०७ साउन २०८३, बिहीबार
व्यावसायिक फड्को मार्दै नेपाली क्रिकेट

एनपीएल रौनक– नेपाली क्रिकेट पारखीसामु भारतसहित विश्वभरका चर्चित खेलाडी

कात्तिक २९, २०८१
काठमाडौं
एनपीएल रौनक– नेपाली क्रिकेट पारखीसामु भारतसहित विश्वभरका चर्चित खेलाडी

क्रिकेट भनेपछि भुतुक्कै हुने ‘फ्यान बेस’ रहेको नेपालमा फ्रेन्चाइज नेपाल प्रिमियर लीग (एनपीएल)को रौनक शुरू भएको छ । आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरको टीयू क्रिकेट मैदानमा हुने टी–२० फर्म्याटको एनपीएलमा ८ टीम सहभागी हुँदैछन् ।  

छोटो फर्म्याटको टी– २० लीगमा इन्डियाको आईपीएल, अस्ट्रेलियाको बीगब्यास, इङल्यान्ड–वेल्सको टी–२० ब्लास्ट, पाकिस्तानको पीएसएल, बंगलादेशको बीपीएल चर्चित मानिन्छन् । यी लीग खेल्न विश्वभरका क्रिकेटरहरू मरिहत्ते गर्छन् । क्रिकेटमा उदीयमान नेपालका खेलाडी पनि यी लीगमा अनुबन्धित भएर प्रशस्त पैसा र चर्चा कमाउने इच्छा देखाउन पछाडि पर्दैनन् । 

खेलाडीको जोश र क्रिकेटका भोका दर्शकको अगाडि नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएल हुन लागेको हो । नेपालमै राम्रो खेलेर पनि पैसा कमाउन सकिने गरी एनपीएललाई विकास गर्न क्यान नै लागेको छ । क्रिकेटका लाखौं पारखीहरू पनि विदेशको जस्तै चर्चित लीग आफ्नै देशमा हेर्ने अवसरको नजिक छन् । 

एनपीएलको शुरूआतमा निकै महत्त्वपूर्ण भूमिका रहेका नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले यस प्रतियोगितालाई नेपाली क्रिकेट र खेल क्षेत्रलाई विश्वमाझ अझै चिनाउने माध्यमको रूपमा विकास गर्न खोजेको बताए । 

‘समर्थकको क्रिकेटप्रतिको लगाव र माया हामीलाई पछिल्लो १५/२० वर्षदेखि रहँदै आएको छ । हामी नेपाली क्रिकेटलाई एनपीएलमार्फत व्यावसायिकरूपमा प्रभावकारी बनाउने र खेलाडीलाई खेलेरै राम्रो कमाइ गर्न सक्ने स्तरमा पुर्‍याउन चाहन्छौं । नयाँ पुस्तालाई आकर्षण गर्ने अर्को चाहना छ,’ पारसले लोकान्तरसँग भने, ‘विदेशी समुदाय, आईसीसी, एसीसीजस्ता संस्थामा नेपालको पहिचान धेरै नै राम्रो छ । यसैले हामी पहिलो एनपीएललाई भव्य र सभ्य बनाएर विश्वभर सकारात्मक सन्देश दिन चाहन्छौं ।’

null

व्यावसायिकताका साथै ग्रासरुटमा क्रिकेट कल्चर बढाउने र देशलाई नै जोड्ने हिसाबले एनपीएल महत्त्वपूर्ण खेल मेला हुने पारस बताउँछन् । ‘यो लीग खेल्न विश्वभरबाट खेलाडी आउँछन् । सँगै देशभभरबाट ठूलो संख्यामा खेलाडीहरूले प्रतिनिधित्व गर्दै हुनुहुन्छ । निरन्तर यस्तो प्रतियोगिता गर्न सक्दा हामी व्यावसायिकतालाई अझै बलियो बनाउन सक्छौं,’ पारसले भने, ‘खेलले ल्याउने राष्ट्रिय एकताको भावना, अर्थतन्त्रलाई चलायमान बनाउन खेल्ने भूमिकाले यो प्रतियोगिता महत्त्वपूर्ण हुनेछ ।’  

अर्को संस्करणसम्म एनपीएल अन्य प्रदेशमा पनि विस्तार गर्ने र आईसीसीका केही सीमा हटाएर अझै चर्चित खेलाडीलाई नेपाल ल्याउने उनी बताउँछन् । 

मैदानको रौनक, खेलाडीको जोश, अवसर, विदेशी खेलाडीको उपस्थिति, प्रशिक्षक, प्रत्यक्ष प्रसारणको विश्वव्यापी पहुँच र पुरस्कारजस्ता पक्षले एनपीएल चर्चित हुँदैछ । प्रत्यक्ष प्रसारण पनि विश्व चर्चित टेलिभिजन स्टार स्पोर्टस्बाट गर्ने तयारी छ । ​

एनपीएलमा प्रादेशिक प्रतिनिधित्वका आधारमा ८ वटा टोली रहनेछन् । जसमा ७ टोलीको नाम प्रादेशिक प्रतिनिधित्वका आधारमा चयन गरिएको छ । जसमा कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेशबाट जनकपुर बोल्ट्स र बागमतीबाट काठमाडौं गुर्खाज छन् । त्यस्तै, बागमतीबाटै चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, कर्णालीबाट कर्णाली याक्स, लुम्बिनीबाट लुम्बिनी लायन्स र सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्स रहेका छन् ।​

विदेशी खेलाडी आकर्षण

नेपालमा हुन लागेको यो खेलमा नेपाली खेलाडी मात्रै हुने छैनन् । विश्वको प्रतिष्ठित इन्डियन प्रिमियर लीग (आईपीएल)को झल्को दिनेगरी अक्सनबाटै खेलाडी चयन भएका थिए । त्यसपछि फ्रेन्चाइज टीमले गरेको तयारी विदेशी लीगको भन्दा कम छैन । अझै नेपाली खेलकुद प्रतियोगिताकै महत्त्वपूर्ण यो खेल मेलामा चर्चित भारतीय खेलाडी पनि हुनेछन् । विश्वमा नाम चलेका खेलाडीको उपस्थिति लगभग ८ वटै टीममा छ । 

प्रत्येक टीमले कम्तीमा १६ जना खेलाडी राख्न पाउँछन् । जसमा ४ देखि ६ जना विदेशी खेलाडी राख्न सकिन्छ । बुधबार रातिमात्रै कर्णाली याक्सले चर्चित भारतीय खेलाडी शिखर धवनलाई अनुबन्ध गरेको छ । 

एनपीएल टीममा अनुबन्ध भएपछि धवनले ‘नेपाल आउन, खेल्न, नेपाली समर्थकसँग साक्षात्कार गर्न उत्साहित छु’ भनेका छन् । उनी भारतीय राष्ट्रिय टीमबाट टेस्ट, वन डे र टी–२० फर्म्याट खेलेका प्रख्यात खेलाडी हुन् । उनले आईपीएमा धेरैवटा क्लबबाट समेत खेलिसकेका छन् । धवनले सनराइजर्स हैदरावादबाट २०१६ मा आईपीएलको उपाधि जितेका थिए । 

कर्णालीमा मात्रै होइन, विराटनगर किंग्समा न्युजिल्यान्डका चर्चित क्रिकेटर मार्टन गप्टिल अनुबन्ध भएका छन् । न्यूजिल्यान्डकै जिम्मी निशम जनकपुर बोल्ट्समा, माइकल लेभिट काठमाडौं गुर्खाजमा, भारतका कुनै समयका चर्चित खेलाडी उन्मुक्त चन्द लुम्बिनी लायन्समा अनुबन्धित भइसकेका छन् । एसोसिएट टीममा चर्चित रोहन मुस्ताफा र ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयलमा अनुबन्धित भएका छन् ।

आईपीएल खेलिसकेका खेलाडी, प्रशिक्षण दिएका प्रशिक्षक र कन्सल्ट्यान्टसम्म छन् । भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, इङल्यान्ड, अफगानिस्तानजस्ता टेस्ट खेल्ने देशबाट समेत एनपीएल खेल्न खेलाडी आउँदैछन् । 

एनपीएलमा आउन लागेका अस्ट्रेलियाका बेन कटिङ र दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ पनि चर्चित खेलाडी हुन् । यीबाहेक क्यानडा, अमेरिका, यूएई र नेदरल्यान्डस्सहितका देशका खेलाडीलाई एनपीएलमा देख्न पाइन्छ । 

null

खेलाडीसँगै लुम्बिनी लाइन्सबाट मुख्य प्रशिक्षकमा राजीवकुमार र मेन्टरमा दक्षिण अफ्रिकाका जोन्ट् रोड्स छन् । लुम्बिनी लायन्समा नन्दन फाडनिस, चितवन राइनोसमा उमेश पटवाल, जनकपुर बोल्ट्समा पुबुदु दासानायके र विराटनगर किंग्समा केभिन ओ ब्रायन मुख्य प्रशिक्षक छन् । यी सबै विदेशी हुन् । विदेशीबाहेक काठमाडौं गुर्खाजलाई वसन्त शाही ठकुरी, कर्णाली याक्सलाई ज्ञानेन्द्र मल्ल र सुदूरपश्चिम रोयल्सलाई जगत टमाटाले प्रशिक्षण गर्दैछन् । 

कुन नेपाली खेलाडी कुन टीममा ? 

काठमाडौं गुर्खाजमा पनि राष्ट्रिय टीममा खेलिसकेका करण केसी, भीम शार्की, शाहब आलमसहितका खेलाडी छन् । युवा खेलाडीहरू रासिद खान, दीपेश कँडेल पनि गुर्खाजका आकर्षक खेलाडी हुन् । यीबाहेक शंकर राना, राजु रिजाल, कृष्ण कार्की, सुमित महर्जन, प्रतीक श्रेष्ठ, विवेक केसी पनि काठमाडौंमा छन् । 

कर्णाली याक्सको टोलीमा पनि राष्ट्रिय टीमका खेलाडीहरू सोमपाल कामी, गुल्सन झा र देव खनाल छन् । यीबाहेक मौसम ढकाल, भुवन कार्की, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम,  दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । 

विराटनगर किंग्समा विश्वचर्चित लेग स्पीनर सन्दीप लामिछाने छन् । त्यस्तै, प्रतिश जिसी, जितेन्द्र मुखिया, लोकेश बम, राजेश पुलामी यसमा छन् । अनिल खरेल, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, बसिर अहमद र दीपक बोहरा किंग्समा रहेका अन्य खेलाडी हुन् । 

जनकपुर बोल्ट्समा नेपाली राष्ट्रिय क्रिकेट टीमका आसिफ शेख, अनिल शाह र ललित राजवंशी छन् । यीबाहेक बोल्ट्समा आकाश त्रिपाठी, हेमन्त धामी, किशोर महतो, शेर मल्ल, तुल थापा, अरनिको यादव,  शुब कंशाकार र रुपेश सिंह छन् ।  

चितवन राइनोजमा चर्चित हिटर कुशल मल्ल र पुराना खेलाडी शरद भेसावकर छन् । यीबाहेक  कमल सिंह ऐरी, रिजन ढकाल, सन्तोष कार्की, गौतम केसी, रन्जित कुमार, दीपेश श्रेष्ठ, अमरसिंह राउटेला, दीपक बोहरा र विपीन रावल चितवनको टीममा छन् । 

पोखरा एभेन्जर्समा चर्चित क्रिकेट कुशल भुर्तेल, सागर ढकाल र आकाश चन्द छन् । त्यस्तै, दिलिपनाथ, विपीन खत्री, अमृत गुरुङ, सुनाम गौतम, तृतराज दास, नारायण जोशी, दिनेश खरेल, किरण ठगुन्ना छन् । लुम्बिनी लायन्समा नेपाली टीमका कप्तान रोहित कुमार पौडेल, सन्दीप जोरा, अर्जुन साउद, विवेक यादव, सूर्य तामाङ छन् । त्यस्तै, दुर्गेश गुप्ता, दिनेश अधिकारी, विकास आग्री, आशुतोष घिरैया, तिलकराज भण्डारी, अभिषेक गौतम छन् । 

सुदूरपश्चिम रोयल्समा विश्वचर्चित अलराउन्डर दीपेन्द्र सिंह ऐरी र राष्ट्रिय टीममा खेलिसकेको र खेलिरहेका आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, नरेश बुढाएरसहितका खेलाडी छन् । साथै, अर्जुन कुमाल, अमित श्रेष्ठ, नरेन साउद, इशान पाण्डे, खडक बोहरा, भोजराज भट्ट सुदूरपश्चिमको टीममा छन् ।

लीग शुरू हुनुअगाडि सबै फ्रेन्चाइज टीम ब्रान्ड एम्बास्डर घोषणा गर्ने, जर्सी सार्वजनिक गर्ने, ट्यालेन्ट हन्ट आयोजना गर्ने, टीमको ब्रान्डिङ गर्ने जस्ता काममा व्यस्त छन् । 

क्यानले एनपीएललाई लक्षित गर्दै टीयू मैदानको पिच निर्माण, फ्यान जोन छुट्याउने, डिजिटल डिस्प्ले निर्माण गर्ने, आउटफिल्ड विस्तार गर्नेजस्ता काम गरिसकेको छ । अर्को वर्षको एनपीएल फ्लड लाइटमा गराउने गरी काम भएको सचिव खड्का बताउँछन् । 

 

salt training

कमेन्ट गर्नुहोस्