
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजीमा भारतीय गिरोह सक्रिय रहेको प्रारम्भिक खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सट्टेबाजी गरेको आरोपमा हालसम्म चार भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ ।
गत सोमबार र मंगलबार गरी सीआईबीले चार जना भारतीय नागरिक क्रमशः सुमन घोष, अमित यदव, सुमन्त कुमार र ब्रजेश कुमारलाई पक्राउ गर्यो । उनीहरूले एनपीएल चलिरहेको कीर्तिपुर मैदानबाटै सट्टेबाजी गराइरहेका थिए । मंसिर १५ गतेदेखि शुरू भएको एनपीएलमा सट्टेबाजीका लागि यो गिरोह एक महिना अघिदेखि नै आएर तयारी गरिरहेको सीआईबीको अनुसन्धानले देखाएको छ । उनीहरूको मोबाइलमा यो अवधिमा ७ करोड ५० लाख भन्दा बढी ट्रान्जेक्सन भएको प्रहरीले फेला पारेको छ ।
त्यसो त ठूला र फ्रेन्जाइज गेममा सट्टेबाजी नौलो विषय होइन । यसअघि नेपालमै भएका केही खेलकुद प्रतियोगितामा सट्टेबाजी हुँदै आएका थिए । एक महिनासम्म चल्ने एनपीएलमा सट्टेबाजी हुन सक्ने आंकलन प्रहरीलाई पहिल्यै थियो । एनपीएलको आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले पनि सट्टेबाजी रोक्न प्रहरीलाई आग्रह गरेको थियो । त्यही अनुसार सूक्ष्म निगरानी बढाइएको प्रहरी दाबी छ ।
नेपालमा सट्टेबाजी र अनलाइन जुवा प्रतिबन्धित छ । तर, पनि यसका गिरोहले जुवा खेलाउँदै आएका छन् । एनपीएलको आयोजक क्यान आफैंले अनलाइन जुवा खेलाउने कम्पनी ‘वुल्फत्रिपलसेभेन’ लाई स्पोन्सर बनाएर मैदानमा विज्ञापन राखेको पाइएको छ ।
वुल्फत्रिपलसेभेन अनलाइन जुवा खेलाउने कम्पनी हो । यसको विरोध भएपछि वुल्फत्रिपलसेभेनले ‘वुल्फत्रिपलसेभेन डट कम’ बनाएर आफ्नो विज्ञापन टाँसेको छ । उसले अहिले आफ्नो अनलाइनमा एनपीएलको समाचार राख्न थालेको छ । विरोध हुनुअघि उसले अनलाइन जुवा खेलाउँदै आएको तथ्य प्रहरीले भेट्टाएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वुल्फत्रिपलसेभेनमाथि विशेष निगरानी बढाएको छ । त्रिवि मैदानमै डीएसपीको कमाण्डमा टोली खटाएर उनीहरूको गतिविधिलाई निगरानी बढाइएको प्रहरी स्रोत बताउँछ ।
प्रहरी प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले एनपीएल शुरू भएसँगै खेलमा आधारित अनलाइन जुवा, सट्टेबाजीदेखि स्पट फिक्सिङ र म्याच फिक्सिङसम्मको निगरानी गर्न प्रहरीको विशेष टोली परिचालन गरिएको बताए । उनले लोकान्तरसँग भने,‘अनलाइनबाट खेलिने जुवाको कसैले उजुरबाजुर गर्दैनन्, सूचना खोज्न सजिलो छैन, त्यही भएर हामीले खेलमैदानमै सूचना संकलन गर्न टोली खटाएका छौं ।’
विशेष रूपमा खटिएका प्रहरी टोलीले क्रिकेट मैदानदेखि खेलाडी बसेको होटेल, लिगमा सहभागी फ्रेन्चाइच टिमका सञ्चालकसम्मका व्यक्तिमाथि निगरानी बढाएको छ । फिल्डमा खटिएका प्रहरी टोलीले काम गरे/नगरेको जाँच गर्न प्रहरी प्रधान कार्यालयबाटै अर्को टोली निगरानीका लागि खटिएको डीआईजी कार्कीले जानकारी दिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केही शंकास्पद व्यक्तिको सूची तयार पारी उनीहरूको ‘लिंक चार्ट’ बनाएर अनुसन्धान गरिरहेको छ । स्रोतले भन्यो, ‘केही भारतीय गिरोहहरू सक्रिय रहेको सूचना पाएका छौं, शंकास्पद व्यक्तिको निगरानी भइरहेको छ ।’
सीआईबीले २०७९ मंसिर २ गते नेपाल र यूएईबीच त्रिवि क्रिकेट मैदानमै भएको एक दिवसीय क्रिकेट सिरिजमा अनलाइनमार्फत लाइभ सट्टेबाजी गराइरहेको अवस्थामा ४४ जना भारतीयलाई पक्राउ गरेको थियो ।
भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत व्यावसायिक रूपमा अनलाइन सट्टेबाजी खेलाइरहेका उनीहरूलाई सीआईबीले पक्राउ गरेको थियो । हाल चलिरहेको एनपीएलमा पनि अनलाइन जुवा र सट्टेबाजी खेलाउने गिरोह सक्रिय रहेको बुझाइ प्रहरीको छ ।
स्पोट्र्स बाजी, प्रोवोलगायत अनलाइन वेटिङ एप्समार्फत जुवा खेलाउँदै आएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारीले बताए ।