
२०७९ को स्थानीय तह निर्वाचनमा जितेको ठाउँमा नेपाली कांग्रेसलाई यसपटकको उपनिर्वाचनमा नमिठो धक्का लागेको छ । गत निर्वाचनमा कांग्रेसले प्रभाव जमाएर जितेको दैलेखको महाबुमा आइतबार भएको उपनिर्वाचनमा धक्का लागेको हो । मोरङको ग्रामथानमा पनि कांग्रेसलाई धक्का लाग्ने देखिएको छ ।
महाबु गाउँपालिकाको अध्यक्ष अघिल्लोपटक कांग्रेसले जितेको थियो । तर, उपनिर्वाचनमा एमाले विजयी भएको छ । महाबुमा एमालेका जंगबहादुर शाही ३१२७ मत ल्याएर विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार झलक भण्डारीले २६७५ मत ल्याए । अघिल्लोपटक महाबुमा कांग्रेसका लछुमन गुरुङ २९२९ मत ल्याएर विजयी भएका थिए । एमालेका हरिप्रसाद उपाध्यायले २५११ मत प्राप्त गरेका थिए ।
काठमाडौं–१६ पनि कांग्रेसले गुमायो
यसअघि जितेको काठमाठौं महानगरपालिका–१६ को वडाध्यक्ष पनि कांग्रेसले गुमाएको छ । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छिन् । उनले २९०२ मत ल्याएकी छिन् । एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत प्राप्त गरेका छन् ।
उनी अघिल्लोपटक पनि दोस्रो भएका थिए । यसअघि मुकुन्द रिजालले जितेको ठाउँमा कांग्रेसका देवेन्द्र पाठक तेस्रो भए । उनले २२१४ मत ल्याए ।
नेकपा एकीकृत समाजवादीका मीनबहादुर महर्जनले १०९२ मत प्राप्त गरेका छन् ।
कांग्रेसका रिजाल २०७९ मा ४०१९ मत ल्याएर विजयी भएका थिए । उनको निधन भएपछिको उपनिर्वाचनमा भने कांग्रेस र एमाले दुवै कमजोर सावित हुन पुगे ।
स्थानीय तहको निर्वाचनमा भाग लिएको पहिलोपटक नै रास्वपाले काठमाडौं–१६ मा बाजी मारेको हो । काठमाडौंको प्रतिनिधिसभा ७ नम्बर क्षेत्रमा रास्वपाले नै बाजी मारेको थियो ।
ग्रामथानमा पनि कांग्रेस पछाडि
अघिल्लोपटक जितेको र प्रभाव भएको मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेस पछि परेको छ । जारी मतगणनामा माओवादी केन्द्रका नमोनारायण माझी १५ सय बढी मतले अगाडि छन् । माझीले ५६०७ मत ल्याउँदा कांग्रेसका बलराम सरदारले ४१६७ मत प्राप्त गरेका छन् ।
अघिल्लोपटक जितेको यो पालिकामा पनि कांग्रेस हारतर्फ अगाडि बढेको हो । अघिल्लोपटक ग्रामथानमा कांग्रेसका जयप्रकाश गच्छदार ७ हजार ६०५ मत ल्याएर विजयी भएका थिए । उनको निधनपछि उपनिर्वाचन भएको हो । अघिल्लो पटक एमालेका शिवनारायण माझीले ६०९३ मत ल्याएका थिए ।
माओवादीका विजय सरदारले २७२७ मत ल्याएका थिए । यसपटक एमाले र माओवादी केन्द्रका दुवै उम्मेदवार कांग्रेस पृष्ठभूमिका हुन् ।
कीर्तिपुरमा कांग्रेसको अग्रता
अघिल्लोपटक जितेको कीर्तिपुर नगरपालिका मेयरमा भने कांग्रेसले अग्रता बनाएको छ ।
जारी मतगणनामा कांग्रेसका कृष्णमान डंगोल ७८९, एमालेका सुरेन्द्र मानन्धरले ६६६, माओवादीका शिवशरण महर्जनले ४६५ मत प्राप्त गरेका छन् । स्वतन्त्रका राजमान महर्जनले ४१८ र दिनेशकुमार अधिकारले २३६ मत प्राप्त गरेका छन् ।
अघिल्लोपटक कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मीले जितेका थिए । नकर्मीले ९०४३ मत प्राप्त गरेका थिए । एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत प्राप्त गर्दा माओवादीका शिवशरण महर्जनले ४०९० मत प्राप्त गरेका थिए । यसपटक माओवादीले महर्जनलाई नै उम्मेदवार बनाएको हो ।
कीर्तिपुर नगरपालिका १ मा भने कांग्रेस विजयी भएको छ । यसअघि एमालेले जितेको कीर्तिपुुर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत ल्याएर विजयी भएका छन् । एमालेका हर्ष महर्जनले ४१८ मत ल्याए । माओवादीका सरलगोपाल महर्जनको १७३ मत आयो ।
यसपटक ४१ पदमा निर्वाचन भएको हो । यी ४१ पदमध्ये कांग्रेसले २४ स्थानमा जितेको थियो । एमाले र माओवादी केन्द्रले सात–सात स्थानमा जितेका थिए । जसपाले २ र स्वतन्त्रले एक स्थान जितेका थिए ।
यसपटक कांग्रेसले १२ बढी वडाध्यक्ष जितिसकेको छ । तर, पालिका अध्यक्ष भने गुमाउने देखिएको छ । उपाध्यक्षमा पनि कांग्रेस पछाडि परेको छ ।