
चालू आर्थिक वर्ष २०८१/०८२ को दुई महिना(साउन र भदौ)मै उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीमार्फत् २८ अर्ब बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार साउन र भदौमा मात्रै विदेशिने विद्यार्थीमार्फत् २८ अर्ब १६ करोड रुपैयाँ नेपालबाट बाहिरिएको हो ।
दुई महिनामा २७ हजार ४२३ विद्यार्थीले वैदेशिक अध्ययनका लागि आवश्यक अनुमति पत्र ‘नो अब्जेक्सन लेटर’(एनओसी) लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक अध्ययनका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । यो एक वर्षमा १ लाख १२ हजार ५८३ विद्यार्थीले एनओसी लिएको मन्त्रालयले जनाएको छ ।
पाँच वर्षअघि अर्थात् आर्थिक वर्ष २०७६/०७७ वैदेशिक अध्ययनका कूल २५ अर्ब ८१ करोड रुपैयाँमात्रै बाहिरिएको थियो । जुन आर्थिक वर्ष २०८०/०८१ सम्म आइपुग्दा एक खर्ब नाघेको छ । पाँच वर्षअघि ३४ हजार ९४ विद्यार्थीले एनओसी लिएका थिए । अहिले वार्षिक एनओसीले लिने विद्यार्थीको संख्या १ लाखभन्दा बढी पुगिसकेको छ ।
नेपालबाट बर्सेनि लाखौँ विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार नेपालबाट ५६ राष्ट्रमा विद्यार्थी जाने गरेका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी विद्यार्थी जापान जाने गरेका छन् । त्यसपछि यूके(बेलायत), संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
नेपालबाट अस्ट्रेलिया, जापान, कोरिया, डेनमार्क, इजरायल, ओमान, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलङ्का, इजिप्ट, रसिया, दुबई, स्पेन, सिङ्गापूर, टर्की, फ्रान्स, बङ्गलादेश, फिलिपिन्स, पाकिस्तान, पोल्यान्ड, रोमानियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि विद्यार्थीले अनुमति पत्र लिने गरेका छन् ।
पढाइसँगै रोजगारीको अवसर पनि भएकोले नेपाली विद्यार्थी वैदेशिक अध्ययनमा जाने गरेको शिक्षाविद् डा. विष्णु कार्की बताउँछन् । उनका अनुसार शैक्षिक संस्था र सरकारले विद्यार्थीको भविष्यलाई संरक्षण गर्न सकेको छैन ।
‘विदेशमा विद्यार्थी पढ्नुका साथै कमाउन पनि सक्छन् । त्यसैले विद्यार्थीको आकर्षण बढ्दो छ । काम पनि गर्छु कमाउँछु पनि भन्ने वातावरण नेपालमा छैन,’ उनी भन्छन्, ‘त्यसैले वैदेशिक अध्ययनमा विद्यार्थी गइरहेका छन् । विद्यार्थीलाई रोक्न पढाइका साथ साथै रोजगारी पनि दिन सक्नुपर्छ । पढाएर मात्रै कर्तव्य पूरा हुँदैन् । रोजगारीसँग जोडी दिने र कामका लागि प्रोत्साहन गर्ने दायित्व विश्वविद्यालय र सरकार दुवैको हो । जबसम्म पढाइसँगै रोजगारी दिन सकिँदैन तबसम्म वैदेशिक अध्ययनमा जानेलाई रोक्न सकिँदैन ।’
यसका साथै वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई हेर्ने दृष्टिकोण सामाजिक रूपमा नै फरक रहेकोले विभेद सृजना भएको उनको भनाइ छ । कक्षा १२ पछि नेपालमा पढेर भविष्य बन्दैन भन्ने वातावरण सृजना भइसकेको डा. कार्की बताउँछन् ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा
आजभन्दा पाँच वर्षअघि अर्थात् आर्थिक वर्ष २०७६/७७ मा ३३ हजार १९६ विद्यार्थीले एनओसी लिएका थिए । यस वर्ष नेपाली विद्यार्थीहरूले कूल २५ अर्ब ८१ करोड रुपैयाँ अध्ययनका लागि लगेका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक अध्ययनका लागि २८ हजार ८२३ विद्यार्थीले एनओसी लिएका थिए । वैदेशिक अध्ययनका लागि यस वर्ष २४ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ मा १ लाख २ हजार ५०४ विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिएका थिए । यस वर्ष एनओसी लिने संख्यासँगै विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने रकम पनि बढेको देखिन्छ । यस वर्षमा कुल ६७ अर्ब ७० करोड रुपैयाँ नेपालबाट बाहिरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा १ लाख १० हजार १२७ विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिएको देखिन्छ । जसबापत यस वर्ष १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार ५८३ विद्यार्थीले एनओसी लिँदा योसंगै १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ पनि बाहिरिएको थियो ।