
कोरियाली कार उत्पादक समूह हुन्डाई मोटर ग्रुप र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलाजी (आईआईटी)बीच विद्युतीय सवारीको ब्याट्री र विद्युतीकरणका लागि सम्झौता भएको छ।
हुन्डाई मोटर्सका प्रतिनिधिसहित आईआईटी दिल्लीका निर्देशक प्राध्यापक रञ्जन बेनर्जी, आईआईटी बेम्बेका डीन सचिन सी पातवर्द्धन र आईआईटी मद्रासका डीन मनु सान्थानको सहभागितामा सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार हुन्डाई मोटर र आईआईटीले संयुक्त रूपमा अनुसन्धान प्रणाली विकास गर्ने छन्। यो रिसर्च सिस्टमले मुख्य गरी विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको विकास र सवारीको विद्युतीकरणमा केन्द्रित रहेर काम गर्नेछ।
जसले भारतीय बजारका लागि आवश्यक पर्ने उच्च प्रविधिको ब्याट्री विकास गर्नेछ। जसका कारण प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय विद्युतीय सवारी र ब्याट्री उपलब्ध हुने कम्पनीहरूले बताएका छन् ।
भारतमा रहेका आईआईटी दिल्ली, आईआईटी बेम्बे र आईआईटी मद्रास यो अनुसन्धान प्रणाली विकासमा संलग्न हुनेछन्। हुन्डाई मोटर ग्रुपले आईआईटी दिल्लीमा ‘हुन्डाई सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेछ।
यस सम्झौताबाट हुन्डाई मोटर ग्रुप र आईआईटीबीचको अनुसन्धानात्मक सहकार्यले भारतमा विद्युतीय प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।