०५ असार २०८३, शुक्रबार

चुनावी दौडमा ‘हाइ प्रोफाइल’ नवीन्द्रराज भन्दा ‘लो प्रोफाइल’ जीवनराम अगाडि

कात्तिक २७, २०७४
चुनावी दौडमा ‘हाइ प्रोफाइल’ नवीन्द्रराज भन्दा ‘लो प्रोफाइल’ जीवनराम अगाडि

काठमाडौं, २७ कात्तिक– दुई संविधानसभा चुनावमा कांग्रेसकोे वर्चश्व रहेको काठमाडौं क्षेत्र नम्बर ८ मा अहिले कम्युनिस्टको अवस्था पनि बलियो देखिन्छ । यो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार नेपाली काँग्रेसका नबिन्द्रराज जोशीले २०७० को संबिधानसभा निर्वाचनमा १३ हजार ७ सय ७४ मत पाएर विजयी भएका थिए भने पहिलो संबिधानसभा निर्वाचन पनि उनी विजयी भएका थिए । 

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामअनुसार भने वाम गठबन्धन अगाडि देखिन्छ ।  क्षेत्र ८ मा काठमाडौं महानगरपालिकामा १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाको ४ र ५ वडा पर्छन् ।

स्थानीय तहमा यो क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनको पक्षमा १६ हजार ३ सय ४९ मत र कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनको १३ हजार १ सय १९ मत खसेको थियो ।

स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने वाम गठबन्धनका उम्मेद्वार जीवनराम श्रेष्ठ चुनावी दौडमा अगाडि छन् । भोटको आधारमा कांग्रेसका जोशी चाहिँ पछि छन् । 

तर लोकतान्त्रिक गठबन्धनका नबिन्द्रराज जोशी विद्यार्थी राजनीतिदेखि लोकप्रिय रहेकाले उनको अवस्था पनि उत्तिकै बलियो रहेको मतदाताहरू नै बताउँछन् । अहिले वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील साझा पार्टीका उम्मेद्वार पुकार बम पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेद्वार रहेकाले उनले समेत भोट काट्ने सम्भावना छ ।

क्षेत्र नम्बर ८ मा प्रदेश सभाका उम्मेदवार मध्ये लोकतान्त्रिक गठबन्धनबाट (क) की राज्य लक्ष्मी श्रेष्ठ वाम गठबन्धनका राजेन्द्र शाक्यसँग भिड्दैछिन् । यी दुई मध्ये श्रेष्ठले यसअघि सांसद रहँदा महिला तथा लघु उद्यमका क्षेत्रमा लोकप्रिय काम गरेकाले लघु उद्यमी महिलाहरुको भोट तान्ने सम्भावना रहेको मतदाताहरुको अनुमान छ ।

यसैगरी प्रदेशसभाको (ख) मा भने चर्चित नेतृ एमालेकी अष्टलक्ष्मी शाक्यसँग कांग्रेसका देवरत्न डंगोल भिड्दैन् । सो क्षेत्रमा भने एमालले नै जित्ने अनमाुन कांग्रेसकै कार्यकर्ताले गरिरहेका छन् । 

मतादाताहरुको आफ्नै अनुमान 
सो क्षेत्रका मतदाताहरुका आफ्नै अनुमान छन् । काठमाडौं महानगरपालिका वडा १३ कालिमाटी क्षेत्रमा,  वडा नम्बर १५ स्वयम्भु, डल्लु क्षेत्र, वडा नम्बर २० भिमसेनथानस्थान  क्षेत्र वडा नम्बर २४ इन्द्रचोक, असन बसन्तपूर क्षेत्रमा नेकपा एमालेको पकड राम्रो रहेको मतादाताहरु बताउँछन् । 

यी पाँच वटा वडा मध्ये वडा नम्बर २० मा भने काँग्रेसको उम्मेद्वारले जितेका थिए  । तर स्थानीय तहको निर्वाचनमा पार्टी भन्दा पनि व्यक्ति हेरिएकाले कसले जित्यो भन्ने कुरा महत्वपुर्ण नहुने वाफलका अनिल श्रेष्ठको भनाई छ ।

उनी भन्छन्, ‘बहुदलताका २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा एमालेले जितेको यो क्षेत्र संबिधानसभाका दुई वटा निर्वाचनमा कांग्रेसको हातमा पर्यो । तर फेरि स्थानीय तहमा त व्यक्ति हेरेर पनि भोट दिनेहरु छन् । यसलाई पार्टीका एजेण्डासँग तुलना गर्न पनि मिल्दैन ।’

श्रेष्ठसँगै डल्लु क्षेत्रमा भेटिएका अर्का मतदाता कविन्द्रमान प्रधानको अनुमान पनि उस्तै छ । उनी भन्छन्,  ‘स्थानीय तहमा बर्चश्व देखाएको एमालले बहुदलताका आफ्नो किल्ला जमाएको एमाले र उसको उम्मेद्वारले अहिले जित्छ नै भन्ने छैन । पहिलो  दोस्रो संबिधानसभा चुनावमा लोकप्रिय देखिएको काँग्रेस पनि जित्ने उत्तिकै सम्भावना छ ।’  

क्षेत्र नम्बर आठका काँग्रेसका उम्मेद्वार जोशी युवाहरु माझ लोकप्रिय रहेको अवस्थामा वामगठबन्धनले एमालेका तर्फबाट खासै राम्रो उम्मेदवार नउठाएकोले वाम गठबन्धन कमजोर हुनसक्ने आँकलन एमालेकै कार्यकर्ताले गरेका छन् । 

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह (अहिले काठमाडौं क्षेत्र नम्बर एककाप्रतिनिधिसभा उम्मेद्वार) र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकी पत्नी सहाना प्रधानबीच भएको प्रतिस्पर्धामा प्रधान विजयी भएकी थिइन् भने २०५१ सालको मध्यावधि चुनावमा एमालैकै राजेन्द्र श्रेष्ठ र २०५६ को आमनिर्वाचनमा पनि एमालेकै मंगलसिद्धि मानन्धर विजयी भएका थिए ।

यतिखेर जोशी र श्रेष्ठ दुवैले घरदैलो अभियान शुरु गरिसकेका छन् ।  अहिले दुवै उम्मेद्वार आआफ्नो जितमा ढुक्क छन् । दुबै जना विगतका नजीर सम्झिदै आफ्नो जितको आधार स्पष्ट पारिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्