
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा एक स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा नमनारायण चौधरी छन् ।
नेकपा एमालेले टिकट नदिएपछि चौधरीले बागी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलहरूले शक्ति प्रदर्शनसमेत गरेका छन् । तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले शक्ति प्रदर्शन गरेका हुन् ।
साथै साना दलले समेत झाँकी र नाचगानसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायतका दलहरूले झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए ।
मिसन ८४ को सन्देश भएकाले शक्ति प्रदर्शन गरिएको एमाले तथा कांग्रेसका नेताहरूले बताएका छन् ।
कोशी प्रदेशको विभिन्न जिल्लामा ९ पदका लागि उपनिर्वाचन हुँदैछ ।
त्यसमध्ये पालिका अध्यक्ष पदका लागि ग्रामथान गाउँपालिकामा मात्रै हुन लागेको हो । एक मात्र पालिकाको अध्यक्ष भएकाले दलहरूले यसलाई महत्त्व दिएका हुन् ।
उपनिर्वाचनका लागि नेपाली कांग्रेसका नेता बलराम सरदार थारूले उम्मेदवारी दर्ता गराएका छन् ।
उनी कांग्रेसका पुराना नेता हुन् । यसैगरी नेकपा एमालेका तर्फबाट तुलसीराम विश्वासले उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसबाट नेकपा एमालेमा प्रवेश गरेका थिए ।
यस्तै नेकपा माओवादी केन्द्रबाट ग्रामथान १ का पूर्ववडाध्यक्ष नमोनारायण माझीले उम्मेदवारी दर्ता गराएका छन् ।
माझी तीन महिनाअघि नेपाली कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
प्रमुख तीन राजनीतिक दलकै उम्मेदवारहरू नेपाली कांग्रेस पृष्ठभूमिका रहेका कारणले पनि यसपटक ग्रामथानको निर्वाचन रोचक बन्ने स्थानीयको अनुमान छ ।
दुई ठूला दलका उम्मेदवार पनि कांग्रेसबाट अन्य पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेपछि रोचक बन्ने अनुमान गरिएको छ ।
यसैगरी ग्रामथानमा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थान्दारले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास थारूले उम्मेदवारी दिएका छन् ।
यस्तै जनता समाजवादी पार्टी नेपालका सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालका राजु मुसहर, मंगोल नेशनल अर्गनाइजेशनका भरत राई, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी, नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी थारू, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारूले उम्मेदवारी दर्ता गराएका छन् ।