११ साउन २०८३, सोमबार

२१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना हुँदै

कात्तिक २७, २०८१
काठमाडौं
२१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना हुँदै

नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म '२१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता २०८१'को आयोजना गर्ने भएको छ । महासंघले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा उक्त व्यापार मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ । यस्तो मेला महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।

उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने, नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको मागअनुरुपका वस्तु डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए ।

त्यस्तै, स्वदेशी तथा विदेशी क्रेता तथा बिक्रेताबीच एकआपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने उद्देश्य पनि मेलाको रहेको छ । 

बौद्धस्थित होटल हायात परिसरमा आयोजना हुने मेलाको उद्घाटन राष्ट्रपतिले गर्ने कार्यक्रम रहेको र मेलाको अवलोकनका लागि नेपाल सरकारका मन्त्रीहरू, उच्चपदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका पदाधिकारीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति  हुने महासंघले जनाएको छ । 

व्यापार मेला आयोजनाका लागि उद्योग वाणिज्य क्षेत्रका छाता संगठनहरू, बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनीहरू, बीमा कम्पनीहरू, ठूला औद्योगिक, व्यापारिक तथा प्रतिष्ठानहरू र अन्य व्यापारिक क्षेत्रका संघसंस्था र कम्पनीहरूको पनि सहयोग रहने बताइएको छ ।

छिमेकी राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशका उद्योगी व्यापारीहरूको सहभागिता रहने सो मेलामा हस्तकलाका उत्पादनहरूका करिब १५० वटा स्टल रहने आयोजकले जनाएका छन् । त्यस्तै, व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरूसमेतको सहभागिता रहने महासंघले जनाएको छ ।

मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरूलगायत अन्य हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्