
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल)लाई मध्यनजर गर्दै 'एनटी क्रिकेट धमाका प्याक' सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्रप्रताप शाहले संयुक्त रूपमा एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरेका हुन् ।
यस योजनाअन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि रु. ६९९ मा ३०० जीबी डाटा उपलब्ध हुनेछ ।
जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
यसैगरी रु. ४९९ मा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डाटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।

पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टलसमेत समावेश गरिएका धमाका प्याकहरूको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ ।
आगामी पुस ६ गतेसम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरू मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरू सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकून् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताइन् ।
यसका साथै नेपाल प्रिमियर लिग हुने कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि small cell लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)को अनुरोधमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान FTTH नि:शुल्क जडान गरिएको कम्पनीले जनाएको छ ।