
सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा विरोधमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
मंगलबार मध्याह्न पोखराको रत्न चोकमा प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सीसमेत भएको थियो ।
सहकारीको रकम अपचलनमा प्रतिशोधपूर्ण तवरले लामिछानेलाई फसाउन खोजिएको दाबी गर्दै समर्थकहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।
लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यसअघि पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । लामिछानेलाई शुरूमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भैरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।
यसैगरी, रूपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई त्यहाँ पनि लगिने छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने छ ।