२१ असार २०८३, आइतबार

रौतहटको नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार : निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर

असार १९, २०८३
काठमाडौं
रौतहटको नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार : निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित बैजु ठाकुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ठाकुरसहित तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र विद्यालयका तत्कालीन लेखापाल शेख जहिरविरुद्ध शक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

राजपुर नगरपालिकाको २०७५ फागुन ३ गतेको निर्णयानुसार नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत बहुवर्षीय गुरुयोजना स्वीकृत गरी विद्यालयका तत्कालीन प्रधानाध्यापकको अध्यक्षतामा ‘भौतिक संरचना निर्माण समिति' गठन गरिएको थियो।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार सोही समितिमार्फत प्रि-स्कूल ब्लकको आठकोठे भवन निर्माण कार्य अघि बढाइएको थियो।

परामर्शदाता डीबी मल्टी इन्जिनियरिङ कन्सल्ट्यान्ट प्रालिले सो भवन निर्माणका लागि शुरूमा ९७ लाख ३७ हजार ९९४ रुपैयाँ ६२ पैसाको लागत अनुमान तयार गरेको थियो। पछि संशोधित लागत अनुमान १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ ४० पैसा कायम गरिएको थियो।

निर्माण सम्पन्न भएपछि प्राविधिक बिलअनुसार जम्मा १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ १० पैसा बराबरको मूल्यांकन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार पारी खर्च भएको देखाइएको थियो।

तर, आयोगले स्थलगत नापजाँच गर्दा वास्तविक रूपमा नभएको कामको समेत बढी मूल्यांकन गरी झुट्टा बिल, भरपाई र कार्य सम्पन्न प्रतिवेदन बनाई सरकारी तथा विद्यालयको कोषलाई ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा हानि पुर्‍याइएको भेटिएको छ।

अख्तियारले चारै जनाविरुद्ध जनही ११ लाख १० हजार ११४ रुपैयाँ बिगो कायम गर्दै कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ।

यसैगरी, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसलले झुट्टा प्राविधिक प्रतिवेदन र मूल्यांकन तयार पारेको कसुरमा उनलाई थप कैद र जरिवानाको सजायको मागदाबी आयोगको छ।

salt training

कमेन्ट गर्नुहोस्