
सञ्चालनमा आएको २ वर्षपछि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट चार ‘इन्टरनेसलन’ उडान शुरू भएका छन् ।
लामो समयसम्म पनि अन्तर्राष्ट्रिय उडान नभएको भन्दै आलोचना भइरहेका बेला हालसम्मकै धेरै उडानले रुपन्देहीसहित लुम्बिनी प्रदेशमा उत्साह छाएको छ ।
विमानस्थलमा शनिबार कुवेतको जजिरा एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (यूएई/दुबई)को फ्लाई दुबई र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।
गएको आइतबार (तिहारको दिन)देखि थाइल्यान्डको ‘थाई एयर एसिया’ले पनि भैरहवाबाट उडान थालेको छ । थाई एयर एसियाले सातामा २ दिन सोमबार र बिहीबार उडान गरिसकेको छ ।

उद्योगी/व्यवसायीको दबाब, सरकार र विमानस्थलको पहलपछि ४० अर्ब रूपैयाँ खर्चेर बनेको विमानस्थल चलायमान बन्दै अन्तर्राष्ट्रिय उडानले उल्लास छाएको हो ।
लुम्बिनी प्रदेशको भविष्यसँग जोडिएको विमानस्थल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बासिन्दालाई काठमाडौंबाट भन्दा भैरहवाबाट वैदेशिक रोजगारीमा जानका लागि सहज हुन्छ । वैदेशिक रोजगारीमा जाने ‘टप टेन’ जिल्लाभित्र रूपन्देही पर्छ ।
उद्घाटनका बेला दुई वर्षअघि उडान शुरू गरे पनि विभिन्न प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको जजिरा एयरले शनिबार बिहानदेखि पुनः कुबेत– भैरहवा सिधा उडान शुरू गर्यो ।
१७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिरा १६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।
जजिराले अबदेखि हप्ताको ३ दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ । पहिलो दिन नै धेरै यात्रु पाएपछि जजिरा खुशी देखिन्छ ।

यस्तै, संयुक्त अरब इमिरेटस् (युएई/दुबई) को राष्ट्रिय ध्वजाबाहक फ्लाई दुबईले रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरू गरेको छ । फ्लाई दुबईको विमान शनिबार दिउँसो साढे २ बजे भैरहवामा अवतरण गर्यो ।
विमानस्थलका प्रवक्ता बज्राचार्यका अनुसार फलाई दुबईबाट १० जना यात्रु भैरहवा झरेका छन् । बाँकी १४९ जना यात्रु सोही जहाजमा काठमाडौं गएर ओर्लिए ।
हप्ताको सातैदिन भैरहवा उडान भर्ने फ्लाई दुबई भैरहवाबाट यात्रु लिएर काठमाडौं पुगी दुबई फर्किने तालिका छ । शनिवार रातिदेखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान शुरू गरेको छ ।
नेपाल एयरलाइन्सले सातामा ४ दिन आइतबार, सोमबार, बुधवार र शुक्रबार भैरहवा उडान गर्ने तालिका रहेको छ । नेपाल एयरलाइन्स दुबईबाट काठमाडौं भएर भैरहवा आएर दुबई उडान गर्नेछ ।

एकैपटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय र निजी क्षेत्र खुशी छन् । विमान कम्पनीहरूको काठमाडौंकेन्द्रित मानसिकता हटाउन भूमिका खेल्नुपर्ने आवश्यक रहेको यस क्षेत्रमा जानकारहरू बताउँछन् ।
भैरहवाको आकाशमा नियमित उडान गर्न कुनै अल्झन छैन । एक घण्टामा ४०० यात्रु ओराल्न र उडान गर्न सक्ने गरी संरचना तयार छ । लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका बेला गौतमबुद्ध विमानस्थल भैरहवाको चहलपहल बढ्ने निश्चितप्रायः छ,’ अर्याल भन्छन्, ‘यो पुल बन्दाको समयमा वैकल्पिक सडक र डाइभर्सन वरिपरिको चहलपहलजस्तो मात्र नबनोस्, यसको दिगो सञ्चालनका लागि जिम्मेवार पक्ष गम्भीर हुन जरुरी छ ।’
विदेशी कम्पनीका विमानले शुरू गरेका उडान निरन्तर कायम हुनसक्ने परिस्थिति राज्यले बनाइराख्नुपर्ने पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सीपी) बताउँछन् ।
गौतमबुद्ध विमानस्थल निर्माणमा ४० अर्ब रूपैयाँ लगानी भएको छ । जसमा एसियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदान र नेपाल सरकारको लगानी छ । उच्च लागतमा विमानस्थल बने पनि सञ्चालनका लागि भने कठिनाइ भइरहेको छ । विमानस्थललाई सञ्चालन, ऋण तिर्ने खर्चको जोहो र व्यवसायीलाई लगानी प्रतिफलको आशा कायम राख्नुपर्ने श्रेष्ठको भनाइ छ ।
थाई एयर एसिया, फलाई दुबई, जजिरा एयरलाइन्स र नेपाल एयरलाइन्सलाई टिकाउँदै अन्य कम्पनीहरूलाई अकर्षित गर्नुपर्ने अर्का पर्यटन व्यवसायी रचना पन्त बताउँछिन् ।
विमानस्थल प्रयोगका लागि विदेशी वायुसेवा कम्पनीहरूलाई दिगो रूपमा तयार गर्न नसक्दा विमानस्थल निर्माण गर्दाको ऋण भुक्तानीमा अप्ठ्यारो निम्तिने जोखिम हुँदै आएको छ ।

अर्बौं खर्चेर बनेको विमानस्थललाई लक्षित गरी भैरहवा/लुम्बिनी क्षेत्रमा निजी क्षेत्रले अर्बौं रूपैयाँ लगानी गरेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति शुक्रबारदेखि थालिएको छ । त्रिभुवन विमानस्थल मर्मत र विस्तारको काम शुरू भएकाले अब उडान कटौती नगरी काठमाडौं आउने उडानहरू नियमित भैरहवा अवतरण गराउन पहल थाल्नुपर्ने पन्तको भनाइ छ ।
भैरहवा आउने एयरलाइन्सहरूलाई सरकारले विभिन्न सेवामा सहुलियत लगायतका आकर्षक प्याकेज घोषणा गरेको छ ।
भैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने गरेको प्रतियात्रु ३ हजार रूपैयाँ यात्रु सेवा शुल्क र १ हजार रूपैयाँ पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट प्रदान गरेको छ । यसका अलावा काठमाडौं विमानस्थलभन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलर छुट दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब ५ महिना विमानस्थल विस्तार गर्न लागेको हो ।
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
विमानस्थल सञ्चालनका लागि सरकारले वि.सं. २०७९ सालमा भैरहवामा श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यालय स्थापनापश्चात् पूर्व श्रमस्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिँदै आएको थियो । तर, यसमध्ये सबैभन्दा बढी व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिइरहेको छ ।
वैैदेशिक रोजगारीमा जानका लागि काठमाडौंमा गर्नुपर्ने सबै कामहरू भैरहवाबाट गर्ने व्यवस्था राज्यले मिलाउन सकेमा भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउने देखिन्छ ।
विमानस्थल ८०० बिगाहा क्षेत्रफलमा फैलिएको छ । ३ किलोमिटरको ‘रनवे’ रहेको फोर ई क्याटोगोरीको विमानस्थलमा ९औं क्याटोगोरीका वारुणयन्त्रहरू छन् ।
विमानस्थलसरह उडान र अवतरण हुन सक्ने चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी ५ वटासम्म अन्तर्राष्ट्रिय विमान पार्किङ गर्न सक्ने क्षमता छ ।