२९ असार २०८३, सोमबार

प्लाष्ट नेपालको आयोजनामा भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी हुने

मंसिर ४, २०८१
काठमाडौं
प्लाष्ट नेपालको आयोजनामा भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी हुने

चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरूको प्रयासमा गैरनाफामूलक संस्थाको रूपमा २०७० मा स्थापित प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा प्रदर्शनी हुन लागेको हो ।

उक्त प्रदर्शनी यही मंसिर १३ देखि १५ गतेसम्म हुने प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

प्लाष्टिकको बहुआयामिकमा उपयोगमा भइरहेको विश्वव्यापी विस्तारबाट नेपालसमेत लाभान्वित भइरहेको सन्दर्भमा हुन लागेको प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरूका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू, उत्पादनमा प्रयोग गरिने विभिन्न मशिन–औजार–उपकरणहरूलगायत नवीनतम प्रविधिसमेतको प्रदर्शनी गरिने उनले जानकारी दिए ।

यस मेलामा नेपाल, भारत, बंगलादेश, चीनलगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया/सेवा प्रदायकहरूको सहभागिता हुनेछ ।

मेलाको सह-आयोजक भारतको कम्प्लाष्ट रहेको छ ।

मेलाले नेपालमा प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार-प्रसार गरी जनचेतना जगाउने विश्वास लिइएको छ ।

साथै विश्व बजारमा गरिएका नवीनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउने विषयमा मेलाले सहयोग पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।​

उनका अनुसार प्रदर्शनीमा प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरूमा जागरण ल्याउने एवं जानकारी गराइने छ ।

प्लाष्टिक उद्योगहरूको जनशक्ति विकास गर्न तालिम/प्रशिक्षण, आधुनिक र अद्यावधिक ज्ञान र सीप उपलब्ध गराउने/हस्तान्तरण गर्ने केन्द्रको रूपमा काम गर्ने, प्लाष्टिक जन्य वस्तुहरूको परीक्षण र विकास सम्बन्धित सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणीकरणको कामसमेत गर्ने, प्लाष्टिक  जन्य वस्तुहरूको सम्बन्धमा ३ आर (Reuse, Recycle and Reduce)को विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवर्द्धन गरी नेपाललाई प्लाष्टिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित स्थापना भएको प्लाष्ट नेपाल फाउण्डेशनले यस भन्दा अगाडि तीनवटा अन्तर्राष्ट्रिय प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्