२२ असार २०८३, सोमबार

BREAKING : सहकारी ठगीमा धनराज गुरुङसँग सीआईबीले लियो बयान

कात्तिक २८, २०८१
काठमाडौं
BREAKING : सहकारी ठगीमा धनराज गुरुङसँग सीआईबीले लियो बयान

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सहकारीको रकम अपचलनका सम्बन्धमा बयान लिएको छ । 

गुरुङलाई बुधबार सीआईबीमा बोलाएर प्रहरीले मितेरी सहकारीको १४ करोड रुपैयाँ हिनामिनाको आरोपमा कागजी बयान गराएको हो ।

करिब ११ बजे सीआईबी पुगेका गुरुङसँग उनकी पूर्वपत्नी ज्योति गुरुङले अपचलन गरेको रकम सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाखसम्बन्धी सोधपुछ गरेको सीआईबी स्रोतले जानकारी दियो ।

बयानका क्रममा धनराजले मितेरी सहकारीमा तिरेको भनिएको ऋणका बारे प्रष्टीकरण दिएका छन् । ​

सीआईबीका प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीका अनुसार धनराजसँग बुधबार करिब पाँच घण्टा बयान भएको छ ।

सहकारीको प्रमुख कार्यकारी अधिकृतसमेत रहेकी धनराजकी तत्कालीन श्रीमती ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको पाइएको छ । साथै पछि ८४ लाख थप भएको देखिएको हो ।

ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए ।

धनराज र ज्योतिबीच सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति गरेकी थिइन् । धनराजले आफू सहकारीमा जोडिनु र श्रीमतीसँग भएको सम्बन्ध विच्छेदबारे बयान दिएका छन् ।

एसपी बोगटीले लोकान्तरसँग भने, ‘धनराजले बयानमा भनेको कुरा र तथ्य मेल खान्छ कि खाँदैन खोजी गर्ने र सोहीअनुसार उनी माथि कारबाहीको प्रक्रिया अगाडि बढाइने छ।’

सहकारीसम्बन्धी छानबिन गर्न बनेको संसद्‌को विशेष समितिले पनि आफ्नो प्रतिवेदनमा धनराजमाथि छानबिन गर्नुपर्ने राय दिएको थियो ।

ज्योति गुरुङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसकेको छ ।

मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीका आधारमा धनराज माथि छानबिन शुरू भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्