२८ असार २०८३, आइतबार

नेताहरूले स्वीकार्न धक मानिरहेको यथार्थ र राजनीतिको वास्तविक धरातल

कात्तिक १९, २०८१
काठमाडौं
नेताहरूले स्वीकार्न धक मानिरहेको यथार्थ र राजनीतिको वास्तविक धरातल

विगत वर्षहरूमा जस्तै ‘सिस्नुपानी नेपाल’ले एक वर्षका राजनीतिक घटनाक्रमको समीक्षा तिहारको देउसी भैलोमा सुनायो ।

देशमा भएगरेका घटनाक्रमबाट नेताहरू अनभिज्ञ थिएनन्, तर उनीहरूकै अगाडि आलोचना गर्ने मञ्च सितिमिति भेटिँदैन । व्यंग्य र कटाक्ष गर्दा उनीहरूको अनुहारमा देखिएको हाउभाउ रोचक र हेर्नलायक थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रमुख प्रतिपक्षी दलका नेता समेत उपस्थित कार्यक्रममा नेताहरूको कार्यशैलीप्रति सिस्नुपानीले कठोर व्यंग्य गर्‍यो । हास्य–व्यंग्यका लागि केही वर्षदेखिका सदाबहार पात्र कांग्रेस सभापति शेरबहादुर देउवादेखि काठमाडौं महानगरका मेयर बालेन शाहसम्म व्यंग्य र कटाक्ष गरियो । परम्परागत दललाई भ्रष्ट भन्दै राजनीतिमा लागेका रवि लामिछानेसम्म सिस्नोपानीको निशानामा परे । 

सिस्नुपानीले गरेको व्यग्यंप्रति प्रधानमन्त्री ओलीले कार्यक्रममै असन्तुष्टि पोखे । अन्य नेताहरू फिस्स हाँसे मात्र । नेपाली नेताहरूको एउटा विशेषता छ– उनीहरूको छाला गैंडाको भन्दा कम छैन । जस्तोसुकै गाली पनि सहज पचाइदिन्छन् । ओली, देउवा, प्रचण्ड या माधव नेपाल वर्षौंदेखि सिस्नोपानीको देउसीभैलो सुन्न पुगेकै छन् । सहीनसक्नु व्यंग्य गर्‍यो भने पनि उनीहरू सहिदिन्छन्, उठेर हिँड्दैनन्, हातपात गर्दैनन् । 

देश विकासको भिजन दृष्टिकोण र कार्यक्षमता कम भएपनि गाली पचाउने क्षमता उनीहरूमा अब्बल छ ।

दलभित्र आन्तरिक लोकतन्त्रको क्षयीकरणले नेतृत्वको आलोचना गर्ने सामर्थ्य नेतामा छैन । त्यही आलोचनात्मक चेतलाई जोगाइराख्ने काम सिस्नुपानीले गरिरहेको छ । 

प्रचण्डप्रति सिस्नोपानीले गाएको देउसीको एउटा अंश :

बालुवाटारमा बसुञ्जेल, दलालीको घेरामा,

वाममोर्चाको जोक सुनाउँछन् फर्की डेरामा ।

कांग्रेस–एमालेको टेको, लाउँदै अघि बढेका,

दुइटै टेको उछिट्टिँदा भुइँमा लडेका ।

लडे पनि लडेँ भन्न, लजाउँछन् प्रचण्ड,

आन्दोलनको प्राचीन गाना गाउँछन् अखण्ड ।

सत्ता छँदा सिंगापुर, सत्ता छाड्दा बंगलादेश,

छलाङमाथि छलाङ हान्दै फुल्यो यिनको केस ।

देउवाप्रति सिस्नुपानीको कटाक्षको अंश

देउवाजीका स्लिपिङ पार्टनर, प्रचण्ड र ओली,

प्रधानमन्त्री दिउँला भन्छन् उधारोमा भोलि ।

तानातानमा देउवाजीलाई, ज्वरो आउँछ हनहनी, 

दुईथान कम्निस्ट नेताले घुमाए फनफनी ।

यसरी आलोचनाको शिकार बने पनि नेपालको समकालीन राजनीतिको केन्द्रमा यिनै पात्र छन् । पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पाए पनि उनीहरूका कामबाट जनता/मतदाता सन्तुष्ट छैनन् । जनता असन्तुष्ट छन् भनौं भने उनीहरू चुनावमा हार्दैनन् । प्रमुख दलको नेतृत्व गरिरहेका सबैलाई एउटा भ्रम छ– मुलुकको राजनीतिक व्यवस्था हामीले नै धानेका छौं, मेरो  अनुपस्थितिमा व्यवस्थामाथि संकट आउँछ । 

यो भ्रमबाट नेताहरूमाथि उठे भने देशले निकास पाउँछ । मुलुक विकास र समृद्धिको मार्गमा अगाडि बढ्छ । 

अस्थिरतादेखि अस्थिरतासम्मको नियति

राजनीतिक अस्थिरताको अन्त्यका लागि भन्दै २०८१ असार ३१ गते नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठन भयो ।

गठन भएको झण्डै ४ महिना पुग्दा समेत ‘दुइतिहाई’को बलियो सरकारले गति लिन सकेको छैन । ‘अन्तिम विकल्प’ ठानिएको सरकार आफैं अलमलमा परेजस्तो देखिन्छ ।

कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि वैकल्पिक सरकार गठनको सम्भावना छैन । तर, पनि सरकार ढल्ने र ढाल्ने हल्ला भने रोकिएका छैनन् । प्रधानमन्त्री स्वयंले गठबन्धन नभत्किने र सरकारले आफ्नो कार्यकाल पूरा गर्ने भनेर पटक–पटक स्पष्टीकरण दिँदै हिँड्नुपर्ने अवस्था सिर्जना भयो । 

असोज ३० गते नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले सरकार ढाल्ने गाइँगुइँ सुनिएको भन्दै त्यो प्रयास सफल नहुने बताएका थिए । 

‘अहिले दिनै सरकार परिवर्तनको हल्ला सुनिन्छ । दशैंपछि तुरुन्त परिवर्तन हुन्छ रे, कुन दशैं भनेको हो ? ०८४ सालको दशैंपछिको चुनावमा ? ठीकै हो । त्यसभन्दा यता म १ वर्ष ९ महिना रहन्छु । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । मैले पहिला नै भनेको छु । आफैं फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । चुनाव उहाँको नेतृत्वमा हुन्छ,’ प्रधानमन्त्रीले प्रहरी प्रशासनलाई आश्वस्त पार्दै भनेका थिए । 

ओली यत्तिमै रोकिएनन्, कात्तिक ७ गते सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्ने बेलामा पनि ओलीले दोहोर्‍याए– सरकार ढाल्ने कुरा दिवासपना हो !

‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका तथा अन्य दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ,’ ओलीले सय दिनको उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित कार्यक्रममा भनेका थिए । यसको पुष्ठभूमिमा प्रचण्डले वर्तमान सरकार धेरै टाढासम्म नजाने टिप्पणी गरेका थिए, दशैंको समयमा । 

सरकार ढाल्न प्रयास भएको भनेर प्रधानमन्त्री ओलीले पटक–पटक सार्वजनिकरूपमा किन बोले ? यति गम्भीर विषयमा देशको प्रधानमन्त्रीले हचुवामा बोल्ने कुरा होइन । यसबीचमा केही प्रयास नभएका होइनन्, जुन राज्य संयन्त्रले थाहा नपाएको होस् ।

भदौ १० गते गौरा पर्वका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी भयो ।

सरकारलाई सय दिनको शंकाको लाभ दिने संसदीय परम्परा बिर्सेर भदौ ११ गते प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारविरुद्ध आगो ओकले– संसद्को बैठकमा । 

सय दिन नपुग्दै सरकार ढाल्ने ‘असफल प्रयास’ त्यतिबेलादेखिनै भएको थियो । नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एसका नेताहरूले प्रतिनिधि सभाको बाँकी कार्यकालभरि सरकारको नेतृत्व गर्न गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गर्‍यो । आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिमा देउवा प्रतिबद्ध भएपछि सरकार ढाल्ने प्रयास सफल भएन । 

बरु देउवाले कात्तिक ६ गते बसेको सत्तापक्षीय बैठकमा सरकार र प्रधानमन्त्रीको कामको खुलेर प्रशंसा गरे । तिहारको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले सरकारले सय दिनमा राम्रो काम गरेको र आफू सन्तुष्ट रहेको बताए । 

एमालेसँगको गठबन्धनप्रति देउवाको लगाव हेर्दा ओली नेतृत्वको सरकार ढाल्ने विपक्षी प्रयास तत्काल सफल हुने देखिँदैन । जबसम्म देउवा ओलीको दाहिना रहन्छन्, त्यो बेलासम्म सरकार ढाल्ने प्रयास सफल हुने छाँट छैन । हुन त सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले अदालत परिसरबाटै ओली सरकार ढाल्ने हाँक दिएका थिए । 

आफूलाई ‘राजनीतिक प्रतिशोध’ लिएर गरिएको पक्राउविरुद्ध जनता जुरूक्क उठ्नेछन् र फूलमाला लगाउने छन् भन्ने रविको भ्रम टुटेको छ । बरु रविलाई बचाइदिन भन्दै बालुवाटारमा चलिरहेको रास्वपा नेताहरूको हारगुहारले वैकल्पिक गठबन्धन बनाउने कसरतलाई निरर्थक तुल्याइदिएको छ । थालेका प्रचण्डले भन्न थालेका छन्– सरकार ढाल्ने खेलमा लागेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्