
रूपनगर क्याम्पस र विद्यार्थीहरूको समूह 'रूपनगर युथ स्क्वाड' ले प्लाष्टिक प्रदूषण विरूद्ध वृहत्त र्याली गरी फोहर प्लाष्टिक सङ्कलन गरेका छन् ।
वातावरण र स्वास्थ्यलाई हानी पुर्याउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत् शनिबार बिहान रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरिएको हो ।
रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा अभियान सञ्चालन गरिएको हो ।
उक्त अभियानमा क्याम्पस सञ्चालक समितिका सदस्य सुरज पोखरेल, कञ्चनरूप नगरपालिका-१२ का सदस्य जैनुद्दिन मिया, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य कमरूद्दिन अली, आरडी मेमोरियल एकेडेमीका प्रिन्सिपन प्रकाश दास, क्याम्पसका शिक्षकद्वय पेशल जोशी र श्रवण चौधरी, रूपनगर क्याम्पस र आरडी एकेडेमीका विद्यार्थी, जनप्रतिनिधि, समाजसेवी, राजनीतिज्ञ, पत्रकार तथा स्थानीयहरू समेतको उत्साहजनक सहभागिता थियो ।
क्याम्पसका केही जागरूक विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ को ब्यानरमा आयोजित अभियानमा सङ्कलित प्लाष्टिक फोहरबाट ‘इको-ब्रिक’ बनाइने जानकारी ‘रूपनगर युथ स्क्वाड’ का संयोजक आफताब अलीले दिए ।
संयोजक अलीले प्लाष्टिक फोहरलाई प्लाष्टिककै बोतलमा भरेर, खाँदेर बनाइने ‘इको-ब्रिक’बाट सार्वजनिक स्थलमा बस्ने मुढा, बेञ्च, कुर्सी आदि बनाउने कार्यक्रम रहेको बताए ।
‘प्लाष्टिक प्रदूषणविरूद्ध जुटौँ’ भन्ने नारा रहेको यो अभियानका लागि पूरक एशिया नामक संस्थाले समेत सहयोग गरेको छ । ‘प्लाष्टिक प्रदूषणविरूद्धको यो अभियान आज एक दिनका लागि मात्र होइन, यसलाई हामी निरन्तर जारी राख्ने छौँ,’ अली भन्छन् ।
प्लाष्टिक फोहर बटुलेर इको ब्रिक बनाइ सार्वजनिक विश्रामस्थल, फूलबारी सजावट जस्ता उपयोगी काममा प्रयोग गरिने यो अभियानले प्लाष्टिक प्रदूषण नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको छ ।
'स्वच्छ, स्वस्थ्य र हरियो भविष्यका लागि यो अभियानमा सहभागी हुन र सहयोग गर्न चाहने वातावरण प्रेमीहरूले रूपनगर क्याम्पसमा सम्पर्क गर्न सक्नुहुन्छ,' प्राध्यापक गजुरेलले भने ।