०३ साउन २०८३, आइतबार
ओली–देउवा एक स्वर

कांग्रेस–एमाले साझेदारी : सरकारको बचाउमा ओलीभन्दा देउवा अगाडि !

कात्तिक १९, २०८१
काठमाडौं
कांग्रेस–एमाले साझेदारी : सरकारको बचाउमा ओलीभन्दा देउवा अगाडि !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारको बचाउमा सबैभन्दा अगाडि देखिएका छन् ।

पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमालेको दुईतिहाइ सरकारले पर्याप्त काम नगरेको भन्दै आलोचना भइरहेका बेला देउवाले यस्तो दाबी गरेका हुन् । 

प्रश्न उठिरहेका बेला देउवाले केही दिनकै अन्तरालमा सरकारको बचाउमा दुईपटक बोलेका छन् । नेपाली कांग्रेस भक्तपुरले गरेको कार्यक्रममा कात्तिक १७ गते सभापति देउवाले ओली सरकारले साँच्चै राम्रो काम गरेको बताए । 

‘हामी सरकारमा भएको कारणले मात्रै होइन, केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ,’ देउवाले भनेका थिए, ‘प्रधानमन्त्री ओलीले साँच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रो काम गर्दै जानुहुनेछ ।’

यद्यपि देउवाले सरकारको सामान्य आलोचना हुनु स्वाभाविक भएको पनि बताए । 

‘विपक्षी दलले सरकारको आलोचना  गर्नु स्वाभाविक हो । यस्तो विश्वका जुनसुकै देशमा पनि हुन्छ,’ देउवाले भनेका थिए, ‘सरकार यस्तोतिर लाग्नु हुँदैन । बरु आलोचनालाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ 

संयुक्त सरकार परिणाममुखी हुनुपर्ने उनले बताए । 

‘विपक्षीका आलोचनालाई पनि गम्भीरताका साथ लिने र सरकारलाई परिणामुखी बनाउनेतिर लाग्नुपर्छ,’ देउवाले ओलीलाई थप ढाडस दिँदै भने, ‘संयुक्त सरकार बनेपछि पार्टी पंक्ति पनि खुशी रहेको छ । मैले पनि आवश्यक सल्लाह र सुझाव दिएको छु ।’

एक दिनको समीक्षा गर्दै देउवाले कात्तिक ९ गते पनि सरकारको प्रशंसा गरेका थिए । 

‘मलाई त सरकार धेरै कुराले गर्दा राम्रो लागेको छ । सय दिनलाई मैले राम्रो मानेको छु,’ देउवाले भनेका थिए, ‘एक सय दिन सरकारको हनिमुन डेज हुन् । सय दिनमा ओलीजीले राम्रो काम गर्नुभएको छ ।’

असोजको दोस्रो साता आएको बाढी पहिरोपछिको उद्धार र राहतका विषयमा सरकारको आलोचना भएको थियो । तर, देउवा सरकारको प्रयास राम्रो भएको पनि बताउन भुलेनन् । 

‘बाढीपहिरोको विपदमा पनि सरकारले उद्धार र खोजी कार्य गर्‍यो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो,’ देउवाले भनेका थिए, ‘ठीक छ, त्यस्तो नराम्रो केही छैन । राम्रो छ सय दिनको काम ।’ 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत सत्ता समीकरणमा कांग्रेस जति सजिलो पार्टी अर्को नभएको बताउँछन् ।

‘यसअघि पनि चुनावदेखि नै हामी समीकरण र गठबन्धनप्रति प्रतिबद्ध थियौं । हामीले सबै सहयोग गर्दा पनि प्रचण्डले गलत आरोप लगाउँदै समीकरण फेर्नुभयो’, महतले लोकान्तरसँग भने ।

एमालेसँगको सत्ता समीकरणमा समस्या नआए पनि पार्टीगत स्वार्थभन्दा प्रधानमन्त्रीमाथि उठ्नुपर्ने उनले बताए ।

‘बाढीपहिरोको विपदमा पनि सरकारले उद्धार र खोजी कार्य गर्‍यो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो,’ देउवाले भनेका थिए, ‘ठीक छ, त्यस्तो नराम्रो केही छैन । राम्रो छ सय दिनको काम ।’ 

‘प्रधानमन्त्री भएको नाताले पार्टीभन्दा माथि उठेर जनता र देशको हितमा केन्द्रित भएर लाग्नुपर्छ । सरकारमा हुँदा आफ्नो पार्टी पंक्तिलाई केही गरौं भन्ने हुन सक्छ । तर, जनताले देखिने गरी काम भने गर्नैपर्छ ।’ 

नागरिकमा देखिएको निराशा चिर्ने गरी काम गर्दा यो समीकरणले दबाब थेग्न नपर्ने उनी बताउँछन् । ‘दुई ठूला दल मिलेर नागरिकमा देखिएको निराशा चिर्छौं भनेर अगाडि बढेका हौं । केही हदसम्म हामीले काम गर्ने हुटहुटी देखाएका पनि छौं,’ महत भन्छन्, ‘सरकार टिक्दैन कि, सम्बन्ध बिग्रन्छ कि भनेर समस्या मान्नुपर्ने स्थिति छैन । हामीबीच समस्या पनि छैन । तर, जनताले बुझ्ने गरी सरकारले काम गर्नुपर्छ । हाम्रो उदारतालाई सकारात्मक रूपमा लिएर प्रधानमन्त्रीले काम गर्नुपर्छ, आलोचक त्यत्तिकै पाखा लाग्छन् ।’ 

कांग्रेसले एमालेभन्दा पनि अगाडि सरेर प्रधानमन्त्रीलाई आश्वस्त पारे पनि सरकार आलोचनारहित छैन । विपदमा प्रभावकारी काम नगरेको, विवादास्पद व्यवसायीसँग एमालेले जग्गा दान लिएको, प्रधानमन्त्रीले कूटनीतिक सन्तुलन मिलाउन नसकेको भन्दै सरकारको आलोचना भएको छ । 

संविधान संशोधनबारे हल्ला धेरै गरेको तर काम नगरेको, साना पार्टी फुटाउन खोजेको, संसदलाई प्रभावकारी बनाउन समन्वय नगरेको विषयमा सरकारको आलोचना बढेको छ । 

सरकारप्रति किन नरम छन् देउवा ?

सामान्यतया कांग्रेस सभापति शेरबहादुर देउवा आफूले गरेका सहमतिप्रति प्रतिबद्धता जनाउने नेतामा पर्छन् । तर, २०७९ को चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने सहमतिबाट देउवा पछाडि हटेको दाबी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बने । २०७९ पुस १० गते एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न पुगे । तर, राष्ट्रपतिको निर्वाचनमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएपछि एमाले सत्ताबाट बाहिरिन पुग्यो । सत्तामा कांग्रेसको आगमन भयो । 

सँगै देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने समझदारी पनि भयो । माओवादी कांग्रेससँग असन्तुष्ट भए पनि देउवाले केही समय प्रचण्डलाई निरन्तर प्रधानमन्त्री मान्न सकिने सन्देश पनि पठाए । तर, २०८० फागुन २१ गते माओवादीले कांग्रेस छाडेर एमाले रोज्यो । तर, यो सरकार पनि लामो समय टिकेन । 

आलोपालो धोका पाएपछि देउवा र ओलीले नै प्रचण्डलाई नबोक्ने गरी समझदारी गरे । सोही सहमतिअनुसार गत असार ३० गते देउवाको समर्थनमा ओली प्रधानमन्त्री बन्न पुगे । जसमा डेढ वर्ष ओली प्रधानमन्त्री बन्ने र २०८४ को चुनाव देउवाले गराउने गरी दुई दलबीच ७ बुँदे समझदारी पनि भयो । 

‘कहिले हामी त कहिले एमालेसँग पनि खेल्न थालेपछि माओवादी आफैं बाहिर पुगेको हो,’ महतले भने, ‘कांग्रेस जति सजिलो पार्टी कहीँ पाइँदैन । त्यसैले हामी अहिलेको समीकरणप्रति पनि प्रतिबद्ध छौं । सभापतिको आशय पनि कांग्रेस बोलेको वचनमा अडिन्छ भन्ने हो ।’

यही समझदारीप्रति प्रतिबद्ध भएको ओली र देउवाले बताइसकेका छन् । ओलीले कम्तीमा ५ पटक दुई वर्ष पुग्नु एक हप्ताअगाडि नै प्रधानमन्त्री छाड्ने बताउँदै आएका छन् । देउवाले पनि पूर्वसहमतिअनुसार ओलीले दुई वर्ष र आफूले डेढ वर्ष सरकारको नेतृत्व गर्ने बताउँदै आएका छन् । 

पाँचौंपटक प्रधानमन्त्री भएका देउवाले ओलीलाई नचिढ्याइकन पालो पर्खिने नीति लिएका छन् । यसैले सानातिना आलोचनामा आँखा चिम्लने नीतिमा देउवा देखिन्छन् । 

‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो,’ देउवाले भने, ‘कसले भन्यो कांग्रेस असन्तुष्ट छ भनेर ? सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो, त्यस्तो केही छैन ।’

salt training

कमेन्ट गर्नुहोस्