०२ साउन २०८३, शनिबार

केराखेतीबाट एक वर्षमै आठ लाख कमाउँछन् पूर्वप्रहरी अर्जुन

कात्तिक २४, २०८१
सुनसरी
केराखेतीबाट एक वर्षमै आठ लाख कमाउँछन् पूर्वप्रहरी अर्जुन
फाइल तस्वीर

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्ट २०७७ देखि कृषि पेशामा छन्। व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका उनले अहिले केरा बिक्रीबाट वार्षिक आठ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। 

'१७ वर्ष नेपाल प्रहरीको सेवापछि घर फर्किएँ। अरू व्यापार व्यवसायबाट खासै कमाइ नहुने देखिएपछि कृषि पेशामा लागेको हुँ। डेढ बिघा क्षेत्रफलमा केराखेती शुरू गरेर अहिले वार्षिक रूपमा आठ लाख बढी आम्दानी हुन्छ। मासिक ८०, ९० घरीसम्म केरा बिक्री हुने गरेको छ', उनले भने। 

केरा बिक्रीका लागि धेरैजसो चक्रघटी, कालाबन्जर, चतरा लगायतका स्थानीय बजार तथा इटहरी, धरान, गाईघाटसम्म पनि पठाउने गरेको लैजाने गरेको उनी बताउँछन्। एक घरी केरा ४०० देखि ६०० रूपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए। 

शुरूमा धान, मकै, कोदोको खेती गर्ने उनी पछिल्लो समय केराखेतीतिर आकर्षित भएको विष्टले बताए। अहिले उनले भएको सबै आफ्नो जग्गामा केरा, खर्बुजा, भुइँकटहर, दाल, बोडी, सयपत्री फूल र तोरी लगाएका छन्। 

'कृषि पेसामा शुरूमा केही दुःख गर्नुपरे पनि पछि आरामले कमाइ गर्न सकिन्छ। कृषि पेशा भनेको आफैं मालिक आफैं कर्मचारी हो', उनले भने, 'घर खर्च टार्न खाँचो हुँदा अरुसँग ऋण माग्न जानुपर्दैन। तीन/चार घरी केरा बजार लगेर बेच्दा घर खर्च मज्जाले टार्न सकिन्छ।' उनले अहिले मालभोक, चिनियाँ चम्पा र कृष्णभोग गरी तीन किसिमका केरा लगाएका छन्।

सुनसरीमा हाल पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार सुनसरीमा केराखेतीको उत्पादन राम्रै छ। तर, गत असोजमा आएको बाढीले ३८ दशमलव २५ हेक्टरभन्दा बढी केराखेती नष्ट गर्दा ३७ लाख बढीको क्षति भएको श्रेष्ठले बताए।

कृषि ज्ञान केन्द्रका अनुसार अहिले सुनसरीमा झप्री, मालभोक, मुङ्गे, मर्चे चिनियाँ चम्पा, कृष्णभोग, हाइब्रिड प्रजातिका केरा अत्यधिक उत्पादन हुने गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्