
सिटिजन्स रेमिटबाट २४सैं घण्टा पैसा प्राप्त गर्ने सुविधाः करिब ५० राष्ट्रबाट सजिलै पैसा प्राप्त गर्न सकिन्छ
सिटिजन्स बैंकको ‘सिटिजन्स रेमिट’ सेवा अब २४सैं घण्टा उपलब्ध हुने भएको छ । विश्वका करिब ५० राष्ट्रबाट पठाएको रकम अब २४सैं घण्टा तुरुन्तै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
रेमिट सेवा लिन सिटिजन्स बैंकमा खाता खोल्नु अनिवार्य छैन । जो कसैले पनि सिटिजन्स रेमिटमार्फत् पठाएको पैसा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
पैसा प्राप्त गर्ने सजिलो उपाय
सिटिजन्स रेमिट’मार्फत पठाएको पैसा देशभरिका सिटिजन्स बैंकका शाखाहरू, २० हजारभन्दा बढी एजेन्ट, सिटिजन्स मोबाइल एप र वालेटमार्फत् सजलै पाउन सकिन्छ ।
विदेशबाट पैसा पठाउने प्रक्रिया
विदेशबाट नेपालमा पैसा पठाउँने व्यक्तिले आफू रहेको राष्ट्रमा रहेका रेमिट्यान्स कम्पनीमार्फत् पठाउन सकछन् । त्यस्ता राष्ट्रमा रेमिट्यान्स कम्पनीले मोबाइल एप्लिकेशनको सुविधा प्रदान गरेको हुन्छ ।
उक्त मोबाइल एपबाट सहजै पैसा पठाउन सकिन्छ । साथै रेमिट्यान्स कम्पनी र एक्सचेन्ज हाउसमा गएर पनि सिटिजन्स रेमिटमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ ।
मोबाइल बैंकिङबाट रकम प्राप्त गर्न
सिटिजन्स बैंकको मोबाइल एपबाट पनि रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिन्छ । यसका लागि सिटिजन्स बैंकको मोबाइल एपमा ‘सेन्ड मनि’मार्फत् ‘सिटिजन्स रेमिट’भित्र जानुपर्ने हुन्छ ।
त्यसपछि पैसा पठाउँदा प्रदान गरिएको ‘पिन नम्बर’ र पठाएको रकम राख्दा सबै विवरणहरू देखाउँछ । अनि आवश्यक विवरण भर्नासाथ सिटिजन्स बैंकको सम्बन्धित ग्राहकको खातामा रकम प्राप्त हुन्छ ।
मोबाइल वाटेलबाट पनि पैसा प्राप्त गर्न सकिने
नेपालमा सञ्चालनमा रहेका मोबाइल वालेटबाट पनि सिटिजन्स रेमिटमार्फत् पठाएको रकम प्राप्त गर्न सकिन्छ । त्यसका लागि मोबाइल वालेटमा रेमिट्यान्स भित्र ‘सिटिजन्स रेमिट’लाई छनोट गर्नुपर्ने हुन्छ ।
त्यसपछि पैसा पठाउँदा उपलब्ध गराएको पिन नम्बर र रकम भर्नासाथ पठाएको विप्रेषण कारोबार देखिन्छ । आवश्यक विवरण भरेर उक्त रकमलाई सम्बन्धित ग्राहकका वालेटमा लोड गर्न सकिन्छ ।
सिधै बैंक खातामा रकम प्राप्त गर्न
सिटिजन्स रेमिटबाट नेपालमा पैसा पठाउँदा नेपालको जुनसुकै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीमा रहको खातामा सिधै पठाउन सकिन्छ । यसरी पठाएको रकम एक मिनेटमै ग्राहकको खातामा जम्मा हुन्छ ।