । फ्रेन्चाइजको माया मारेर उनले अहिले फास्टफूड सञ्चालन गरिरहेका छन् । 

आजभन्दा ८ वर्ष पहिले ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ को एउटा ‘आउटलेट’ मा लगानी गरेका सुजन कार्कीले दुई वर्षमै आफ्नो लगानी उठाइसकेका थिए । त्यसलगत्तै कार्कीले एकैपटक ४ वटा थप ‘आउटलेट’मा लगानी गरे । उनले दुई/तीन वर्षमै उक्त लगानी उठाएर थप नाफा समेत कमाएका थिए । तर, त्यसपछि भने उनले लगानी पनि उठाउन सकेनन् । 

शुरूमा उनले थोरै लगानी गरेका थिए । र, त्यसको प्रतिफल पनि पाएका थिए । तर, बर्गर हाउसमा लगानी गरेपछि पहिलेको जस्तो प्रतिफल आउन छाड्यो । उनले त्यसलाई माया मारेर नयाँ व्यवसाय थालेका छन् ।

‘बर्गर हाउसको पहिलेको जस्तो व्यापार छैन । करिब ४० प्रतिशत व्यापार घटेको जस्तो लाग्छ’, उनी सुनाउछन्’, ‘साथीहरूसँग मिलेर ५ वटा ‘आउटलेट’मा लगानी गरेको थिएँ । त्यतिबेलाको व्यापारबाट लगानी उठिसकेको थियो । अहिले बर्गर हाउसमा प्रतिफल आउँदैन । पाँचवटामा एउटा बर्गर हाउस बन्द भइसक्यो । चारवटा आउटलेट छन् । अहिले म बर्गर हाउसमा छैन । आफ्नै व्यवसायमा छु ।’  

एक वर्षअघिसम्म आक्रामक ढंगले विस्तार भएको बर्गर हाउस अहिले धमाधम बन्द हुने क्रममा छन् । सञ्चालनमा रहेकाहरूको पनि व्यापार घटेको छ । करिब ३० प्रतिशतसम्म व्यापार खस्किएको उनीहरूको भनाइ छ । 

२०७२ सालमा काठमाडौंको शंखमुल क्षेत्रको एउटा बर्गर हाउसबाट फैलिएको उक्त ब्रान्डले पछिल्ला वर्षहरूमा निकै चर्चा कमाएको थियो । देशभर बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका करिब १ सय फ्रेन्चाइज शाखा खोलिएका थिए ।

शुरूमा बर्गर हाउसमा मानिसहरूको भीड सम्हाल्नै नसक्ने अवस्था थियो । फ्रेन्चाइज शुल्क पनि १५ लाख पुगिसकेको थियो । अहिले बर्गर हाउसलाई चल्नै मुस्किल छ ।

कतिपय बर्गर हाउसलाई अन्य रेस्टुरेन्टसँग गाभेर चलाइएको छ । कतिपय बर्गर हाउसहरू बन्द नै गएका छन् । फास्ट फूडका लागि चर्चामा आएको बर्गर हाउससँगै ‘बर्गर हब’, बर्गर स्टेसन, बर्गर कर्नर, बर्गर एक्सप्रेस, बर्गर हंगर लगायतका थुप्रै चेन रेस्टुरेन्ट खुले । प्रतिस्पर्धा बढेसँगै बर्गर हाउसको व्यापार खुम्चिन पुग्यो ।

बर्गर हाउसको खस्किँदो व्यापार 

अहिले कर्मचारी पाल्नै गाह्रो भइरहेको खुमल्टारस्थित ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’का सञ्चालक प्रकाश गुरुङले बताए ।

‘अहिले व्यापार नै छैन’, गुरुङले भने, ‘कर्मचारी नै पाल्न मुस्किल छ ।’ 

पहिलेको तुलनामा २५ देखि ३० प्रतिशत व्यापार घटेको ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ सिनामंगलका सञ्चालक समीर तामाङ बताउँछन् ।

‘शुरूआती वर्षहरूमा जुन किसिमको व्यापार थियो, अहिले त्यो छैन’, तामाङले भने, ‘बजारमा प्रतिस्पर्धा पनि त्यत्तिकै मात्रामा बढेको छ । ठाउँ पनि मिलाइएको छैन । एक किलोमिटरको दुरीमा दुई/तीनवटा बर्गर हाउस खोलिएका छन् । जसले गर्दा ग्राहक बाँडिएका छन् ।’ 

बढ्दो प्रतिस्पर्धा र एकै किसिमका खाने कुराहरूको नक्कल गर्ने गरिएकाले पनि बर्गर हाउसको व्यापार खस्किएको व्यवसायीहरूको भनाइ छ । पछिल्लो समय यसैलाई नक्कल गरेर विभिन्न नाममा अन्य फास्टफूड खुल्ने क्रम जारी छ ।

करिब २५ प्रतिशतसम्मले व्यापार घटेको झम्सिखेल स्थित ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ का सञ्चालक अप्रिल लामा बताएका छन् । उनका अनुसार बजारमा उपभोग गर्ने मानिसहरूको संख्यामा कमी आएकाले व्यापार घटेको हो । 

‘विगतका वर्षहरूमाभन्दा बर्गर हाउसको व्यापार घट्दै गएको छ’, लामाले भने, ‘यसका साथै बजारमा एकै  प्रकारका फास्टफूडको नक्कल गर्ने पनि छन् । कपिराइट पनि छैन । बजारमा फस्ट फूडको डिमान्डै कम हुँदै गएको छ ।’ 

यता बर्गर हाउसको व्यापार घटे पनि बन्दै गर्नुपर्ने अवस्था नरहेको कुलेश्वरस्थित ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’का सञ्चालक मिलन लामा बताउँछन् । बर्गर हाउसको व्यापार घट्नुमा आर्थिक मन्दीको प्रभाव रहेको उनको भनाइ छ ।

‘पहिलेको हिसाबले बर्गर हाउसको व्यापार घटेको छ, त्यसमा पहिलो कुरा आर्थिक मन्दी नै हो’, लामाले भने, ‘व्यापार घटे पनि बन्द नै गर्नुपर्ने अवस्था देखिएको छैन ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्