०७ साउन २०८३, बिहीबार
सरकारी गाडी दुरुपयोग

चाहिँदा पानी नआएपनि नेताका घर–घरमा मेलम्चीका गाडी: मन्त्री चढ्नेदेखि ग्वार्कोमा जल्नेसम्म !

कात्तिक २८, २०८१
काठमाडौं
चाहिँदा पानी नआएपनि नेताका घर–घरमा मेलम्चीका गाडी: मन्त्री चढ्नेदेखि ग्वार्कोमा जल्नेसम्म !

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मेलम्ची खानेपानी विकास समितिको गाडी चढिरहेका छन् ।

समितिको बा १ झ ८७६१ नम्बरको टोयोटा प्राडो मन्त्री अधिकारीले चढिरहेका हुन् । मेलम्ची खानेपानी विकास समितिमा उक्त गाडी २०६६ फागुनमा दर्ता भएको समितिको अभिलेखबाट देखिन्छ ।

दर्ता भएलगत्तै २०६७ सालमा भूमि व्यवस्था मन्त्रालयले झिकाएको थियो । २०६७ सालदेखि नै भूमि व्यवस्था मन्त्रीहरूले उक्त गाडी चढ्दै आएका छन् ।

गाडी फिर्ताका लागि खानेपानी मन्त्रालयले भूमि व्यवस्था मन्त्रालयलाई पटक–पटक पत्राचार गरे पनि फिर्ता भएको छैन । खानेपानी मन्त्रालय उच्च स्रोतका अनुसार पछिल्लोपटक २०८१ साउन २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत बोधार्थ गरी गाडी फिर्ता गरिदिन भन्दै पत्राचार गरिएको थियो ।  

चलानी नम्बर ७७ रहेको उक्त पत्रमा मेलम्ची खानेपानी विकास समितिमा समेत सवारी साधनको अभावका कारण कामकाज प्रभावित भएकाले गाडी मन्त्रालयमा फिर्ता गरिदिन आग्रह गरिएको छ ।

पत्रमा खानेपानी मन्त्रालयका तत्कालीन शाखा अधिकृत लालबहादुर बस्नेतको हस्ताक्षर छ । पत्र लेखेको चार महिना बितिसक्दा पनि भूमि व्यवस्था मन्त्रालयले गाडी फिर्ता गरेको छैन ।

भूमि व्यवस्था मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्रालयले उक्त गाडी नै हस्तान्तरण गरिदिन भन्दै पत्राचार गरेको छ । २०८० असार २१ गते तत्कालीन सचिवस्तरीय निर्णय गरी मेलम्चीको  गाडी भूमि मन्त्रालयमै हस्तान्तरण गरिदिन भनेर खानेपानी मन्त्रालयलाई पत्राचार गरिएको ती कर्मचारीले बताए ।

'हाम्रो मन्त्रालयमा मन्त्रीज्यू चढ्ने गाडी नै नभएको हुनाले गाडी हस्तान्तरण गरिदिन भन्दै हामीले खानेपानी मन्त्रालयलाई पत्राचार गरेका थियौं,' मन्त्रालयका ती कर्मचारीले लोकान्तरसँग भने, 'हस्तान्तरणको प्रक्रिया पनि शुरू भएको थियो, तर पछि खै कहाँ अड्कियो ?'  खानेपानी मन्त्रालयले पत्राचार गरे पनि गाडी फिर्ता गर्ने परिस्थिति नरहेको उनले प्रस्ट्याए ।

****

२०८० पुस १३ गते ग्वार्कोमा आन्दोलन हुँदा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको समितिको बा २ झ ५८६१ नम्बरको टोयोटाको ल्यान्डक्रुजर जीप प्रदर्शनकारीले जलाइदिएका थिए ।

मेलम्ची खानेपानी विकास समितिमा सो गाडी २०७८ भदौ १६ गते दर्ता भएपनि पछि खानेपानी मन्त्रालय हुँदै भौतिक पूर्वाधार मन्त्रालय पुगेको थियो ।

एउटा निकायबाट अर्को निकाय हुँदै तेस्रो निकायमा पुगेको गाडीको न बीमा गरिएको थियो, न त सवारी दर्ता नै नवीकरण गरिएको थियो । उक्त गाडीको मूल्य २ करोड रुपैयाँको हाराहारीमा थियो ।

****

अहिलेका बहालवाला खानेपानी मन्त्री प्रदीपकुमार यादव पनि मेलम्चीकै दुईसहित कुल तीनवटा गाडी चढिरहेका छन् । समितिको नाममा दर्ता भएको बा २ झ ६६९१ नम्बरको टोयोटा प्राडो र बा २ च ५०५५ नम्बरको फोर्ड मन्त्री यादवले चढिरहेका छन् ।

मेलम्ची खनेपानी विकास समितिका गाडीमा वर्षौंदेखि विभिन्न निकाय, मन्त्रालयदेखि शक्तिशाली व्यक्तिहरूको आँखा लाग्दै आएको छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, तत्कालीन राष्ट्रपति रामवरण यादव लगायतले मेलम्ची र चमेलिया आयोजनाका गाडी झिकाएर चढ्ने गरेका थिए ।

मेलम्ची आयोजना शुरू भएदेखि हालसम्ममा कतिवटा गाडी खरिद भए भन्ने कुराको यकिन अभिलेख नै छैन । कतिपयले मेलम्चीका गाडीलाई निजी नम्बर प्लेटमा रुपान्तरण गरेर प्रयोग गर्दै आएको समेत खानेपानी मन्त्रालयका कर्मचारीहरू बताउँछन् । समितिमा दर्ता भएपनि अन्य निकायले धेरैजसो गाडी लगेका कारण गाडीको यथेष्ट विवरण समितिसँग पनि छैन ।

'कतिपय निकायले मेलम्चीको गाडी बुझेर लगे पनि हस्तान्तरण नगरिएको, कतिपयले गाडी लगेर केही समय चलाई थन्क्याएको अवस्थामा कबाड बनेको भन्ने पनि सुनिएको छ,' खानेपानी मन्त्रालयका सहसचिव रामबाबु पुरीले लोकान्तरसँग भने, 'जुन–जुन निकायले गाडी लगेका छन्, ती-ती निकायलाई नै हस्तान्तरण गरिदिन तथा लिलाम गर्नुपर्नेलाई लिलाम गरिदिन भन्दै मन्त्रालयले समितिलाई पत्राचार गरिसकेको छ ।'  

समिति आफैं स्वायत्त संस्था भएकाले समितिले नै त्यसबारे निर्णय गर्नुपर्ने उनको कथन छ ।

लोकान्तरलाई प्राप्त मेलम्ची आयोजनाका सवारीसाधनको विवरण अनुसार समितिमा कुल ६५ वटा गाडी दर्ता छन् । त्यसमध्ये ३७ वटा गाडी समितिको कार्यालयमा तथा समिति अन्तर्गतकै विभिन्न साइटमा रहेको उल्लेख छ । २५ वटा गाडी भने अन्य निकायमा रहेको उक्त विवरणमा उल्लेख छ ।

हेर्नुहोस्, विवरण :

null

null

null

२०६७ असोजमा समितिमा दर्ता भएको बा १ झ ८९९५ नम्बरको प्राडो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको उक्त विवरणमा उल्लेख छ । २०६७ कात्तिक १० गते दर्ता भएको बा ४ च १५०३ नम्बरको प्राडो क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा,  २०६६ फागुनमा दर्ता भएको बा १ झ ८७६३ नम्बरको प्राडो काठमाडौं उपत्यका विकास प्राधिकरणमा देखिन्छ ।

त्यसैगरी, बा ४ छ १५०१ नम्बरको प्राडो काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा, बा १ झ ८७७१ नम्बरको टोयोटा हाइलक्स पिकअप संघीय खानेपानी आयोजना पोखरामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

बा ३ छ ५७६० नम्बरको टोयोटा कोरला कार र बा २ क ७७० नम्बरको टोयोटा हायस भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा रहेको विवरणमा उल्लेख छ ।

त्यसैगरी, बा १ झ ६६०६, बा १ झ ६६०७, बा १ झ ७११०,  बा १ झ ८७६२, बा १ झ ८७६०, बा १ झ ६४०६, बा १२ च ७४३०, बा ४ च १५०७ नम्बरका आठवटा गाडी खानेपानी तथा ढल व्यवस्थापन विभागमा रहेको देखिन्छ । विभागले बुझेको ती सबै प्राडो हुन् ।

७ वटा गाडी हस्तान्तरण

 समितिले कुल ७ वटा गाडी अन्य निकायलाई प्रक्रिया पुर्‍याएर नै हस्तान्तरण गरिसकेको छ ।

२०७९ माघ ३ गते समितिमा दर्ता भएको बा ४ च १५०२ नम्बरको टोयोटा ल्यान्डक्रुजर जीप भने २०७९ पुस ११ गते काभ्रेको पाँचखाल नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

२०८० भदौ ७ गते समितिमा दर्ता भएको बा १२ च ७४३२ नम्बरको टोयोटा ल्यान्डक्रुजर सोही दिन खानेपानी मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी, २०८० असोज २४ गते समितिमा दर्ता भएको बा १झ ५७६६ नम्बरको टोयोटा ल्यान्डक्रुजर २०८० वैशाख १७ गते धादिङको ज्वालामुखी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी, २०७९ मंसिर २४ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिकालाई टोयोटा पिकअप, २०८० पुस २७ गते सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकालाई हाइलक्स पिकअप, २०८१ वैशाख १८ गते भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका र २०६१ असार २२ गते झापाको हल्दिबारी गाउँपालिकालाई हाइलक्स पिकअप हस्तान्तरण गरिएको छ ।

बाँकी गाडी समितिले आफैंसँग राखेको छ । ती गाडीहरू समितिका पदाधिकारीदेखि कर्मचारीहरूले चढिरहेका छन् ।

२०६६ चैतमा समितिमा दर्ता भएको बा १ झ ८७६४ नम्बरको हाइलक्स पिकअप भने सुरुङ परीक्षणका क्रममा अम्बाथानको गेट खुलेर बगाएपछि हालसम्म फेला पर्न सकेको छैन । 

त्यसबाहेक तीन थान गाडी बिग्रेर लिलाम गर्नुपर्ने अवस्थामा रहेको उक्त विवरणमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्